कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने

२०८२ जेठ मसान्तभित्र कार्य सम्पन्न हुने

काठमाडौँ, २७ कात्तिक । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ । सोमबार (कार्तिक २६) महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक डा. पङ्कज रायले निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन कान्ति अस्पतालसंग सहकार्य गरेको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि काठमाडौँ महानगरले ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरबासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य भएको महानगरले जनाएको छ ।

यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडुलर अपरेसन थिएटरकै लागि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको छ । महानगर र स्वास्थ्य मन्त्रालयको बजेट मिलाएर कुल साढे ७ करोड रुपैयाँ यो परियोजनाका लागि उपलव्ध भएको कान्तिका डा विजय थापा बताउँछन् ।

के छ महानगरसंगको सम्झौँतामा  ?

सम्झौताबमोजिम अस्पतालले मोडुलर ओटि बनाउन लागतअनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ ।

लागत र ड्रइङ् डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ ।

सम्झौँतामा अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नु पर्ने उल्लेख छ । यस्तै निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनु पर्ने भनिएको छ ।

प्रचलित पद्धतिको पालना गरेर वेरुजु नहुने गरी काम गर्नु पर्नेछ । यसबाट कुनै प्रकारको वेरुजु देखिए यसलाई फस्र्योट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै अन्तिम लेखा परीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ ।

निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए ।

यस्तै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *