प्रतिष्ठानको आयोजनामा सिन्धुपाल्चोकमा तीन दिने मुटु जाँच शिविर : साढे आठ हजार स्कुले बालबालिकाको मुटु परीक्षण

काठमाडौँ, ५ मंसिर । सिन्धुपाल्चोकको तीनवटा छुट्टा छुट्टै स्थानमा तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क बाल मुटु परीक्षण शिविरमा ८ हजार ५०० बढी स्कुले बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आयोजना तथा रोटरी क्लव अफ पाटन र पद्मोदय भेटेरान क्लव २०३१ को सहयोगमा जिल्लाका साँगाचोक, चौतारा र मेलम्छी क्षेत्रमा गत २ देखि ४ मंसिरसम्म राखिएको शिविरमा बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

टोलीको नेतृत्व गरेका प्रतिष्ठानका राष्ट्रिय कार्यक्रम निर्देशक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले शिविरमा ३६ वटा स्कुलका ८ हजार ५०० विद्यार्थीको मुटु परीक्षण गरिएको बताए ।

परीक्षणपछि ६१ जनामा मुटु रोग भएको पाइएको भन्दै उनले त्यसमध्ये ४१ जना जन्मजात मुटुरोगी र २० जना बाथ मुटुरोगी भएको उल्लेख गरे । डा रेग्मीले १८ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको समेत बताए । उनले शल्यक्रियाको सहजीकरण नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गर्ने समेत जानकारी दिए ।

‘बालबालिकाको मुटुजन्य समस्या हुन्छ, कसैमा जन्मजात हुन्छ, कसैमा बाथ मुटुरोग हुन्छ । सबै केशमा लक्षण हुन्छ भन्ने पनि छैन । त्यसैले परीक्षण आवश्यक छ । त्यसका लागि प्रतिष्ठानले बालबालिका केन्द्रीत मुटु परीक्षण शिविर राखेको हो,’ डा रेग्मीले अगाडी थपे, ‘समयमै रोग पत्ता लागेर सही उपचार गर्न सकेमा मुटुरोग सहजै निको हुनसक्छ । बालबालिकाको ज्यान बच्न सक्छ । त्यसैले हामीले यो कार्यक्रम नियमित रुपमा गर्दै आएका हौँ ।’

तीन दिने शिविरमा बालबालिकाको मुटु परीक्षणका लागि काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीसंगै डा राजेन्द्र कोजु, प्रेमराज वैद्य, डा उर्मिला शाक्य, डा निशान भट्टराई र डा सत्यनारायण सुवाल सिन्धुपाल्चोक पुगेका थिए । यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकाल सहित प्राविधिकहरु अनमोल महर्जन, मोहन श्रेष्ठ, शारदा महर्जन, केशव ढकालसहित रोटरी क्लव पाटन र पद्य्मोदय भेटेरान क्लव २०३१ बाट समेत स्वयंसेवकको टोली खटिएको थियो ।

शिविरमा बालबालिकाका लागि आवश्यक पर्ने औषधीहरु निशुल्क वितरण भएको थियो ।

प्रतिष्ठानले पछिल्लो २५ वर्षमा ६० जिल्लामा पुगेर ३ लाख बढी बालबालिकाहरुको मुटु परीक्षण गरिसकेको डा. रेग्मीले बताए । उनका अनुसार प्रतिष्ठानले पछिल्ला वर्षहरुमा औषतमा बार्षिक २० हजार बढी बालबालिकाहरुको मुटु परीक्षण गर्दै आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *