पिजीको विवाद तत्काललाई मिल्यो, निजी मेडिकल कलेजहरु स्व-मूल्यांकन फारम भर्न तयार

काठमाडौँ, ९ मंसिर । आइतबार विहान बालुवाटारमा बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक पछि निजी मेडिकल कलेज सञ्चालकहरु स्नातकोत्तर तथा स्नातकोत्तर तहका लागि स्व मूल्यांकन फारम भर्न राजी भएका छन् ।

खासगरी पीजीका विद्यार्थीहरुलाई दिनुपर्ने भनिएको निर्वाह भत्ताका विषय फारममा अनिवार्य भर्नु नपर्ने भएपछि उनीहरु स्व मूल्यांकन फारम भर्न राजि भएका हुन् ।

यसअघि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद सल्टाएर निजी मेडिकल कलेजलाई विद्यार्थीहरु पढाउने बातावरण बनाउन भनेका थिए । त्यस लगत्तै एसोसिएशन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले निर्वाह भत्ता सरकारी मेडिकल अधिकृतको तलव सरह बनाउन भनेपछि समस्या आएको बताएका थिए । त्यस विषयमा सदस्यहरुबीच गम्भीर छलफल भएपछि निकासका लागि अहिले फारम भर्ने र निर्वाह भत्ता यति उति भनेर तोक्न नपर्ने भन्ने निर्णय भएको डा कर्कीले बताए ।

‘सौर्हादपूर्ण रुपमा घनिभुत छलफल भयो । हामीले उठाउँदै आएको विषयमा केन्द्रीत रहेरै कुरा भयो । छलफल पछि भत्ताका विषयलाई अहिले छाडेर फारम भर्ने कुरामा आयोग सहमत भयो । हामीले आजै देखि नै फारम भर्न तयारीमा लागेका छौँ । आयोगले पनि केही दिन समय थप्न सक्छ’  डा. कार्कीले भने ।

यसअघि प्रधानमन्त्री ओलीले समस्याको समाधान गर्न कडा निर्देशन दिएका थिए ।

स्व मूल्यांकन फारम भरेपछि आयोगले आफ्नो टिम पठाएर कलेजहरुको स्थलगत निरीक्षण गराउने हो । त्यसपछि मात्रै कलेजहरुलाई सिट दिने प्रक्रिया सुरु हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *