मन्त्रीको समेत पेट दुखाउने जुका !
नेपालमा एक पटक पनि आन्द्राको जुकाबाट पीडित नभएको व्यक्ति भेटिन कठिनै होला । हिमाल पहाड तराईँ सबै तिरका बालबालिका देखि जेष्ठ नागरिक सम्म जुकाबाट पीडित भएका कथा सुन्न र देख्न पाइन्छ ।
इजिष्ट, चीन, ग्रीक र रोमनबाट प्राप्त दस्तावेजहरुका अनुसार आज भन्दा ३५०० बर्ष अघि देखि नै मानिस जुकाबाट पिडीत थिए भन्ने देखिन्छ ।
त्यहि समय देखि नै मानिसहरु जुकाबाट हुने स्वास्थ्य समस्यालाई कसरी कम गर्न सकिन्छ भनेर लागि रहे ।
जुकाहरु कसरी मानिसको आन्द्रासम्म पुग्छन् र उनीहरुको जीवनचक्र कसरी चल्दछ र कति प्रकारका हुन्छन् भन्ने विषय १९ औँ शताव्दी देखि प्रमाणिक रुपमा पत्ता लाग्दै गयो ।
धेरै जसो जुकाहरुले आन्द्रामा बसेर मानिसले खाएको पोषक तत्वहरु र कतिले आन्द्राबाटै रगत चुस्ने काम गर्ने भएकोले प्राचिन काल देखि नै जुका जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको बुझ्न कठिन पर्दैन ।
जुकाले पार्ने असर
जुकाका कारण कुपोषण रक्तअल्पता र शारीरिक र बौद्धिक क्षमतामा कमी हुने जस्ता समस्या देखिन्छन् ।
नेपालमा गरिएका विभिन्न अध्ययनहरुको आधारमा १५ देखि ७५ प्रतिशत मानिसहरु जुकाबाट ग्रसित भएको तथ्यांक देखिन्छ । तर आजभोली यो समस्या क्रमशः कमी हुँदै आएको विभिन्न अध्ययन्हरुले देखाएको छ ।
मानिसका आन्द्रामा जुका पर्नु समाजको सामाजिक आर्थिक विकासको अवस्था कस्तो छ भन्ने महत्वपूर्ण सूचक हो ।
त्यो समाजको बातावरणीय सरसफाई, खानेपानी र ढलको व्यवस्था, व्यक्तिगत सरसफाई, खानेकुराको सरसफाई, शैक्षिक चेतनाको स्तर र व्यवहार के कस्तो अवस्थामा छ भन्ने कुराको संकेत आन्द्राका जुका र परजीवीहरुको संक्रमण दरले संकेत गर्दछ ।
विसं २०४२ साल देखि २०५१ सालसम्म त्रिवि शिक्षण अस्पतालमा गरिएको एउटा अध्ययन्ले संकलित दिसाको नमूनामा ३.८ प्रतिशत देखि १० प्रतिशतसम्म अंकुसे जुका देखिएको थियो ।
यसको अर्थ के हो भने अस्पताल आउनेहरुको ठूलो संख्या अंकुसे जुकाबाट ग्रसित छन्, जसले आन्द्रामा बसेर सिधै रगत चुस्छ र त्यस्ता व्यक्तिमा रक्तअल्पताको लक्षण र चिन्हहरु देखा पर्दछन् । जस्तै रगतको कमी हुने, थकाई लाग्ने, स्वास लिन कठिन हुने, शरीर सुन्निने, छाला फुस्रो हुने मुटुको चाल बढ्ने, रिंगाटा लाग्ने, टाउको दुख्ने, तौल नबढ्ने जस्ता सस्या देखिन्छन् ।
आन्द्रामा गोलो जुका परयो भने दिसा गर्दा जिउँदै जुका गुदद्धारबाट बाहिर निस्कने बान्ता हुँदा मुख नाकबाट जुका बाहिर आउने, वाक वाक लाग्ने र कहिलेकाँही जुकाहरु गाँठो परेर आन्द्रा बन्द हुने र त्यहि कारणले बिरामीको मृत्यु पनि हुन सक्ने अवस्था सिर्जना हुन्छ ।
गोलो जुकाको अण्डा पानी वा खानेकुराको माध्यमबाट आन्द्रामा पुग्छ ।
अंकुसे जुका खुट्टा वा हातका औला बीचका छाला छेडेर आन्द्रामा पुगी आफ्नो जीवन चक्र चलाउने भएकोले यो समस्या सर्वसाधारण देखि सामाजिक रुपमा प्रतिष्ठीतहरुालई पनि देखिन्छ ।
विगत समायमा जुकाका कारण सर्वसाधारण नागरिक देखि उच्च तहका व्यक्तिहरु समेत पीडित भएका केही घटनाहरु सम्झन लायक छन् ।
……………………………………………………..
कुरा विसं २०२० साल तिरको हो । तत्कालीन मन्त्री दिलबहादुर श्रेष्ठलाई राती वेस्सरी पेट दुखेछ । त्यसबेला वीर अस्पतालमा कार्यरत रेसिडेन्सीयल मेडिकल अफिसर डा. मणिन्द्ररञ्जन बराल मन्त्री श्रेष्ठकै घरमा गएर दुखाई कम गर्ने औषधीसंगसंगै जुकाको औषधी समेत खान दिनु भएछ । भोली पल्ट विहान मन्त्रीले चर्पीमा जुकै जुका फालेछन् । पेटको दुखाई पनि निको भएछ । उपचारले खुशी भएका गृहमन्त्रीले डाक्टरलाई छात्रबृत्ति दिएर बेलायत पढ्न पठाएछन् ।
यस्तै बरिष्ठ शल्यचिकित्सक प्राडा लोकबिक्रम थापाको कथा पनि कम रोचक छैन । विसं २००४÷०५ तिर जनकपुरमा विद्यालयमा पढ्दा देखि नै उनलाई रिंङ्टा लाग्ने, कमजोर महसुस हुने, बढी नै थकान महसुस हुने गर्दो रहेछ । त्यो पछि समस्या इन्दौर भारतमा एमबीबीएस पढ्न जाँदा समेत रहेछ । त्यहिँ पढ्ने क्रममा २०१६ साल तिर सोही अस्पतालमा दिसा र रगत जचाएर हेर्दा अंकुसे जुका र रक्तअल्पता देखिएछ । जुकाको औषधी खाएपछि उनको स्वास्थ्य ठिक हुँदै गयो । जुकाले उनलाई करीव एक दशक दुख दियो ।
……………………………………………………………….
वीर अस्पताल लगायतका अस्पतालमा जुकाबाट पीडित व्यक्तिहरु प्रसस्त देखिन्थे । कतिपय त्यहि कारणले मृत्यु समेत हुन्थ्यो ।
हामीले पढ्ने क्रममा जुकाका कारण आन्द्रा थुनिएर आन्द्रा च्यातिएको, गाँठा परेको पेटट चिरेर अपरेसन गरी जुकाहरु निकालेको, मृत व्यक्तिहरुको शब परीक्षण गर्दा आन्द्राभरी जुकाहरुको मुठै मुठा देखिएकाहरु प्रसस्त भेटिन्थे ।
अस्पतालमा सास फेर्न कठिन भयो भनि आउने बिरामीहरुलाई सामान्य जुकाको औषधी खुवाउँदा उनीहरुले स्वास्थ्य लाभ गरेका थुप्रै घटनाहरुको अहिले पनि याद आउँछ । जुन बिरामीहरुले उपचारका धेरै रकम खर्च गरी धेरै स्वास्थ्यकर्मीहरुको सल्लाह लिई सकेका हुन्थे ।
अहिले नेपालको केही नीतिगत निर्णय र कार्यक्रमहरुले गर्दा जुकाका कारण देखा पर्ने स्वास्थ्य समस्या धेरै कम भएर गएको देखिएको छ ।
गाउँ गाउँमा स्वास्थ्यकर्मीहरुको उपलव्धता, बालबालिकाहरुलाई वर्षको दुई पटक जुकाको औषधि खुवाउने कार्यक्रम, हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदा जुकाको औषधी पनि खुवाउने कार्यक्रम, गर्भावस्थामा जुकाको औषधी खुवाउने, खानेपानी र ढल व्यवस्थापनमा सुधार, खुला दिसा मुक्त देशको घोषणा र व्यक्ति तथा परिवारको शैक्षिक सामाजिक आर्थिक अवस्थामा सुधारका कारण यो समस्या कम हुँदै गएको छ ।
नेपाल जनसांख्कि तथा स्वास्थ्य सर्भेक्षाण् २०२२ को तथ्यांक हेर्दा अहिले पनि पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पताको स्थिति ३४ देखि ७० प्रतिशतसम्म रहेको छ ।
यो समस्या प्रत्यक्ष अप्रत्यक्ष रुपमा जुकासंग पनि सम्वन्धित रहेको हुन्छ ।
अहिले पनि दुर्गम गाउँ वस्तीमा, शहरीय गरीब र सामाजिक आर्थिक रुपमा पछि परेका समुदायमा यस्ता समस्याहरु देखा पर्दैछन् । राज्यले उनीहरुको अवस्थामा सुधार ल्याउन निरन्तर लाग्नु पर्छ ।
सम्पर्क इमेल : [email protected]