घरमा एक्कासी बेहोस भएका पूर्व सभामुख ढुंगानाको अस्पताल नपुग्दै निधन

भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि हुने

काठमाडौँ, २ मंसिर ।  पूर्व सभामुख दमननाथ ढुंगानाको आज निधन भएको छ । कलेजो रोगको समस्यामा परेका ढुंगानाले पछिल्लो समय बत्तिसपुतलीस्थित घरमै औषधि उपचार गराईरहेका थिए ।

तर, आज दिउसो घरका परिवारसंग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएका थिए । त्यसपछि परिवारका सदस्यले नजिककैको फ्रन्टलाइन अस्पतालमा लैजाँदै थिए तर उनको बाटोमै निधन भएको थियो ।

यता फ्रन्टलाइन अस्पतालका क्लिनिकल प्रेसिडेन्ट डा योगेश न्यौपानेले जारी गरेको विज्ञप्तीमा पनि अस्पताल आई नपुग्दै निधन भएको उल्लेख गरेका छन् । विज्ञप्तीमार्फत उनले भनेका छन्, ‘घरका परिवारका सदस्यसंग कुरा गरिरहेको बेलामा एक्कासी बेहोस भएर अस्पताल ल्याइएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्वन्धि कुनै चाल नदेखिएकोले त्यस वखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको साथै उच्च रक्तचाप तथा पल्स नभएकोले आधा घण्टासम्म सीपीआर गर्दा समेत जीवन सम्वन्धी कुनै संकेत नदेखिएपछि १ बजेर ४० मिनेटमा मृत घोषणा गरिएको हो ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे ।

सोमबार मात्रै अन्तेष्टी

यसैबीच पूर्वसभामुख ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ । बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईले जानकारी दिए ।

उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।

उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *