फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ अभियान सञ्चालन गर्दै सरकार

काठमाडौँ, १७ मंसिर । सरकारले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन अनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको हो ।

सो अभियानमा ३० देखि ४९ बवर्ष उमेर समूहका महिलाहरुको भिआईए टेष्टविधिबाट स्क्रिनिङ गरिन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेल भन्छिन्, ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रम यसअघि पनि थियो, तर नियमित कार्यक्रममा त्यति प्रभावकारी देखिइरहेको थिएन । यसपटक स्वास्थ्य मन्त्री ज्यूले यो कार्यक्रमलाई विशेष बनाउने भन्दै फागुन महिनाभर अभियान नै सञ्चालन गर्नका लागि निर्देशन दिनु भयो । त्यसपछि हामीले पनि देशव्यापी अभियानकै रुपमा यसपटक यो कार्यक्रम अघि बढाउँदै छौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

यसैअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । उनले यस वर्ष २ लाख ५० हजार महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने योजना रहेको समेत जानकारी दिए ।

क्यान्सरको अनुसन्धान गर्ने आधिकारिक संस्था ग्लोबल क्यान्सर अब्र्जभेटरी (ग्लोबोक्यान)का अनुसार महिलाहरुलाई सबैभन्दा बढी देखिने क्यान्सरहरुको सूचीमा दोस्रो नम्बरमा रहेको छ ।

ग्लोबोक्यानका अनुसार सन् २०२२ मा मात्रै २ हजार १६९ वटा पाठेघरको मुखको क्यान्सर देखिएको नयाँ केश फेला परेको थियो भने सोही वर्ष सोही क्यान्सरबाट १ हजार ३१३ जनाको मृत्यु भएको थियो ।

यस हिसावले पनि नेपालमा दैनिक ४ जना बढीको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको देखिएको छ ।

नेपालमा नियमित स्क्रिनिङ नगर्ने र परीक्षणका लागि अस्पताल पुग्दा धेरै ढिलो भइसक्ने अवस्थाका कारण मृत्युदर बढी भएको समेत चिकित्सकहरुले बताउँने गरेका छन् । उनीहरुले सुरुकै अवस्थामा रोग पत्ता लाग्न सके पाठेघरको मुखको क्यान्सर निको हुने बताउने गरेका छन् ।

त्यसो त पाठेघरको मुखको क्यान्सरबाट जोगाउने योजना अनुसार सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपीभी) खोप दिने योजना अघि सारेको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघमा यो खोप दुई सातासम्म सञ्चालन गर्ने तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *