‘पाकिस्तानमा ९५ प्रतिशत फार्मेसीमा फार्मासिस्ट नै हुन्नन् !’

एजेन्सी । देशमा रहेका ९५ प्रतिशत फार्मेसी, मेडिकल स्टोर र आधा जसो अस्पतालहरु दक्ष फार्मासिस्ट विना नै सञ्चालनमा रहेको खुलासा भएको छ । यसै साता कराँचीमा भएको औषधि सुरक्षा सम्मेलनमा सो खुलासा भएको हो ।

पाकिस्तानी अनलाइन पोर्टल जीओ न्युजका अनुसार सम्मेलनमा औषधि क्षेत्रका विज्ञा देखि फार्मासिस्टहरु, चिकित्सकहरु, औषधि उद्योग तथा व्यवसायमा क्रियाशिल व्यक्तिहरुको सहभागिता थियो ।

सो अवसरमा बोल्दै औषधि नियामक प्राधिकरण पाकिस्तानका प्रमुख कार्यकारी अधिकृत असिम रउफले फार्मासिष्ट विना कुनै पनि फार्मेसी वा अस्पताल चल्नु नहुने भन्दै सुरक्षित औषधि अभ्यासका लागि आफूहरुले काम गर्दै आएको बताए ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्यकर्मीहरुलाई फार्माकोभिजिलेन्स प्रणालीलाई सुदृढ पार्न र औषधिको त्रुटिहरुसंग सम्वन्ध मृत्युहरु रोक्नका लागि प्रतिकुल देखिएका औषधिको रियाक्सनबारे जानकारी दिन समेत आग्रह गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै अलखिदमत फार्मेसी सेवाका निर्देशक जमशेद अहमदले देशमा ५ प्रतिशत फार्मेसी मात्रै मापदण्ड अनुसार चलेको भन्दै ९५ प्रतिशत फार्मेसीहरुको अवस्था किराना पसल जस्तो रहेको बताए । उनले त्यस्ता पसलबाट गलत औषधि वितरण हुनसक्ने भन्दै त्यसले घातक परिमाण निम्याउने गरेको समेत सुनाए ।

आगाखान युनिभर्सिटी हस्पिटलको फार्मेसी सेवाका पूर्व विभागीय प्रमुख अब्दुल लतिफ शेखले चिकित्सकको हस्त लिखित प्रिस्किप्सनका अप्रशिक्षित कर्मचारीले चिन्न नसक्ने भन्दै त्यसले बिरामीलाई गलत औषधि जाने गरेको बताए ।

पाकिस्तानमा विभिन्न कारणले ठूलो संख्यामा फार्मासिस्टहरुले पेशा छाडेको भन्दै पाकिस्तान फर्मास्युटिकल म्यानुफ्याक्चरर्स एसोसिएशनका प्रतिनिधि सेख केशर वाहिदले अभिभावकहरुले आफ्ना छोराछोरीलाई फार्मेसी पेशाका लागि योगदान गर्न प्रोत्साहित गर्नु पर्ने बताए ।

कार्यक्रममा प्राडा अब्दुल मलिकले बिरामीको स्वास्थ्य सुधारका लागि फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने भन्दे अस्पताल तथा फार्मेसीहरुमा फार्मासिस्टहरु अनिवार्य रुपमा हुनुपर्ने बिचार व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *