नेपाल रेडक्रसको ब्लड बैंक सेवा अब प्रदर्शनीमार्गको नयाँ भवनबाट
काठमाडौँ, १० मंसिर । १२ बैशाख २०७२ को महाभूकम्पबाट क्षति पुगेपछि प्रदर्शनीमार्गबाट ललितपुरको बालकुमारी र काठमाडौँको ताहचल सरेको नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सेवा दिन आजबाट पुन: प्रदर्शनी मार्ग फर्किएको छ ।
भूकम्पले क्षति पुगेको पुरानो संरचना हटाएर थाइ रेडक्रसको सहयोगमा बनेको प्रदर्शनी मार्गको नयाँ भवनमा रेडक्रस केन्द्रीय कार्यालय ताहचल हाता भित्रको ब्लड बैंक सरेको हो ।
ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले प्रदर्शनीमार्गमा सेवा दिन ब्लड बैंक करीव ९ वर्ष पछि फर्किएको बताए ।
‘अब रेडक्रसद्धारा सञ्चालित ब्लड बैंक सेवा प्रदर्शनीमार्ग (भृकुटीमण्डप)को नयाँ ब्लडबैंक भवनबाट सुरु भएको छ । आजैबाट हामीले सेवा थालेका छौँ । यो ब्लड बैंक पहिलेको भन्दा अत्याधुनिक हुन्छ । यसका लागि मेसिन खरीद तथा जडानको काम केही बाँकी छ । केही महिनापछि यसको सेवा विस्तार हुन्छ । आजबाट हामीले ताहचलबाट दिईरहेको सेवा यताबाट दिन थालेका छौँ,’ निर्देशक गुप्ताले भने ।
भूकम्पले क्षति पुगेपछि ब्लड बैंक सुरुमा बालकुमारी सरेको थियो । त्यहाँ अपायक भएको गुनासो बढेपछि ताहचल सरेको थियो । प्रदर्शनी मार्गमा आएपछि भने सेवाग्राहीलाई थप सहज र सेन्टर पर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साल साउन १२ गते देखि रक्त सञ्चार सेवा दिन थालेको हो ।
सम्पर्क इमेल : [email protected]