नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सञ्चालनमा
काठमाडौँ, १३ कात्तिक । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई स्ट्रोकको विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।
स्ट्रोक युनिटका लागि तालीम प्राप्त नर्सिङ सेवा देखि छुट्टै बेड, अपरेशन थिएटर, आईसियु र जाँच गर्ने ठाउँ छुट्याइएको मेडिसिटीले जनाएको छ । त्यस्तै यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्र्तराष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाईन तयार पारेका समेत उल्लेख गरेको छ ।
प्रोटोकल तथा गाइडलाईनमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी, तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, बिरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरुको व्यवस्था गरिएको छ ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका बिरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरुमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । “हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेका हौं ।”
स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्धारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्राकको बिरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पुर्याउँनु पर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ ।
न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा.बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका बिरामीहरुका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरु माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए ।
“स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरुको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ ।”
हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ ।
नेपाल मेडिसिटी अस्पतालमा सञ्चालनदेखि नै स्ट्रोकको उपचार गरिँदै आएको छ । अस्पतालमा दैनिक सरदर चार जना बिरामीहरु स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३००० मानिसहरुलाई स्ट्रोक हुने गरेको छ ।
“धेरै जसो विरामीहरु ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके बिरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यान देखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,” डा. पोखरेलले भने ।
विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
न्यूरो सर्जरी विभागका प्रमुख डा. गोपाल रमन शर्माका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । स्ट्रोक हुँदा हरेक एक मिनेटमा लाखौं नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ,’ उनले भने ।
स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै सम्भव नभएको डा. शर्मा बताउँछन् । उनी भन्छन्, “यसको लागि इस्केमिक स्ट्रोकमै विशेषज्ञता गरेका इन्र्टरभेन्सन न्यूरोसर्जन, न्यूरोलोजिस्ट, न्यूरोसर्जन, प्यारामेडिक्स्, क्रिटिकल केयरका क्लिनिसियन, एनेस्थेटिस, रेडियोलोजिस्ट र फिजियोथेरापिस्टहरुको संलग्नता रहन्छ ।
सम्पर्क इमेल : [email protected]