स्वास्थ्य क्षेत्र र नयाँ पुस्ताको भबिष्य सोचेर स्वास्थ्य अनुसन्धानमा लाग्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
काठमाडौँ, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र र नयाँ पुस्ताको भविष्यका बारेमा सोचेर स्वास्थ्य अनुसन्धानमा लाग्न आग्रह गरेका छन् ।
फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४ औं शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन मन्तव्य दिने क्रममा सहभागी समक्ष यस्तो आग्रह गरेका हुन् ।
‘स्वास्थ्य क्षेत्रको भविष्यका लागि सोचेर अनुसन्धान कार्य होस्, हाम्रा कार्यले नयाँ पुस्तामा राम्रो प्रभाव परोस् । सरकार यस्तो खालको स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहित गर्न चाहन्छ,’ मन्त्री पौडेलले भने । उनले स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले उत्तरदायित्वसहित धेरैको भलाई हुने समेत बताए ।
नेपालमा भएका अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता पाइरहेको र यसमा फरक्यापले समेत मान्यता दिएर सम्मेलनको आयोजना नै गर्न पाउनु नेपालका लागि गर्वको विषय हो भन्दै उनले यसले थप अनुसन्धानका लागि आत्मविश्वास बढाउने समेत बताए ।
एक प्रसंगमा उनले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको समेत बताए । ‘यस्तो सम्मेलन नेपालमा हुनु राम्रो हो’, पौडेलले भने, ‘यस्तै सहकार्य हुँदै जाओस् । हामी त्यसका लागि तत्पर छौँ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अनुसन्धान ज्ञान प्राप्त गर्ने कार्य मात्रै नभएर मानव जीवनलाई गर्ने आदर पनि भएको बताए । उनले स्वास्थ्य अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा राखे । फरक्यापले यस्ता अनुसन्धानमा जोड दिँदै जाने विश्वास व्यक्त गर्दै अधिकारीले भने ‘इथिकल प्राक्टिसमा गरिएका गरिएका अनुसन्धानले पक्कै समाज परिवर्तनमा टेवा पुग्नेछ ।’
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले पनि अनुसन्धान इथिकल हुनुपर्नेमा जोड दिए । यस खालका सम्मेलनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा केही न केही राम्रो गर्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धानकर्ता र सरकारबीच समन्वय हुनुपर्ने धारणा राखे । उनले समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले अझै राम्रो गर्न मद्दत गर्ने भन्दै परिषद्लाई सो कुरामा ध्यान दिएर अघि बढ्न सुझाव समेत दिए ।
परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले ‘उत्तरदायी अनुसन्धान: अधिकतम लाभ’ मुल नारा तय गरिएको यो सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु उपस्थिति रहेको र यस सम्मेलनले अनुसन्धानलाई विश्वसनीय बनाउन दिशानिर्देश गर्ने समेत विश्वास लिएको बताए ।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । उनले हिजोबाट सुरु भएको सम्मेलन निकै फलदायी हुनेमा विश्वास व्यक्त गर्दै नेपालमा फरक्यापको सम्मेलन गर्न पाउँदा गौरव लागेको बताए ।
उद्घाटन सत्रका कि नोट स्पिकर प्राडा शरदराज वन्तले अनुसन्धानका नतिजाका आधारमा नेपालमा थुप्रै स्वास्थ्य उपलब्धि भएको बताउँदै नेपालमा मातृशिशु मृत्युदर घटाउनमा पनि अनुसन्धानले भूमिका खेलेको उल्लेख गरे । उनले अनुसन्धानमा समेत असमानता कायम रहेको र त्यस्तो असमानता न्यूनीकरण गर्न आवश्यक रहेकोमा जोड दिए ।
हिजो देखि सुरु भएको चार दिने यो सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु गरी ६ सय बढीको सहभागिता छ । यस्तै सम्मेलनमा भारत, अमेरिका, जपान, थाइल्याण्ड, पाकिस्तान, क्यानडा, केन्या, इन्डोनेसिया, मलेसिया लगायतका २३ वटा देशबाट २४९ जना बढी विदेशी प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
सम्मेलनका लागि अनुसन्धान आचार संहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तराष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण छनोट गरिएको छ।
सम्पर्क इमेल : [email protected]