बुबाले कोरेको गोरेटो पच्छ्याउदै औषधि व्यवसायमा प्रभावशाली बनेका प्रभुराज

उमेरले ७० बसन्त पार गर्न आटिसक्यो । उनी अझै पनि दैनिक १४ – १५ घण्टा काममा खटिन्छन् । अर्को अचम्मको कुरा, उनी विहान आफ्नो कार्यालय छिर्दा जुन फुर्तिका साथ पस्छन् बेलुका काम सकेर निस्कने बेलामा पनि उनको अनुहारमा कत्ति थकान देखिदैन ।

हजुर, हामी कुरा गर्दैछौँ यतिकेम डिस्ट्रिब्युटर्स प्रालिका अध्यक्ष प्रमुराज वैद्यको ।

कम्पाउण्डर (स्वास्थ्यकर्मी) बाबु स्वर्गीय ललितराज वैद्यले सन् १९६८ मा मकवानपुरको हेटौंडामा सञ्चालनमा ल्याएको यति ड्रग हाउसलाई बिस्तार गर्दै प्रभुराजले सन् १९८७ मा काठमाडौंमा यतिकेम डिस्ट्रिब्युटर्सको नामबाट औषधि सप्लाई गर्ने कम्पनी खडा गरे । यो कम्पनीले खासगरी विदेशबाट औषधि आयात गर्ने काममा परिचित छ ।

फेरी वैद्य परिवारले सन् १९९२ मा स्वदेशमै औषधि उत्पादन गर्ने कम्पनी सञ्चालन गर्ने योजनाका साथ सिम्का ल्यावरोटोरिज खरीद गर्‍यो  । त्यसको नेतृत्व पनि उनै प्रभुराजले गर्दै आएका छन् ।

आफ्नो एकल स्वामित्वको ठूला व्यावसायिक परियोजना बाहेक निजी क्षेत्रबाट सञ्चालित केही अस्पतालहरुमा समेत उनी आवद्ध छन् । थुप्रै सामाजिक संघसंस्थामा पनि उनले प्रत्यक्ष र परोक्ष रुपमा भूमिका निभाई रहेका छन् ।

औषधि व्यवसायको क्षेत्रमा एक खालको राज गरिरहेका उनै प्रभुराजसंग सफलताको राज खोज्न र सोध्न यसपटक हामी उनकै कार्यालय पुगेका थियौँ ।  कात्तिकको तेस्रो साताको एक दिन मध्यान्न सुन्धारास्थित यतिकेमको मुख्यालय पुग्दा उनी सदा जस्तै आफ्नो ड्युटिमा तल्लीन देखिन्थे । त्यसपछि भने उनले आफ्नो काम रोकेर केही समय हामी तर्फ खर्चिए ।
…………………………………………………………………..

देशमा कोभिड – १९  पहिलो लहर ‘पिक’ अवस्थामा पुग्दै थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनहुँजसो विज्ञ चिकित्सकहरुको बैठक हुन्थ्यो ।

मन्त्री सम्मिलित उच्चस्तरीय एउटा बैठकमा बरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले हतास मुद्रामा भनेका थिए, ‘हामीलाई समस्या परेका बेला जहाँबाट पनि औषधि ल्याएर सहयोग गर्ने विश्वासिलो कम्पनी यतिकेम हो  तर उसले पनि अब गाह्रो होला जस्तो भनिसक्यो । सरकारले छिटो निर्णय गर्नुपर्‍यो । औषधि आयातका लागि  अनुमति पत्र दिन ढिलाई गर्नु भएन ।’   उनले त्यसबेला भनेको भनाईले पनि यतिकेम प्रतिको विश्वास र भरोसा नेपाली चिकित्सकहरुमा कति गडेर बसेको छ भन्ने स्पष्ट हुन्छ ।

‘हाम्रो मुल कमाई नै यहि हो । विश्वास र भरोसा,’ प्रभुराजले आफ्नो व्यवसायिक सफलताको पहिलो राज दुई शब्दमै टुङ्ग्याए ।

‘हामीले कहिले पनि औषधि व्यावसायलाई अनाधिकृत रुपमा सञ्चालन गरेनौँ । खहरे भेल जसरी छोपेनौँ । व्यावसायीले लिने न्युनतम मार्जिनमा हामीले काम गर्‍यौं। मलाई त के लाग्छ भने हामीले नेपालीका लागि यहाँ नभएका औषधिहरु विदेशबाट झिकाएर सहज रुपमा उपलव्ध गराई सेवा दियौँ । लामो समय सबैको विश्वास र भरोसाका साथ व्यावसाय अघि बढाउँदै लैजाँदा पैसा पनि कमाइयो नै संगसंगै मान सम्मान पनि पाइयो । इष्टमित्र कमाईयो,’ उनी यतिकेमको सफलतालाई प्रस्तुत गर्ने क्रममा वैद्यले केही शब्द बुने ।
…………………………………………………………………………………

