पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान :

चार लाख ६० हजार भाइल खोप आज आइपुग्दै

काठमाडौँ, २ पुस । आगामी माघको चौथो साताबाट सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानका लागि एचपीभी खोपको पहिलो खेप आज आईपुग्दै छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीका अनुसार पहिलो खेप अन्तर्गत आज ४ लाख ६० हजार ९४० भाइल खोप आज काठमाडौँ आईपुग्ने छ ।

‘हाम्रो स्टाफहरु खोप रिसिभ गर्न एयरपोर्ट गईसक्नु भएको छ । त्यहाँबाट खोप ल्याएर हाम्रो स्टोरमा राख्ने योजना छ,’ डा. रायमाझीले भने ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ ।

यसपटक आउने यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।

त्यसो त यो खोप सरकारले गतवर्ष १० हजार किशोरीलाई दिएको थियो ।  त्यसबेला यहि ब्राण्डको खोप दुई पटक लगाउनु पर्ने थियो । तर, अहिले आउन लागेको खोप एक पटक लगाएपछि पुग्ने बताइएको छ ।

डा. गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने ।

डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । यस्तै उनले अभियानका लागि १७ लाख ७० हजार २० डोज खोप तयारी अवस्थामा रहेको १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।

विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ । यस्तै एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँने पाइएको छ ।

एचपीभी खोपको सुरुवात धेरै पटक,  देशव्यापी अभियान भने पहिलो पटक

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा प्राप्त खोप सरकारले यसपटक १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीहरुलाई निशुल्क दिने तयारीमा छ । यसरी देशव्यापी रुपमा तोकिएको उमेर समूहका सबै किशोरीलाई दिन थालिएको पहिलो पटक हो । तर एचपीभी खोप सुरु गरेको पहिलो पटक भने होईन ।

सन् २००६ मा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी सुरु गरेको नेपाल सरकारले त्यस यता कम्तिमा तीन पटक यस्ता ‘पाइलटिङ’ गरिसकेको छ ।

सन् २००६ देखि २०१३ सम्म १० जिल्लाका ३० हजार किशोरीहरुलाई पाइलटिङ भन्दै सरकारले पहिलो पटक एचपीभी खोप दिएको थियो ।

त्यसपछि सन् २०१५ मा स्वास्थ्य मन्त्रालयले पुन: पाइलटिङ भन्दै कास्की र चितवनमा यो खोप सुरु गरेको थियो ।

गतवर्ष सरकारले अघिल्लो आर्थिक वर्षको बजेटबाट खरीद गरेर ल्याएको २० हजार खोप गत भदौको अन्तिम साता देखि असोजको १० गतेसम्म सातै प्रदेशका सात ठूला अस्पतालमा लगेर १४ वर्षका किशोरीलाई दिएको थियो । तर त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई ‘डेमोस्ट्रेसन’को रुपमा परिभाषित गरेको थियो । यसपटक भने खोप देशव्यापी रुपमा सुरु हुन लागेको हो ।

एचपीभी खोप किन आवश्यक ?

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ ।

जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।  यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी -१६ र एचपीभी -१८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।,’

उनका अनुसार विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरुमा अहिले सर्भरिक्स, गाडासिल, गाडासिल –९, र सिकोलिन ब्राण्डका चारवटा खोपहरु आएका छन् ।

स्मरण रहोस भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन विश्वका ११७ वटा देशले त्यसविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *