एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माउन थाले

नेपालगन्ज, २१ मंसिर । समयमै उपचार सुरु गरेपछि पछिल्ला वर्षहरूमा बाँकेका एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माउन थालेका छन् । एचआइभी सङ्क्रमित महिलाबाट सङ्क्रमित नै बच्चा जन्मने सम्भावना बढी रहे पनि समयमै चेकजाँच गराएर औषधी सेवन गर्दा स्वस्थ बच्चा जन्मिन थालेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा सात जना एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए । । त्यसको अघिल्लो आर्थिक वर्षमा पाँच जना सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए ।

सङ्क्रमित महिलाबाट जन्मिएका बालबालिका स्वस्थ र राम्रो अवस्थामा रहेको जनाउँदै भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले समयमै उपचार र चेकजाँच गराएर यस्तो सम्भव भएको बताए । उनले एचआइभी सङ्क्रमित पत्ता लगाउने र उनीहरूको उपचारका लागि बाँकेमा विगतका केही वर्षहरूमा गरिएको प्रयास र कार्यले गर्दा सङ्क्रमित घट्न थालेको बताए ।

बाँके जिल्लामा गत आव २०८०/८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा १० हजार ७५९ जनामा एचआइभी परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेको सो कार्यालयले जनाएको छ ।

त्यसअघिको आव २०७९/८० मा १०९ जनामा सङ्क्रमण देखिएको थियो । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए ।

हाल भेरीको एआरटी सेन्टरबाट अहिले ५८८ जनाले नियमित सेवा लिइरहेका छन् ।

अघिल्लो आ.व.मा एआरटी सेवा लिनेको सङ्ख्या ५५६ थियो । एआरटी सेवा लिने बाँकेबाहेकका जिल्लाका पनि सङ्क्रमितहरू रहेको अस्पतालले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *