दीर्घ रोगको नियमित औषधि खाने ज्येष्ठ नागरिकको लगत संकलन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, ७ माघ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगको औषधी सम्बन्धी लगत संकलन गरिरहेको छ ।

ज्येष्ठ नागरिकलाई औषधीको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित महानगरले गत २२ पुसमा परिपत्र गरेर लगत संकलन सुरु गरेको हो ।

महागरका स्वास्थ्य विभाग प्रमुख दिपक केसीले सम्पूर्ण विवरण प्राप्त भएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुने बताए ।

विभागले महानगरपालिकाकै पञ्जिकरण शाखाबाट १ साउन २०८१ सम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।

विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोवाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरुमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

महानगरले यदि काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा हुनुहुन्छ र महानगरपालिकाभित्रै बसोबास गरिरहनु भएको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले पनि  जेष्ठ नागरिक स्वास्थ्य सर्वेक्षण फारम  लिङ्क क्लिक गरेर भर्न सक्ने बताएको छ । यस्तै आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिने उल्लेख गरेको छ ।

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ । १ सय वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको संख्या ४७ जना रहेको छ ।

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक भएको महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *