पर्साका सीडीओ गणेश अर्याललाई कार्बाही गर्न चिकित्सक संघको माग, के बोलेका थिए उनले ?

काठमाडौँ, ४ मंसिर । नेपाल चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई तत्काल कार्वाही गरी जिम्मेवारी मुक्त गर्न सरकारसंग माग गरेको छ ।

संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा संजीव तिवारीले सोमबार गृह मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै उनलाई कार्वाही दायरामा ल्याउन र स्वास्थ्यकर्मीको मनोवल बढाउन उनलाई जिम्मेवारी मुक्त गर्न माग गरेको छ ।

पर्साका प्रजिअ अर्यालले गत ३० कात्तिकमा वीरगञ्जमा भएको उभोक्ता हित संरक्षण मञ्चको २९ औँ केन्द्रीय बार्षिक साधारण सभालाई सम्वोधन गर्ने क्रममा  बुटवलस्थित आम्दा अस्पतालमा सुत्केरी मृत्यु पछि भएको तोडफोड तथा आक्रमणको प्रसंग जोडेका थिए ।

१० महिना अघि आफू रुपन्देहीको सीडीओ हुँदाको प्रसंग झिक्दै उनले उपभोक्ता हक हितको कुरा र स्वास्थ्य संस्थामा हुने आक्रमण तथा तोडफोडको प्रसंग सुनाएका थिए । त्यहाँ सीडीओ हुँदा बोल्न मिलेन यहाँ त भन्छु, अहिलेसम्म कहि कतै भनेको थिईन भन्दै उनले अस्पतालले सुत्केरीको जटिलताबारेमा जानकारी नै नदिई एक्कासी तिम्रो मान्छेको मृत्यु भयो शब लैजाउ भनेर भन्दा बिरामी पक्ष आक्रोशित भएको र तोडफोडमा उत्रिएको उल्लेख गरेका छन् ।

प्रशंग जोडने क्रममा प्रजिअ अर्यालले सो घटनामा चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले पनि तोडफोड र आक्रमणमा उत्रिएकाहरुलाई ऐन अनुसार थुन्न भएको तर आफूले त्यसलाई अस्विकार गरेको उल्लेख गरेका छन् ।

उनले सुत्केरीको मृत्यु लाखौँमा एक जनामा देखिने जटिलताका कारणले भएको तर त्यसबारेमा सुत्केरीका आफन्तहरुलाई अस्पताल प्रशासनले दिनु पर्ने जानकारी राम्ररी नदिएर घटना घटेको उल्लेख गरेका छन् । उनले बोल्ने क्रममा त्यो अवस्थामा आफै भए पनि तोडफोडमा उत्रिने र आगो लगाउन सक्ने समेतको गम्भीर अभिव्यक्ति दिएका छन् ।

चिकित्सक संघले सोही अभिव्यक्ति पछि गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै शान्ति सुरक्षाको जिम्मेवारी लिएको जिम्मेवार राष्ट्र सेवकले कानूनको पालनामा जोड दिनु पर्नेमा आफैले कानून पालना नगरेको स्वीकार्दै झन आफू भए आगजनी गनेृ भन्ने जस्तो भड्काउने अभिव्यक्ति दिएर जनमानसलार्य उत्तेजित बनाउने कार्य गरेको आरोप लगाएको छ । साथै अर्यालको धारणा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हतोत्साही बनाउने खालको भएको संघले ठहर गरेको छ ।

संघले यस्ता प्रशासक रहेसम्म स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने आक्रमणका घटना झन बढ्न सक्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संसोधन २०७९)को कार्यान्वयन झन् फितलो हुने कुरामा कुनै दुविधा नरहेको जानकारी गराउँदै ‘रक्षक नै भक्षक हुने सम्भावनालाई नकार्न सकिन्न’ भनेको छ ।

कस्तो अभिव्यक्ति दिएका थिए प्रजिअ अर्यालले ? हेरौँ  उनकै शव्दमा 

रुपेन्देहीको आम्दा भन्ने अस्पतालमा एक जना महिला सुत्केरी व्यथा लागेर जानु भयो । उहाँको ५ केजीको बच्चा जन्मियो ।

आज भन्दा करीब १० महिना अघिको कुरा हो ।

बच्चा जन्मिईसकेपछि अस्पतालले आफन्तहरुलाई भन्यो, ‘अप्रेसन ठिक भयो, तपाईँहरुलाई बधाई छ छोरा जन्मियो ।’

गुल्मी ठूलो लुम्पेकका मान्छेहरु मख्ख परेर घर गए ।

त्यसको आधा घण्टा पछि ……………..

………….एक लाख मान्छेमा एक जनालाई लाग्ने रहेछ त्यस्तो रोग । अटोमेटिक हिसावले तिनको त्यो पाठेघरमा संकुचन हुँदा खेरी व्लड सर्कुलेसन बन्द भयो, हर्ट एटेक भयो र आमाको मृत्यु भयो ।

…………छोरा जन्मियो भनेर सन्तुष्ठका साथ घर गएका मान्छेहरुलाई खबर सम्म भएन, त्यहि बसेका कुरुवालाई पनि खबर भएन ।

आम्दा अस्पतालले के गरिदियो भने मृतकको शव मर्चरी त्यो भ्यानमा राखिदियो र भन्यो तिम्रो मान्छेको मृत्यु भयो/ सुत्केरी आमाको मृत्यु भयो लिएर जाउ शव………………

(…..म आज पहिलो पटक यो विषयमा बोलेको छु । अन्त बोलेको छैन । रुपन्देही हुँदासम्म बोल्न मिलेन । त्यसैले आज बोलें ।)

……….. त्यसपछि ती मान्छेहरु कस्तो अवस्थामा पुगे होलान कल्पना गर्नुस् ।

उनीहरुमा एक किसिमको आक्रोश आयो, सामान्य किसिमको तोडफोड भयो ।डाक्टर माथि पनि अलि अलि हातपात भयो ।

चिकित्सक संघले उठेर भन्यो डाक्टर माथि हातपात गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी ऐन लगाएर ५ वर्ष कैद अन्तर्गत थुन्नु भनेर मलाई प्रेसर आयो । तत्कालिन उपप्रधान एवं गृह मन्त्रीलाई मैले भने,  ‘यो केशमा मैले थुन्न सक्दिन ।’

…………एउटा अस्पतालले तिम्रो बिरामीको अवस्था कम्पलेक्स हुँदैछ भनेर खबर गरिदिदा डुब्छ ? समस्या जटिल भएको छ अब के गर्ने भनेर सल्लाह गर्दा सबै सकिन्छ ? सरी बचाउन सकेनौँ भनेर कान समातेर माफ माग्दा पैसा सकिन्छ ?

आधा घण्टा अघि बधाई छ भन्ने तर आधा घण्टा पछि मर्चरी हाउसबाट भ्यानमा लास राखिदिएर तिम्रो लास लिएर जाउ भनेर ठाड ठाडै बोल्दा खेरी मान्छेको रगत उम्लिदैन ?

त्यसबेला यो  ठूलो राष्ट्रिय इस्यु भयो ।

अनिल कार्की हुनुहुन्छ चिकित्सक संघको अध्यक्ष । उहाँले मलाई सिधै फोन गर्नु भयो,  ‘यी डाक्टर कुट्ने मान्छेलाई थुन्नु भएन भने देशव्यापी आन्दोलन गर्छौ  ।’  मैले भने, ‘एउटा पीडित उपभोक्ताको विपक्षमा तपाईँले आन्दोलन गर्नु भयो भने पनि त्यसलाई थेग्न सक्छु,  कुनै हालतमा हुँदैन, यो केशमा मान्छे थुनिदैन ।

…………त्यस लगत्तै दूई दिन पछि बार्ता गरेर सल्भ भयो ।  बार्ताका क्रममा मैले त्यहि हस्पिटलका साथीहरुलाई राखेर भने, ‘ए बाबा तपाईँले लेखेको अक्षर मैले बुझ्न पर्छ कि पर्दैन ? गड्युला जस्तो सात ठाउँ बेरिएको अक्षर लेख्ने अनि उपभोक्तालाई दोश लगाउने ? तिम्रो मान्छेको अवस्था विग्रियो, मान्छे बचाउन सकिदैन जस्तो छ अन्त लाने हो कि भनेर सोधिदिदा के बिग्रन्थ्यो ? तिम्रो बिरामीलाई यस्तो भयो भनेर मेडिकल भाषामा भएको शव्द नेपालीलाई जान्ने भाषामा बुझाई दिएको भए के बिग्रन्थ्यो ?

त्यसपछि नेगोसेसन भयो, शब बुझ्ने काम भयो र त्यसको तीन दिनमा छपियामा कार्यक्रम राखेर रुपन्देहीका सबै स्वास्थ्य संस्थाका प्रमुख र त्यहाँका मेसुहरु राखेर हामीले भन्यौँ न्युनतम हिसावले यति कुरा पुरा हुनुपर्छ स्वास्थ्य संस्थाहरुमा । देखिने गरी प्रेस्किप्सन लेख्नुस, बिरामीसंग आएका कुरुवालाई सबै कुरा बताउनुस, अवस्था यस्तो छ काउन्सिलिङ गर्नुस्, अवस्था विग्रन लाग्यो भने अब के गर्ने यस्तो भयो भनेर जानकारी दिनुहोस, रिफर लाने भए रिफर दिनुहोस , यति गर्दा पनि तपाईमाथि हातपात भयो भने हामी ढाल भएर निस्कन्छौँ । बिरामी र आफन्तको मुखमा हेरेर कुरा गर्नु छैन । तिम्रो मान्छे मरयो भनिदिदा खेरी हुँदैन तोडफोड ? ‘म भए पनि गर्दथे तोडफोड । म भए आगो लगाउँथे, धन्न तोडफोड मात्रै गरेछन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *