कडा रोगको उपचारमा पाइने आर्थिक सहयोग लिनका लागि सिफारिस पत्र बनाउन अब स्वास्थ्य निर्देशनालय पुग्न नपर्ने
दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले आफ्ना नागरिकलाई तीनवटा कडा रोगको उपचार दुई लाख रुपैयाँका दरले आर्थिक सुविधा दिने गरेको छ ।
प्रदेशमा सूचीकृत क्यान्सर अस्पतालमा गई उपचार गर्दा दुई लाख रुपैयाँसम्मको सोधभर्ना गरिदिने गरेको छ । यस्तै मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेरेका बिरामीहरुलाई सो उपचार गरेको आवश्यक कागजपत्र पेश गरेमा जीवननिर्वाहका लागि सहयोग भन्दै दुई लाख रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरिदिने गरेको छ ।
यसअघिसम्म सो आर्थिक सुविधा लिनका लागि प्रदेशका बिरामीले प्रदेशसंग सुचीकृत अस्पतालमा भर्ना भई उपचार गरेको पत्र, र स्थानीय पालिकाको सिफारिस पत्र समेत लिएर स्वास्थ्य निर्देशनालयमा जानुपर्ने बाध्यता थियो । तर अब भने निर्देशनालय पुग्न नपर्ने भएको छ । अब जिल्लामा रहेको स्वास्थ्य कार्यालयले तोकिएका आवश्यक कागजात भएपछि उपचार सुविधा सम्वन्धी पत्र बनाईदिने भएका छन् ।
मंगलबार बसेको प्रदेशमन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्दै बिरामीले आर्थिक सुविधा लिनका लागि सिफारिस पत्र बनाउन प्रदेश स्वास्थ्य निर्देशनालयमा जानु पर्ने बाध्यता हटाएको हो । सो काम अब लुम्बिनी प्रदेश भित्रका जिल्ला स्वास्थ्य कार्यालयहरुबाटै हुनेछ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८लाई संसोधन गर्दै सिफारिसका लागि स्वास्थ्य निर्देशनालय पुग्नुपर्ने बाध्यता हटाएको बताए । उनले संसोधित निर्देशिकामा मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ परिवर्तन गर्दा नै अस्पतालमा बुझाउनु पर्ने रकम नपुगेर माग गरेमा प्रदेश सरकारले तोकिएका अस्पतालमा हामी रकम उपलव्ध गराउँछौँ भनेर स्रोत सुचिश्चितता सम्वन्धि प्रतिवद्धता पत्र समेत बनाइदिने जानकारी दिए ।
‘यसले आम बिरामीलाई थप सुविधा प्राप्त हुने विश्वास छ,’ डा. उपाध्यायले भने ।
संघीय सरकारले मुटु, क्यान्सर सहित आठ वटा कडा रोगका लागि १ लाख रुपैयाँ दिने गरेको छ ।
लुम्बिनी प्रदेशका बिरामीहरुले संघीय सरकारको एक लाख रुपैयाँ र प्रदेश सरकारको दुई लाख गरी कुल तीन लाख रुपैयाँ उपचार सुविधामा प्रयोग गर्न पाइरहेका छन् ।
सम्पर्क इमेल : [email protected]