नयाँ महामारी ‘सुपरबग्स’ को उदय : यो के हो ? कसरी गर्ने नियन्त्रण ?
१३औं शताब्दीमा ब्ल्याक डेथदेखि २०१९ को अन्त्यतिरबाट देखिन थालेको कोभिडसम्म आइपुग्दा आधुनिक मानब सभ्यताले कैयौँ महामारीको सामना गरिसकेको छ । अनि यस्ता महामारी आउँदा प्रत्येक पटक मानिसले यी चुनौतीहरूलाई सामना गर्ने उपाय पनि पत्ता लगाएको छ ।
तर अहिले सुपरबग्स नामक एउटा नयाँ खतराको उदय भएको छः जसको उदयले एउटा फरक चुनौती थपिएको छ । सुपरबग्स कुनै एउटा जिवाणुको नाम भने होइन ्र एन्टिबायोटिकबिरुद्ध प्रतिरोध हासिल गरेका जिवाणु नै सुपरबग्स हुन् । यी ब्याक्टेरियाहरूलाई एन्टिबायोटिकजस्ता परम्परागत औषधि उपचारहरूबाट प्रभावहिन रहने हुनाले जनस्वास्थ्यको लागि ठूलो जोखिम खडा गरिरहेका छन् ।
सन् १९४० भन्दा पहिले, सानो चोटपटक र घाउको कारणले पनि मान्छेको मृत्यु हुन्थ्यो, यो चोटले गर्दा नभई चोटमा इन्फेक्शनको कारणले हुने गर्दथ्यो । तर सन् १९२८ मा लण्डनको सेन्टमेरी अस्पतालका ब्याक्टेरियोलोजीका प्राध्यापक अलेक्ज्याण्डर फ्लेमिङले पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाए । पेनिसिलिनको खोजले एन्टिबायोटिकको युग सुरु ग¥यो, जसलाई चिकित्सा क्षेत्रमा सबैभन्दा ठूलो प्रगतिको रूपमा लिन सकिन्छ । यसपश्चात सन् १९४० देखि १९६२ सम्म अन्य थुप्रै एन्टिबायोटिकको खोज गरियो । हामीसंग लगभग सबै ब्याक्टेरियाको बिरुद्ध एन्टिबायोटिक उपलब्ध भएकोले अहिले मानिसले चोटपटकको करणले ज्यान गुमाउनु पर्दैन ।
हामीहरु मध्ये प्रायले रुघाखोकी , ज्वरो , पखाला आदिमा सहजै एन्टिबायोटिक सेवन गर्छौं । यहि कारणले नयाँ समस्याको जन्म भएको छ, जुन हो – “एन्टिबायोटिक प्रतिरोधी गुण” । एन्टिबायोटिक प्रतिरोध तब उत्पन्न हुन्छ, जब रोग फैलाउने ब्याक्टेरियाविरुद्ध एन्टिबायोटिक ब्याक्टेरियाले आफ्नो अनुकूल बनाइदिन्छ ।
ब्यक्टेरियाबिरुद्ध एन्टिबायोटिकको नियमित फलस्वरूप ब्यक्टेरियाले बिस्तारै आफ्नो जीनमा परिवर्तन ल्याई एन्टिबायोटिकबिरुद्ध प्रतिरोधात्मक क्षमता गर्न सक्छन् । प्रतिरोधी ब्याक्टेरियाले आफ्नो प्रतिरोधी जीनलाई विभिन्न प्रजातिका ब्याक्टेरियाहरूमा पनि स्थानान्तरण गर्न सक्छ जसलाई, होरिजेन्टल जीन स्थानान्तरण भनिन्छ ।
यो डार्विन को ‘प्राकृतिक चयन ‘ सिद्धान्त को उदाहरण हो । एन्टिबायोटिक रेसिस्ट्यान्स प्रतिरोधी) कुनै नयाँ खोज भने होइन, पेनिसिलिन पत्ता लागेको १५ वर्षपछि नै यसको प्रतिरोधात्मक क्षमता पत्ता लागेको थियो ।
ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेजिस्ट्यान्सका अनुसार सन् १९९० देखि २०१९ को बीचमा हरेक वर्ष १० लाख मानिसको मृत्यु एन्टिबायोटिक प्रतिरोध कै कारणले हुने देखाएको छ । उपलब्ध तथ्याङ्कको आधारमा, प्रमुख एन्टिबायोटिकहरूको प्रतिरोध दर सन् २००१ मा लगभग १६ प्रतिशत बाट २०२० मा ४४ प्रतिशत मा बढेको देखिन्छ ।
ल्यान्सेटमा प्रकाशित एउटा नयाँ अध्ययनले एन्टिमाइक्रोबियल प्रतिरोधी रोगजनक वा एएमआरले सन् २०५० सम्ममा ३ करोड ९० लाखभन्दा बढी मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकले सन् २०१७ मा प्रकाशित प्रतिवेदनअनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वले वार्षिक ३.४ खर्बसम्म आर्थिक घाटा व्यहोर्नुपर्ने हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य चुनौतीमा सामेल गरेको छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्ने उपाय भनेको एन्टिबायोटिकको विकल्प खोज्नु वा नयाँ एन्टिबायोटिकको खोज हो । यी दुवै गर्न विज्ञान जगत सफल भएको छैन । पछिल्लो एन्टिबायोटिक सन् १९८७ मा पत्ता लागेको थियो र एक एन्टिबायोटिक विकास गर्नको लागी औसत लागत १.५ बिलियन अमेरिकी डलर सम्म हुन सक्ने वैज्ञानिकले आँकलन गरेका छन् ।
नेपालमा कस्तो छ अवस्था ?
एन्टिमाइक्रोबियल रेजिस्टेन्सको फैलिँदो दर निम्न तथा मध्यम आय भएका देशमा बढी हुन्छ, जसमा नेपाल पनि पर्दछ । नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक्स उपलब्ध छन् र करिब ५० कम्पनीले एन्टिबायोटिक देशभित्र उत्पादन गर्दै आएका छन । नेपालले प्रति वर्ष १ बिलियन अमेरिकी डलर बराबरको एन्टिबायोटिक आयात गर्दछ ,जुन कुल औषधि आयात मूल्यको लगभग ३० प्रतिशत हो ।
एन्टिबायोटिकको सहज उपलब्धताले नै नेपाललाई एन्टिबायोटिक रेसिस्ट्यान्सको उच्च जोखिममा पारेको छ । एन्टिबायोटिकको अत्यधिक प्रयोग, स्व–औषधि अभ्यास, सुबिधासम्पन्न अस्पताल र क्लिनिकहरूको अभाव र पशु कृषिमा वृद्धि प्रवद्र्धकको रूपमा एन्टिबायोटिकको प्रयोग जस्ता कारकहरू नेपालमा एन्टिबायोटिक रेसिस्ट्यान्सको उच्च जोखिमको कारक हुन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा प्रकाशित एक अध्यान अनुसार २८ प्रतिशत नेपालका बिरामीले चिकित्सकको परामर्स बिना नै औषधि प्रयोग गर्दछन् । चिकित्सकको परामर्श लिएपनि धेरैजसो बिरामीहरूले औषधिको डोज नै पुरा गर्दैनन् र लक्षणहरू कम हुन थालेपछि सामान्यतया २–३ दिन पछि औषधिहरू खान छोड्छन् ,जसले रोगको अवधि लम्ब्याउँछ र प्रतिरोधको विकासको दरलाई गति दिन्छ ।
चिकित्सकले सेनसिटिविटी (संवेदनशीलता) परीक्षण गराई र त्यसलाई सहि विश्लेषण गरि मात्र एन्टिबायोटिक प्रयोग गर्न सुझाब दिनुपर्छ । एन्टिमाइक्रोबियल संवेदनशीलता परीक्षणहरू ब्याक्टेरियामा एन्टिबायोटिकको सम्भावित प्रभावकारिता निर्धारण गर्न र ब्याक्टेरियाले निश्चित एन्टिबायोटिकहरूप्रति प्रतिरोधात्मक क्षमता विकास गरेको छ कि छैन भनी निर्धारण गर्न परीक्षण प्रयोग गरिन्छ । यस परीक्षणको नतिजाहरू संक्रमणको उपचारमा प्रभावकारी हुने औषधि छनोट गर्न प्रयोग गर्न सकिन्छ । तर नेपाल स्वास्थ्य अनुसन्धान परिषद् को २०२१ को अध्ययन अनुसार एन्टिबायोटिक संवेदनशीलता(सेनसिटिविटी) परीक्षणका लागि ३२ प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीको मात्र प्रयोगशालामा पहुँच छ । तीमध्ये, केवल ४९ प्रतिशतले बिरामिको लागि एन्टिबायोटिक सिफारिस गर्नु अघि एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्न सिफारिस गर्छन् । हालै नेपालमा क्लेब्सेलाका सुपरबग फेला परेसंगै स्वास्थ्य क्षेत्र नै त्रसित बनेको छ ।
नेपालमा गाईवस्तु, सुँगुर र कुखुरामा वृद्धि प्रवद्र्धकको रूपमा र उत्पादन घाटा कम गर्न एन्टिबायोटिकको चरम दुरुपयोग हुदै आएको छ । एन्टिमाइक्रोबियलहरूको भन्सार शुल्क र दर्ता शुल्कको कम हुने हुनाले प्रायः फिड एडिटिभ वा फिड सप्लिमेन्टको रूपमा आयात गरिन्छ । एक अनुसन्धान अनुसार, पशु चिकित्सा को ७० प्रतिशत भन्दा बढी औषधि उचित भण्डारण सुविधा र पशु चिकित्सा प्रशिक्षण नभएका खुद्रा आउटलेटहरूबाट बिक्री हुन्छन । पशुपंक्षिमा अनावस्यक एन्टिबायोटिक्स प्रयोग भयो भने पशुपन्छीमा औषधिको प्रभाव वा अवशेष पशुपंक्षिको शरिरमा केही अवधिसम्म रहिरहन सक्छ । यस्तो बेला ती पशुजन्य उत्पादन जस्तै दूध, अण्डा र मासुको सेवनले ती औषधिको अवशेषहरू मानब शरीरमा जान सक्छन् । त्यसपछि शरीरमा भएका ब्याक्टेरिया ती प्रति जैविक औषधिहरूको सम्पर्कमा आँउछन् र यिनीहरूले औषधिको प्रभावबाट बँच्नका लागि आफूमा प्रतिरोधात्मक क्षमताको विकास गर्छन् । यसरी मानब शरिरमा प्रतिरोधी प्रजातिको विकास हुन्छ ।
सरकारले एन्टिमाइक्रोबियल रेजिस्टेन्स ( एएमआर) क्षेत्रमा चासो नदेखाएको भने होइन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बंगलादेशको प्राविधिक सहयोगमा एएमआरको निगरानी नेपालमा सन् १९९९ मा सुरु गरेको थियो । ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’ ले एएमआरलाई एक महत्वपूर्ण जनस्वास्थ्य सरोकारको रूपमा प्राथमिकता दिई एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने आवश्यकतालाई औँल्याएको थियो । ’नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७’ ले पनि एन्टिबायोटिक प्रतिरोधलाइ जनस्वास्थ्य चुनौतीको रूपमा पहिचान गरि ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्सका लागि राष्ट्रिय कार्य योजना २०२१–२०२६’ तयार पारेको छ । यस कार्य योजनाको उद्देश्य नेपालमा एएमआरको उदयलाई न्यूनीकरण गर्दै “एक स्वास्थ्य रणनीति“ का लागि अन्तरक्षेत्रीय समन्वय सुनिश्चित गर्नु हो ।
एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्न कोहि बैज्ञानिक फेज थेरापी जस्ता अवधारणा अघि सार्दै छन् भने कोहि बैज्ञानिक नयाँ एन्टिमाइक्रोबियलको खोज गर्न लागिपरेका छन् ; तर यी प्रभावकारी हुन केहि समय लाग्ने देखिन्छ । सामान्य ज्वरो, रुघा र पखालामा एन्टिमाइक्रोबियलको दुरुपयोग हुने हुँदा, चिकित्सकको परामर्शबिना एन्टिमाइक्रोबियल खरिदमा रोक लगाउने प्रणाली कार्यन्वयन गर्न आवस्यक देखिन्छ । स्वास्थ्यकर्मीले एन्टिमाइक्रोबियल प्रयोगका मापदण्डलाई मध्यनजर राख्दै उपचार गर्नुपर्छ र समुदायलाई यसको बारेमा सचेत गराउने जिम्मेवारी बहन गर्नुपर्छ ।
कृषकले एन्टिबायोटिक प्रयोग घटाएर खोपको प्रयोग र राम्रो पशुपालन अभ्यासलाई प्रवद्र्धन गर्नुपर्छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२४ “प्रतिजैविक प्रतिरोधः बुझौँ, बुझाउ आजैबाट रोकथाममा जुटौँ” भन्ने मूल नाराका साथ मनाइँदै गर्दा सरोकारवालाहरू एकजुट भई एन्टिबायोटिक प्रतिरोधको कारण, नतिजा र रोकथामको बारेमा जनचेतना जगाई एन्टिबायोटिक प्रतिरोधको फैलावटलाई सुस्त बनाउन र भावी पुस्ताको भबिस्य त्रासरहित बनाउन आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
#कंडेल, महाराजगञ्ज मेडिकल क्याम्पसमा बिएस्सी एमएलटी अध्ययनरत छन् ।
सम्पर्क इमेल : [email protected]