अङ्ग प्रत्यारोपण सम्बन्धि सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ शनिबारदेखि शुभारम्भ
काठमाडौँ,३० मंसिर । अङ्ग प्रत्यारोपण सम्वन्धी दुई दिने सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ शनिबारबाट काठमाडौँमा सुरु भएको छ । अङ्ग प्रत्यारोपणमा सक्रिय चिकित्सकहरुले खोलेका छुट्टा छुट्टै संस्थाको संयुक्त आयोजनामा यो सम्मेलन सुरु भएको हो ।
नयाँ बानेश्वरस्थित द एभरेष्ट होटल शनिबार विहानै देखि सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन कार्यक्रम भने बेलुका राखिएको थियो । ‘विकासोन्मुख राष्ट्रहरुमा अङ्ग दानलाई प्रवर्दन गर्नु’ भन्ने मुख्य नारा रहेको सो सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरेका थिए ।
यस सम्मेलनमा नेपालसंगै भारत, बेलायत, अमेरिका, जापान, नेदरल्याण्ड लगायतका देशबाट प्रत्यारोपण विज्ञ तथा यससंग सरोकार राख्ने व्यक्तिहरुको सहभागिता छ । सम्मेलनमा २६ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा १९ वटा विदेशी विज्ञहरुको रहने बताइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा. पोखरेलले त्यसबेला सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि नसर्ने रोगमा सरकारले प्राथमिकता दिएको सम्झँदै अंग प्रत्यारोपणको क्षेत्रमा समेत ठूलो प्रगति भएको बताए । उनले यस क्षेत्रको विकासको लागि मन्त्रालय प्रतिवद्ध रहेको र निकट भविष्यमा यो सेवालाई देशको सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताए । उनले सम्मेलनबाट आउने निस्कर्षले भविस्यमा नीति निर्माणका लागि समेत सहयोग हुने बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले यस सम्मेलनमा हुने छलफल र विचार विमर्शले नेपालमा मात्र नभई विकासोन्मुख विश्वभर अंगदानलाई प्रवर्द्धन गर्न सामूहिक प्रयासलाई प्रभावकारी समाधानको लागि उत्प्रेरित भन्दै अङ्ग दानलाई प्रवर्द्धन गर्न प्रेरणा मिल्ने बताए । उनले अंग दान प्रवर्द्धन गर्न चेतना, शिक्षा र नीति सुधारको पक्ष महत्वपूर्ण हुने उल्लेख गर्दै सांस्कृतिक, नैतिक र पूर्वाधारात्मक चुनौतिहरूलाई सम्बोधन गरेर आवश्यक परेकाहरूलाई प्रत्यारोपणमा पहुँच प्रदान गर्ने बलियो र समतामूलक प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले ज्ञानको खाडललाई कम गर्न, नवप्रवर्तनलाई प्रेरणा दिन र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
कार्यक्रमको साइन्टिफिक कमिटिका अध्यक्ष प्राडा ऋषि कुमार काफ्लेले मिर्गौला रोगको उपचार र हेमोडाइलाइसिस सेवा सुरु भएता पनि सन् २००८ बाट प्रत्यारोपण सेवा सुरु भएको बताए । डा. पुकार चन्द्र श्रेष्ठले बीर अस्पतालमा र प्राडा दिब्या सिह शाहले त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण सेवा शुरु गरेको र प्रत्याोपण क्षेत्रको छुट्टा छुट्टै सोसाइटी समेतको गठन गरेको समाजलाई अब एकीकृत गरी पहिलो कार्यकाल डा पुकार चन्द्र श्रेष्ठले नेतृत्व गृर्ने र दोस्रो कार्यकाल प्रा. डा. दिब्या सिह साहले नेतृत्व गर्ने गरी तय भएको जानकारी दिए । उनले अब प्रत्यारोपण क्षेत्रमा थप प्रभावकारी रुपमा विकास हुने विस्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अमेरिकी चिकित्सक डा. डोरी सेगेभले १० वर्ष अघि डा पुकार सँग भेट भए पश्चात केन्द्रमा ल्याप्रोस्कोपिक सर्जरी सेवा सञ्चालनको लागि सहयोग नेपाल आएको र नेपालको सुन्दरतार र सौहार्दताले आपूmलाई नेपाल आइरहन प्रेरित गरिरहेको र प्रत्यारोपण सम्बन्धी प्रविधि हस्तान्तरण गर्नको लागि आफुले सहयोग गर्ने कुरा बताए ।
सोसाइटीको नव निर्वाचित अध्यक्ष डा. दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ, सम्मेलन आयोजक समितिको सचिव डा कल्पनाकुमारी श्रेष्ठ लगायतले यस्ता प्रकारका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान गरी अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्याउने बताए ।
विश्व स्वास्थ्य संगठनको सन् २००८ प्रतिवेदन अनुसार नेपाल जस्तो देशमा मिर्गौला रोग लागेका मानिस केही महिनामै मृत्यूको शिकार हुने गरेकोमा हाल ९० प्रतिशत भन्दा बढी बिरामीहरु बाँच्न सफल भएका छन् ।
सम्पर्क इमेल : [email protected]