नेपालको औषधि आयातको क्षेत्रमा यतिकेम डिस्ट्रिब्युटर्स एउटा महत्वपूर्ण ब्राण्ड हो । यो ब्राण्ड यति सजिलै बनेको भने होइन ।
सफलताका लागि प्रभुराजले थालेको कामलाई ‘होष्टेमा हैसे’ गर्न भाई पृथ्वीराज जोडिए । उनी अहिले पनि प्रमुख भूमिकामा क्रियाशिल छन् ।

प्रभुराजसंग उनका भाई पृथ्वीराज

यस्तै औषधि क्षेत्रको व्यवसाय पनि सफल हुनसक्छ भनेर आफूलाई बाटो देखाई दिने आफ्ना स्वर्गीय पिता र दाईलाई प्रभुराज पलपल सम्झिन्छन् ।

‘उहाँहरु मात्रै होइन डाक्टर र इन्जिनियर तथा अन्य व्यवसायमा लागेका भाई बहिनीको साथ सहयोग पनि अमूल्य रहेको छ,’ वैद्य अगाडी थप्छन्, ‘रातदिन आफूलाई साथ दिने जीवन संगिनी डा. अचला वैद्य, लण्डन र अष्ट्रेलियामा रहेर चिकित्सा पेशा अंगालेका दुई छोरीको सपोर्ट पनि उत्तिकै छ ।’

हामी पहिले काठमाडौँ उपत्यकाकै रैथाने । पाटन मंगलबजार पछाडी चिकबैल च्यासलमा हाम्रो घर थियो । हामी वुद्धिष्ट हौँ । हाम्रो थर शाक्य हो । तर हाम्रो जिजु बाजेकै पाला देखि वैद्य काम  गर्नु हुँदो रहेछ । त्यहि पेशाको आधारमा  थर वैद्यमा परिणत भयो । उहिल्यै राणा र राजाहरुकै पालामा । त्यसैवेला देखि हामीले थर शाक्य नलेखि वैद्य लेख्न थालेका हौं रे,’ प्रभुराजले आफ्नो थरको राज खोले ।
……………………………………………………………………………..

मेरो बुबा कम्पाउण्डर हुनुहुन्थ्यो ।

पहिले पहिले बिरामीको उपचार गर्ने तीन खालका जनशक्ति हुन्थ्यो । डाक्टर, कम्पाउण्डर र ड्रेसर ।

‘डाक्टर त मुख्य भै हाल्यो ।  कम्पाउण्डर भनेको अहिलेको ‘प्यारामेडिक्स’ भन्या जस्तै हो । औषधि मिलाउने काम अर्थात डाक्टरले जाँच गरेपछि के औषधि दिने भनेर मिक्सचर गर्ने वा औषधि मिलाउने काम कम्पाउण्डरको हुन्थ्यो । ड्रेसर ले चाहि घाउ सफा गर्ने काम गर्दथ्यो । तर प्राक्टिसमा चाहि कम्पाउण्डरले बिरामी जाँच्ने देखि सबै काम गर्ने गर्दथ्ये । अहिलेको हेल्थ असिस्टेन्ट भनेको जस्तै लाग्छ,’ प्रभुराजले आफ्नो बुबाको बारेमा कुरा सुरु गरे ।

‘पहिले त मेरो बुबाले पनि वैद्य नै पढेको होईछ । वैद्यले आयुर्वेदिक पद्धतीबाट उपचार गर्ने । उपचारका लागि श्लोकहरुमा सुत्र (तरिका)हरु लेखिएको हुन्थ्यो सायद । बुबाले धेरै पछि सम्म पनि त्यो श्लोकहरु हामीलाई सुनाउनु हुन्थ्यो,’ उनले भने ।

‘बुबाको पालामा एलोपेथिक आधुनिक औषधि आईसकेको थियो । बिरामीको रोजाई पनि त्यसमा बढी देखिन थाल्यो । आकर्षण एलोपेथिकमा भएपछि बुवाले म पनि आधुनिक चिकित्सा तर्फ लाग्छु भनेर कम्पाउण्डर तर्फ लाग्नु भएको रहेछ । त्यसैले बुबालाई एलोपेथिक र आयुर्वेदिक दुवै विधाको ज्ञान थियो,’ प्रभुराजले  आफ्नो बुबाको इतिहास सुनाए ।

…………………………………………………………………………

प्रभुराजका बुबा ललितराज सरकारी जागिरे थिए । उनलाई यो पनि थाहा छ, बुबा जागिरको सिलसिलमा भैरहवा, तौलिहवा, वीरगञ्ज, तेह्रथुमको आठराई लगायतका ठाउँमा लामो समय बसेका थिए । धेरै ठाउँमा पुग्ने क्रमपछि अन्त्यमा हेटौंडा आएर ‘सेटल’ भएका हुन् ।

ललितराजले हेटौडामा औषधि पसल संगै क्लिनिक खोले । त्यसबेला कम्पाउण्डर पढेकाले औषधि राख्न तथा क्लिनिक खोल्न पनि पाउँथ्यो । केही समयमै हेटौडामा ललितराजले मार्केट एकपक्षीय पारे ।

‘मेरो आमाको नाम वेतिमाया । बुबाले बिरामी जाँचने आमाले औषधि दिने । आमा पढे लेखेको नभएपनि अनुभवले खारिएकोले बुबालाई सघाउनु हुँदो रहेछ,’ प्रभुराजले फेरी पुरानो प्रसंग कोट्याए ।

मलाई अझै पनि याद छ हाम्रो क्लिनिमा बिरामीहरुको विहान देखि बेलुकासम्म एकदमै भिडभाड हुन्थ्यो । हेटौडामा ललितराज कम्पाउण्डर भनेपछि बुबा चर्चित नै हुनुहुन्थ्यो,’ प्रभुराजले थपे ।

बुबाको स्वास्थ्य सेवामा देखिएको सफलता हामीले बच्चै देखि मनन् गर्दै आएका थियौँ । बुबाको सेवा गर्ने तरिकाबाट बिरामीहरु आकर्षित भएर नै त्यो हाम्रो क्लिनिक सफल थियो । त्यो सेवा गर्ने काम हामीले निरन्तरता दिनुपर्छ भन्ने सोच मेरो मनमा पहिले देखि नै थियो ।
………………………………………………………………………………..

कुराकानीको क्रममा प्रभुराजले आफ्नो पारिवारिक विषयमा पनि घुसाए ।

उनले अगाडी थपे, ‘मेरो बुबाको छ भाई छोरा र एक जना छोरी ।  हामी सबै सातै जना सन्तानलाई डाक्टर बनाउने बुबाको ईच्छा थियो । सोही अनुसार हामीलाई पढाउनु पनि भयो । किनभने हामी सातै जना साइन्समा ग्राजुएट्स हौँ । डाक्टर पढाउने भनेर नै बुबाले हामी सबैलाई साइन्स पढाएको हो । तर सबै डाक्टर बन्न सकेनौँ । म औषधि क्षेत्रमा लागेँ, मसंगै अर्को एउटा भाई पृथ्वीराज पनि यहि पेशामा सक्रिय छ । म परिवारको माइलो सदस्य हुँ । म भन्दा माथिको दाईको देहान्त भयो । उहाँ पनि औषधि क्षेत्रमै हुनुहुन्थ्यो । अर्को एक भाई प्रेमराज वैद्य भने डाक्टर बन्यो । उ कार्डियाक सर्जन हो,’ प्रभुराजले अगाडी थपे,  ‘दुई जना भाईहरु विदेश तिर सेटल भएका छन् । बहिनी अर्को व्यवसायमा छिन् ।’
…………………………………………………………………………..

सरकारी जागिरे ललितराज एक ठाउँमा बसेर सेवा गर्न पाएनन् । उनी कहिले कहाँ कहिले कहाँ सरुवा भएर जान्थे । संगसंगै प्रभुराज बुबाको हात समाएर पुग्दथे ।

‘बुबा आठराई जाँदा म चार वर्षको थिएँ । त्यहिबाट मेरो स्कुल शिक्षा प्रारम्भ भयो । त्यहाँ बुबा ५ वर्ष बस्नु भयो । म पनि त्यहि रहेर पढें । त्यसपछि बुबाको तौलिहवा सरुवा भयो । त्यसपछि वीरगञ्ज सरुवा भयो । त्यतै गएँ । त्यसपछि हेटौँडा आएर त्यहाँ चाहि मैले ८, ९ र १० कक्षा पढें,’। विद्यालय तहको शिक्षाबारेमा उनले सुनाए  ।

‘त्यसपछि आईएस्सी पढ्न म काठमाडौँ आएँ । आईएएसी मैले त्यो बेलामा पाटन कलेज भन्ने थियो । पाटन क्याम्पसबाट पुरा गरेँ । त्रि चन्द्र कलेजबाट मैले विएस्सी गरेँ । बीएस्सी पछि पनि डाक्टर पढ्न सकिन्छ भन्ने थियो तर भएन । त्यसपछि त्रिवि कीर्तिपुरबाट केमेस्ट्रीमा मास्टर्स गरेँ । केही वर्ष पछि म व्यापारमै लागेँ,’ आफ्नो पढाईबारेमा टुग्याए ।

………………………………………………………………………………….

‘म परिवारको माइलो छोरा । जेठो दाईले नि बीएस्सी गरेर बुबालाई नै सघाउनु भएको थियो । उहाँले यति ड्रग हाउस भनेर खोल्नु भयो । यो करिव २०४० साल तिरको कुरा हो । उहाँले रिटेल औषधि मात्रै होइन अत्याधुनिक उपकरणको सेवा दिने क्लिनिकको रुपमा समेत विकास गर्नु पर्छ भन्दै मलाई हेटौँडा बोलाउनु भयो । म गएपछि अब एक्सरे मेसिन किनेर सेवा दिउ भन्नु भयो । त्यसबेला निजी क्षेत्रबाट सञ्चालिन क्लिनिकमा एक्सरे मेसिन विरलै हुन्थ्यो । हेटौँडामा त एक्सरे मेसिन राख्ने हामी पहिलो नै थियौँ । हामीले त्यहाँ अहिलेको पोलिक्लिनिक जस्तो क्लिनिक खोलेका थियौँ,’ प्रभुराजले फेरी औषधि क्षेत्रमा प्रवेशको प्रशंग जोड्दै भने,
‘केही समय पछि पोलिक्लिनिकमा बस्नै मन लागेन ।’

उनले आफू अलि कति महत्वकांक्षी स्वभावको भएको समेत सुनाए । ‘रिटेल औषधि पसलमा निश्चित सिमा हुन्छ । तर म अलि धेरै काम गर्न रुचाउने व्यक्ति । सिमिततामा बाधिन नचाहने अलि महत्वाकांक्षी व्यक्ति । मैले खुद्रा औषधिको सिमितताबाट माथि उठ्नुपर्छ भनेर थोक औषधिमा हात हाल्ने निर्णय गरेँ । त्यसपछि हेटौँडाबाट औषधिको थोक व्यापार सुरु गरेँ । त्यसबेला हेटौँडाबाट दाङसम्म औषधि सप्लाई हुन्थ्यो । तर हेटौडा औद्योगिक क्षेत्र । मान्छे हेटौँडामा औषधि किन्न आउदैन थिए । म नै पसल पसलमा औषधि किनिदिनुहोस भन्दै जानु पर्दथ्यो । त्यसपछि हैटौडामा बसेर हुँदैन व्यावसाय नै गर्ने हो भने ठूलो ठाउँमा जानुपर्छ भन्ने लाग्यो । त्यसबेलाको ठूलो ठाउँ भनेको कि काठमाडौँ कि वीरगञ्ज जानु पर्दथ्यो । मैले आफ्नै पुरानै ठाउँ काठमाडौँ रोजेँ,’ उनले हेटौंडाबाट काठमाडौँ सिफ्ट भएको प्रशंग समेत जोडे ।

यतिकेमको नाम कसरी जुरयो ?
‘औषधिको क्षेत्रमा प्रभावशाली बनेको यतिकेमको नाम कसरी जुरयो ?’ कुराकानीको क्रममा सोधियो । उनले सो प्रशंग पनि रोचक ढंगले सुनाए ।

‘एमएस्सी गरेपछि पनि मैले जागिर खान्छु जस्तो लागेको थिएन । किनभने मेरो रुची व्यापारमै थियो । व्यापार नै गर्नुपर्छ भन्ने सोच थियो । त्यसैले एमएस्सी पढ्ने ताक नै मैले यति क्राफ्ट इन्टरनेशनल भनेर ह्याण्डीक्राफ्टको बिजनेश गर्दथें । इन्टरनेशनल मार्केट जाने योजना अनुसार मैले विदेशीले पनि चिन्न नाम भनेर यति राखेको थिएँ । विश्व बजारमा जाँदा नेपाललाई चिनाउन सजिलो पनि यति नै थियो भनेर यति क्राफ्ट इन्टरनेशनल राखिएको थियो । तर मैले यो विजनेश धेरै वर्ष चलाईन । दाईले हेटौडा बोलाईरहने गर्न थाल्नु भयो । त्यसपछि म हेटौडा नै गएँ, यो बिजनेश आफन्तको जिम्मा लगाईदिएँ ।

मैले यता यति क्राफ्ट इन्टरनेशनल राख्दा उता हेटौडामा पनि दाईले त्यहि यतिकै नाममो यति ड्रग हाउस भनेर राख्नु भएको थियो । पछि मैले यति ड्रग हाउसको बिस्तारित सेवाको रुपमा काठमाडौँमा यति केम भनेर नाम राखेको हो । यति पुरानै ब्राण्ड टिपेको हो केम शब्द केमस्ट्रीबाट तानिएको हो,’ वैद्यले कम्पनीको नामको राज पनि खोलिदिए ।

बजार आफूतिर खिच्न हामीले थालेको नयाँ पन

‘यतिकेम  विसं २०४४ साल बैशाख १ गते खोलेको हो । औषधि व्यावसायका लागि हामी काठमाडौँमा आँउदा केही अरु केही स्थापित व्यावसायी थिए । उनीहरुको एक छत्र बजारलाई आफूतिर ल्याउन कम्ता चुनौती थिएन,’ प्रभुराजले भने, ‘मैले अब मार्केट आफ्नो बनाउने जुक्ति खोज्न थालें ।’

प्रभुराजले मार्केट आफ्नो पक्षमा पार्न अरु भन्दा फरक चिज के गर्न सकिन्छ भनेर सोच्न थाले ।

‘काठमाडौँमा पहिले के चलन थियो भने औषधिको थोक व्यापार भनेपछि ३ बजे बन्द गर्ने थियो । होलसेलमा तीन वजेपछि औषधिको विलिङ हुदैनथ्यो । किनभने ३ देखि ५ बजेसम्म त्यो दिनको हिसावकिताव गरेर क्लोज गर्ने चलन थियो । यसले उपभोक्तालाई अफ्टेरो परिरहेको मैले बुझेको थिएँ । अनि हामीले यतिकेम ३ होइन ५ बजेसम्म विलिङ गर्न मिल्ने गरी सञ्चालन गरयौँ । ३ देखि ५ बजेसम्म त मानिसहरु आउने भए । त्यसपछि पनि सरकारी कार्यालयमा काम गर्ने कतिपय प्यारामेडिक्सहरु जो साझ विहान आफ्नै औषधि पसल वा केही काम गर्दथे उनीहरुले पाँच वजेपछि पनि केही ढिला हुन्छ एकै छिन खोलिदिनुस न है भन्दै भन्न थाले त्यसपछि हामीले साढे पाँच वजेसम्म खोल्ने निर्णय गरयौँ । जो अहिले पनि त्यहि समय छ,’ वैद्यले फरक सेवाबारे बताए ।

‘होलसेल औषधि बेच्नेहरुले औषधिहरुको एजेन्सी लिएको हुन्छ । तर मलाई के लाग्यो भने यो औषधि मात्रै होइन बिरामीको उपचारमा प्रयोग हुने अरु सामान जस्तै गज व्याण्ड थर्ममिटर, स्यानिटरी टावेल, वेवी पाउडर जस्ता अन्यचिज पनि चाहिन्छ भनेर सबै बेच्न थाल्यौँ । औषधि पसलेका लागि पनि यी सबै चाहिन्थ्यो । अमेरिका तिर पनि वान स्टप सपिङ भन्ने हुन्छ । मैले हामीकहाँ पनि वान स्टप बनाउछु भन्ने सोच राखेर त्यो अघि सारेको थिएँ । उपचारमा प्रयोग हुने सामान राखेको थिएँ । जव मूल्य अभिबृद्धि कर (भ्याट) आयो । सर्जिकलमा भ्याट लाग्न थाल्यो । औषधिमा चाहि भ्याट नलाग्ने । त्यसपछि हामीले सर्जिकल सामग्री हटायौँ ।’

‘ब्यापार गरेपछि पैसा त कमाउनै पर्छ । तर, मेरो सोच के थियो भने यस्तो काम गर कि जनतालाई राम्रो सेवा होस् । नेपालमा लाइफ सेभिङ औषधिको एकदमै कमि थियो । कसैले जिम्मेवारी नलिने, खोजेको बेलामा नपाउने अवस्था थियो । हामीले  लाइफ सेभिङ औषधिको लिष्ट निकाल्यौँ र ९० प्रतिशत औषधिहरु हामीले राख्यौँ । त्यसपछि लाइफ सेभिङ औषधि हामी कहाँ पाउँछ भनेर सबे अस्पतालहरुमा खबर गरिदियौँ । यसले हाम्रो राम्रो ब्राण्ड बन्यो । यस्ता औषधिहरु सबै विक्दैनथ्यो तर हामीले नागरिकको सेवाका लागि पनि ती खालका औषधिहरु ल्यायौँ । म धर्मका लागि मन्दिर नजाने मान्छे, कर्मलाई विश्वास गर्ने र कर्मलाई नै पुजा ठान्ने मान्छे । यो सेवा र यहि हो धर्म भन्ने लाग्थ्यो ।

यसले यतिकेमको परिचय बन्यो । कहि औषधि नपाए यतिकेममा पाउँछ भन्ने धेरैको बुझाई छ । त्यो विश्वास हामीले जगाएका छौँ ।

एमएस्सी गरेर पनि जागिर नखाको ?

प्रमुराजलाई एमएस्सी गरेपछि पनि जागिर नखाँदा कपितपय आफन्त र साथीभाईले अचम्म मान्दै जागिर खानका लागि आग्रह गर्दथे । तर उनलाई जागिर खाने रहर नै थिएन ।

‘मेरो पहिले देखि नै सोच के थियो भने, राम्रो काम गर्नु पर्‍यो । बिजनेश अलि साघुरो घेराबाट बाहिर उठेर बढाउँदै लैजाने र पैसा पनि कमाउनु पर्छ भन्ने थियो । त्यो बेला मैले एमएससी गरेपछि सरकारी जागिर सेक्सन अफिसरमा गएको भए तलव मासिक ४५० रुपैयाँ पाउँथे । त्यो पनि प्राविधिकलाई । अप्राविधिक तर्फ त्यो भन्दा पनि कमि थियो । मैले यो तलवले मैले कसरी गुजारा गरेर बस्ने ?’ भन्ने भयो ।

‘अर्को कुरा बुबाले सानै देखि के भन्नु हुन्थ्यो भने जे चिज गर्नुछ आफ्नो गर्ने । त्यो आफ्नो हुन्छ भन्ने । उहाँले भन्नुहुन्थ्यो कुनै पनि घरमा भाडामा बस्दा खेरी तिमिले लुगा झुण्डाउन किला ठोक्यौँ भने पनि भोलि घर खालि गर्नु पर्दा किला छोडेर जानुपर्छ तर यदि ठूलो घरमा भाडामा नबसी सानो झुपडी आफ्नै बनायौँ भने किला ठोके पनि त्यो किला सबै तिम्रो सम्पत्ती भयो । यस्ता कुराहरुले मेरो मनमा आफ्नो व्यापार गर्नुपर्छ भन्ने लाग्दथ्यो । मैले जागिर नखानुको कारण पनि त्यहि थियो । जागिर त आफ्नो भएन त । आफ्नै लागि काम गर्नुपर्छ । आफ्नै कम्पनी बढाउनु पर्छ भन्ने लाग्यो र सानै देखि बुवाले यो सोच राखिदिनु भएको थियो । त्यसैले पनि म यो आफ्नो बिजनेश अघि बढाउन पर्छ भनेर कस्सिए,’ जागिर नखानुको राज खोल्दै उनले विगत सम्झिए ।
…………………………………………………………………………………………….

‘औषधि व्यावसाय पैसा मात्रै कमाउने होइन सेवा पनि दिने क्षेत्र हो जस्तो लाग्छ ।

नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुँदा यतिकेमले केमबाट अघिल्लो दिन औषधिका लागि कर्मचारी विदेश पठाएर अर्को दिन आई प्रत्यारोपण गरिएको हो । म आफै पनि यसरी आकस्मिक रुपमा फ्लाइटमा जाने र औषधि लिएर आउने काम मैले सयौँ पटक गरेको छु । यस्ता धेरै इतिहास छ ।

‘हामीले मिर्गौला भन्दा अघि देखि नै क्यान्सरको औषधिहरु भित्र्याउन थालेका हौँ । क्यान्सर उपचारका लागि हामीले जहाँबाट पनि औषधि ल्याउँछौँ, औषधिकै कारण भन्दै बिरामीलाई बाहिर नपठाउनुहोला भनेर हामीले धेरै डाक्टर सावलाई विश्वास दिलायर काम गरेका थियौँ । हाम्रो कामले धेरै बिरामीहरु औषधिकै लागि विदेश जानु पर्ने बाध्यता हटेको थियो,’ उनी सम्झन्छन् ।

यसले पनि डाक्टरहरुको हामीप्रति विश्वास कायम रहेको हो जस्तो लाग्छ । त्यो भन्दा पनि डाक्टरहरुले विश्वास गर्नुको कारण हामीले कहिले पनि पैसा बढी लिएर औषधि बेचेनौँ । त्यसले विश्वास जगाएको छौँ जस्तो लाग्छ । बुवाले रातारात जागेर कसरी सेवा दिनुहुन्छ भन्ने हामीले देखेको थियौँ । त्यो लिगेसी म र पृथ्वीमा पनि थियो र छ,’ उनले भने ।

कोभिड – १९ का बेलामा महंगो पर्ने र विदेशबाट आयातित औषधि रेम्डेसिभिर र टोसलीजुमाव हामीले भारतमा भन्दा सस्तो मूल्यमा बिक्री गरेका थियौँ । यो एउटा उदाहरण मात्रै हो । हामीले भारत सहित एसियाका विभिन्न देश सहित अमेरिका तथा युरोपका कतिपय देशबाट औषधि भित्र्याएका छौँ भन्दै वैद्य भन्छन्, स्वीजरल्याण्ड जर्मनी, फ्रान्स, बेल्जियम, अमेरिका लगायतका देशबाट औषधि आउने गर्दछ ।

उनले यतिकेममा अहिले पनि हामीकहाँ ८० प्रतिशत लाइफ सेभिङ औषधि रहेको बताए ।
……………………………………………………………………………………..

चार दशक देखि औषधि व्यवसायमा सक्रिय प्रभुराज उ बेला र अहिले धेरै परिवर्तन भएको बताउँछन् । ‘धेरै परिवर्तन भएको छ । त्यो बेला औषधि पसल पनि धेरै कम थिए । औषधि ल्याउने कम्पनी पनि थोरै थियो । भारतमै पनि थोरै कम्पनीहरु थियो । थोरै कम्पनी भएकोले गुणस्तरमा अलि बढी ध्यान हुन्थ्यो सायद । व्यापारमा पनि अहिले जस्तो विकृति थिएन त्यसबेला,’ उनी भन्छन् ।

‘त्यो बेलो एक महिनाभरी औषधि सप्लाई गरेपछि अर्को महिना पैसा दिनुपर्छ भन्ने हुन्थ्यो, औषधि लिने खुद्रा विक्रेताहरु नै आएर पैसा दिनुहुन्थ्यो तर अहिले पैसा दिने कुरा नै हुन्न । त्यसबेला अहिलेको जस्तो डिल बोनसको पनि कुरा थिएन,’ उनी अझै स्पष्ट शव्दमा भन्छन्, ‘अहिले प्रतिस्पर्धा पनि बढेको छ र विकृति पनि बढेको छ । प्रतिस्पर्धा हुनु त राम्रो हो तर अस्वस्थ हुनु भएन ।’

उनले औषधिको व्यापार नघटेको तर रोगहरुको प्याट्रन बदलिएको पाएका छन् । ‘पहिले सरुवा रोग बढी हुन्थ्यो औषधि त्यहि खालका थिए अहिले नसर्ने रोग बढी देखिन थाल्यो औषधि पनि तिनै रोगका बढी आउने भयो,’ उनले भने ।
…………………………………………………………………………………………………

‘यतिकेमले औषधि व्यावसायबाट मनग्गे पैसा गरयो नि है ? हामीले यो प्रश्न सोध्दा उनी अलि गम्भीर बने र भने, ‘हो औषधि व्यावसायबाट यतिकेमले केही पैसा त कमायो नै । त्यो भन्दा भन्दा पनि बढी इज्जत कमायो जस्तो लाग्छ ।’

‘हामीले मार्जिन स्टाण्डर्डलाई नाघेर काम गरेको भए न पैसा न इज्यत हुन्थ्यो,’ उनले अगाडी थपे ।

‘यतिकेमले पैसा मात्रै कमाउन चाहेको भए १५ – १६ वर्षसम्म एन्टीक्यान्सरमा हाम्रै एकाधिकार थियो । खोपमा हाम्रै एकाधिकार थियो । लाइभसेभिङमा मेरो कम्पनीले मात्रै काम गर्दथ्यो । मिर्गौलामा मै मात्रै गर्दथें । छातीरोगमा पनि मैले मात्रै गर्दथें । जति पैसा लिए पनि हुन्थ्यो होला तर मैले त्यस्तो कहिले सोचिन । टाढाको कुरा किन गर्नु कोरोनाको समयमा मैले भारतमा भन्दा सस्तोमा टोसलीजुमाव उपलव्ध गराएँ । स्टाडन्र्ड मार्जिन राखेरै काम गरे । त्यो भन्दा बढी इज्यत कमाएँ ।
सबै व्यवसायमा इमान्दारिता हुनुपर्छ । एक दिन मर्नुपर्छ भन्ने सोचरै काम गर्दछौँ । यसले लङ टर्ममा धेरै नै फाइदा हुन्छ ।’ उनले आफ्नो अनभुव बताए ।

सामाजिक सेवामा सक्रिय उनी अस्पतालमा बिरामी तथा स्वास्थ्यकर्मी चड्न मिल्ने बस देखि उपचारमा प्रयोग हुने मेसिन डोनेसन दिएका छन् । ‘हामीले यहि समाजबाट कमाएको हो, हामीसंग भएका बेला र समाजलाई आवश्यकता परेका बेला केही योगदान गर्नुपर्छ भन्ने मेरो नीति हो,’ उनले भने । धर्मका लागि भनेर मन्दिर जान त्यति रहर लाग्दैन उनी भन्छन्, ‘तर बिरामीका लागि सहज रुपमा औषधि उपलव्ध गराउन सकियोस यहि नै ठूलो धर्म हो जस्तो लाग्छ ।’
………………………………………………………………………………………………….

नेपालको औषधि व्यावसायलाई सरकारको सहयोग कस्तो छ भनेर सोधेका थियौँ । प्रश्न पछि उनी एकछिन मुस्कुराए ।

अनि भने, के सहयोग भन्नु- के नभन्नु ।’

उनी रुचीसाथ प्रस्तुत भएनन् ।

एक छिन पछि उनले फेरी जोडे,  ‘अरु देशको तुलनामा धेरै नै कम छ । बंगालादेश र भारतको कुरा गर्दा हामी निकै पछाडी छौँ ।’

‘सरकारले औषधि व्यवस्था विभाग छ खडा गरेको छ तर त्यो विभाग समन्वयकारी सहयोगी हुन अझै सकेको छैन । नेपाली बिरामीका लागि हामीले विदेशका कम्पनीसंग कति हात जोडेर दुख गरेर औषधि ल्याउँछौँ तर दर्ता गर्ने बेलामा निकै नै दुख पाइन्छ,’ उनले तितो पोखे ।

‘रोस नोभाटिस स्वीजरल्याण्ड त्यो जमानामा ल्याएका थियौँ, नेपालको व्यापार उनीहरुको लागि अति नै नगन्य हो तर नेपालीका लागि पनि सेवा गर्नुपर्छ भनेर कन्भिन्स गरेर नै थोरै औषधि ल्याउन सकेका थियौँ तर दर्ता गर्ने बेलामा नविकरण गर्ने बेलामा भएको झन्झटका कारण सप्लाई गर्न नै बन्द गरिदिए । सानो व्यापार हुने ठाउँमा प्रकृया धेरै भयो, झन्झट धेरै भयो भनेर धेरै औषधि आउन नै बन्द गरिदिएको छ । यसले घाटा हाम्रै नेपाली बिरामीलाई पर्ने हो,’ उनले थप जोडे ।

………………………………………………………………………………..

‘तपाईँ सधै, जतिवेला पनि उस्तै फुर्तिलो, हसिलो उज्यालो देखिनु हुन्छ ? यसको खास राज के हो ?’ अन्तिममा हामीले सोध्यौँ ।

उनी त अहिले आर्ट अफ लिभिङ तिर पो लागेका रहेछन् । भने, म त अहिले अहिले आर्ट अफ लिभिङमा पनि लागेको छु । श्री श्री रविशंकर महाराज संग । म पहिले यस्तो विश्वास गर्दिनथे । मलाई अध्यात्म र धर्म फरक चिज हुन भन्ने थाहा थिएन ।

श्री श्री रवि शंकरले श्वास प्रश्वास प्रकृया मिलाउँदा मात्रै आफूलाई कसरी सुधार गर्नु सकिन्छ भनेर सुदर्शन क्रिया सिकाईदिनु भयो । यसमा लागेपछि म पुरै बदलिएको छु । यो अध्यात्ममा लागेपछि म मा धेरै परिवर्तन आयो । यो एक प्रकारको ध्यान नै हो ।

‘उहाँको प्रणायम र सुदर्शन क्रिया गर्दा दिमागलाई शान्त कसरी गराउँछ भन्ने हो । जव दिमाग शान्त हुन्छ सोचहरु पोजेटिभ आउँछ । म जहिले पोजेटिभ भावबाट काम गर्दछु ।

श्रीमती डा अचलासंग प्रभुराज

पहिले मैले अलि धेरै बेरसम्म काम गर्दा ५ – ६ वजेपछि थकाई लाग्दथ्यो । तर यो (आर्ट अफ लिभिङ) मा लागेर त्यसको ज्ञानलाई प्रयोग गर्न थालेपछि मलाई थकाई भन्ने लाग्नै छाड्यो । म भन्दा अघि देखि नै मेरो श्रीमति यसमा लागेकी हुन् । उनी त म भन्दा अझ तगडा छिन्,’ उनले अन्तिममा हास्दै भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *