नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी २८ र २९ मंसिरमा हुँदै
काठमाडौँ, ४ मंसिर । नेपाल चिकित्सक संघको आयोजनामा आगामी २८ र २९ मंसिरका दिन काठमाडौँमा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ । बबरमहलस्थित कार्की बेङ्क्वेटमा हुने हुने सम्मेलनको मुख्य थिम ‘हेल्थ वियोण्ड हेल्थ’ राखिएको छ ।
सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझावहरु प्रस्तुत गर्न सहयोगी बन्ने बताए । उनले नेपालमा गुणसतरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहँदा यसले समग्र जनस्वास्थ्य र सामाजिक कल्याणमा नकारात्मक प्रभाव पार्दै आएको छ भन्दै यस समस्याको समाधान केवल सेवा विस्तारमा सीमित नभई स्वास्थ्य परिणामलाई प्रभाव पार्ने सामाजिक, वातावरणीय र आर्थिक पक्षहरुलाई समेत समेटने गरी व्यापक दृष्टिकोण आवश्यक भएको बताए ।
‘स्वास्थ्य भनेको स्वास्थ्यसंग जोडिएको विषय भएन, स्वास्थ्य बाहिरका विषयले पनि यसलाई प्रत्यक्ष परोक्ष प्रभाव पारिरहेको छ । त्यसैले यसपटकको थिम हेल्थ वियोण्ड हेल्थ राखिएको हो,’ उनले भने ।
त्यसो त सम्मेलनमा छलफल गर्न संघले सातवटा सब थिमहरु अघि सारेको छ ।
सम्मेलन साइन्टिफिक कमिटिका को चियर डा प्रज्वल प्याकुरेलका अनुसार अघिल्ला वर्षको प्रतिवद्धतताको अवस्थाबारे खोजविन गर्न ‘प्रतिवद्धताबाट कार्यान्वयनसम्म: तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरु’, ‘परिवर्तका लागि स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज,’ ‘अनुुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण’ रहेका छन् ।
यस्तै ‘स्वास्थ्य र महामारीका लागि पूर्वतयारी,’ ‘चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, ‘स्वास्थ्य सञ्चारमाध्य जनचेतना र उत्तरदायी पत्रकारिता,’ ‘संक्रामक रोग व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी सरसफाइ र पोषणको प्रभाव’ आदि विषय राखिएको जानकारी दिए ।
संघका महासचिव डा. सञ्जीव तिवारीले सम्मेलनले स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता, नीति निर्माता, चिकित्सक सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याई बहस र समाधानका उपायहरुको खोजी गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको स्वास्थ्य प्रणालीको सुधार, महामारीका लागि तयारी, चिकित्सा शिक्षामा सुधार र वातावरणीय सवास्थ्य संग सम्वन्धित मुद्धाहरुको विषयमा सम्वोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
दुई दिने सम्मेलनमा एक हजार बढीको सहभागिता हुने संघको अनुमान रहेको छ ।
सम्पर्क इमेल : [email protected]