मूल्य समायोजन पछि सबै औषधिको मूल्य घट्ला ? औषधि व्यवसायी तथा उत्पादकहरुका प्रतिनिधि के भन्छन् ?

काठमाडौँ, १० कात्तिक । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार गरेको १०० दिने उपलव्धी सार्वजनिक समारोहमा औषधिको मूल्य समायोजनको विषयमा व्यक्त बिचार प्रतिप्रति औषधि व्यवसायीहरुले चासो व्यक्त गरेका छन् । उनीहरुले मन्त्री पौडेलको भनाई प्रति समेत मिश्रित प्रतिक्रिया दिएका छन् ।

अधिकांशले मूल्य समायोजन भनेको कुरा मूल्य घट्ने हो भनेर मन्त्रीले व्यक्त गरेको धारणा गलत रहेको बताएका छन् । कतिपयले भने मन्त्रीले समायोजनको कुरा उठाउँदा भावनामा बग्न पुगेको प्रतिक्रिया दिएका छन् ।

नेपाली हेल्थसंग कुरा गर्दै नेपाल औषधि उत्पादक संघ एपोनका अध्यक्ष महेश प्रधानले मूल्य समायोजन गर्न खोजेको कि मूल्य नियन्त्रण ? भनेर प्रश्न गरेका छन् । यस्तै नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)का अध्यक्ष प्रकाश खण्डेलवाल सबै औषधिको मूल्य आफू खुशी घटाउँदा त औषधि नआउन सक्छ भन्दै त्यसपछि जिम्मा कसले लिन्छ ?  भन्दै प्रतिप्रश्न तेर्स्याएका छन् ।

यता नेपाल औषधि आयातकर्ता संघ (मियान) का महासचिव पवन आचार्यले भने समायोजन पछि सबै औषधिको मूल्य घट्छ भनेर मन्त्री पौडेलले भावनामा बगेर कुरा गरेको बताएका छन् । ‘यथार्त यो हुनै नसक्ने कुरा हो उहाँले पक्कै भावनामा बगेर यस्तो कुरा गरेको हो । कहिले काँही बोल्दै जाने क्रममा यस्तो हुन्छ,’ उनले भने ।

हेरौँ औषधि क्षेत्रका व्यवसायी तथा उत्पादकहरुका प्रतिनिधिहरुले व्यक्त बिचार:

‘ औषधिको मूल्य नियन्त्रण गर्न खोजेको हो कि समायोजन ? स्पष्ट हुनुपर्छ’ 

महेश प्रधान – अध्यक्ष, नेपाल औषधि उत्पादक संघ (एपोन)

माननीय मन्त्री ज्यूले मूल्य समायोजनको विषयमा राखेको बिचार मैले पनि सुने, मेरो बिचारमा समायोजन भनेको सबै घट्छ नै भनेर त भन्न नमिल्ला । सबै बढ्छ भनेर पनि भन्न नमिल्ला । सबै घट्ने हो भने त्यसलाई मूल्य समायोजन होइन मूल्य नियन्त्रण भन्नु पर्छ होला । समायोजनमा त केही बढ्छ होला केही घटछ होला केही स्थिर नै पनि रहन्छ होला ।

अर्को कुरा घट्ने मात्रै भयो भने त उद्योग व्यवसायी मारा काम हुने भयो । बढ्ने मात्रै काम भयो भने पनि जनतामारा काम हुने भयो । तर यी दुबै पक्षलाई मिलाएर लैजान सकियो भने बल्ल त्यो मूल्य समायोजन हो भनेर बुझ्न सकिन्छ । होइन एउटै पक्षलाई मात्रै केन्द्रीत हो अझ भनौँ मन्त्रीले भने जस्तै सबै औषधिको मूल्य घट्ने मात्रै हो भन्ने हो भने समायोजन होइन मूल्य नियन्त्रण भन्नु पर्छ । जो कुरा वर्तमान अवस्थामा सम्भव छैन ।

त्यसैले मन्त्री ज्यू क्लियर हुनुपर्छ कि उहाँले गर्न खोजेको मूल्य नियन्त्रण हो कि समायोजन ?

 

‘सबै औषधिको मूल्य त घटाऔँ, तर औषधि आएन भने त्यसको जिम्मा पनि लिनुपर्छ’

प्रकाशकुमार खण्डेलवाल, अध्यक्ष – नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)

मन्त्री ज्यूको कुरा सुने पछि मेरो बिचारमा त के आयो भने संविधानमा नै स्वास्थ्य र शिक्षा जनताको मौलिक हक हो भनेर लेखेको छ । त्यसैले राज्यले संविधानमा उल्लेखित व्यवस्थालाई नघुमाईकन स्वास्थ्य अब पूर्ण रुपमा निशुल्क गरिदिए अझ राम्रो हुन्थ्यो । किन यो स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य आदि भनेर अल्झाईराख्नु परयो ?

कानून बनाउने सांसदहरु नै त्यसको कार्यान्वयन गर्र्नेे निकाय सरकारमा घुमिफिरि पुग्नु हुन्छ । त्यसैले सबै सरकारकै हातमा हुन्छ । मन्त्री ज्यूले यति भनिसकेपछि अब सबै औषधिको मूल्य निश्चित तोकि दिए राम्रो । अनि त्यसमा सबैको मूल्य घटाउन मन लागे घटाउनुहोस् । हामी त कम्पनीबाट औषधि ल्याएर बिक्री गर्ने पक्ष न परयौँ । सरकारले तोकेको मूल्यमा कम्पनीले उपलव्ध गरायो भने हामी ल्याउँला नत्र ल्याउँदैनौँ । कम्पनीले तोकेको मूल्य घटाएर ल्याउने क्षमता त हाम्रो छैन ।

सरकारले यो औषधि १० रुपैयाँमा विक्री गर भनेर तर उत्पादक तथा सप्लायर्सले ११ रुपैयाँ आफ्नै पर्छ भन्यो भने हामीले त ल्याउन सक्दैनौँ । त्यसको जिम्मा त सबै औषधिको मूल्य घटाउछु भन्ने मन्त्री र सरकारले लिनुपर्छ होला ।

त्यसैले,  मेरो सुझाव सस्तो लोकप्रियता कोही पनि नलागौँ ।

‘मन्त्री ज्यूले पक्कै पनि भावनामा बगेर बोलेको कुरा हो, यथार्तमा यस्तो हुँदैन’

पवन आचार्य, महासचिव – नेपाल औषधि आयातकर्ता संघ (मियान)

 मन्त्री ज्यू ले औषधिको मूल्यको विषयमा के गर्न सकिन्छ भनेर अध्ययन् गरी प्रतिवेदन पेश गर्न केही दिन अघि मात्रै समिति बनाउनु भएको छ । समिति बनाउनु आफैमा स्वागत योग्य कुरा हो । तर, बिहीबार उहाँले स्वास्थ्य मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा मूल्य समायोजन भनेको बढ्ने होइन घटने मात्रै हो भनेर जो भन्नु भएको छ यो उहाँले भावनामा बगेर बोलेको हो जस्तो लाग्छ ।

सुझाव समितिले सरोकारवालासंग बसेर छलफल गरेपछि जे निस्कर्ष निकाल्छ त्यसपछि बोलेको भए राम्रो हुन्थ्यो । यहाँ त्यो देखिएन ।

होइन, राज्यले जवरजस्ती सबै औषधिको मूल्य घटाउने योजना लिएको छ भने त्यो कार्यान्वयन गर्न सम्वभ छैन । त्यसलाई समायोजन पनि भनिदैन, बिशुद्ध राजनीतिक फण्डा भनिन्छ ।

हामी राज्यलाई सहयोग गर्न तयार नै छौँ तर, यसको मतलव यो होइन कि राज्यले जे बोल्दा पनि त्यसलाई स्विकार गर्नुपर्छ भन्ने । व्यापारीले ल्याएको सबै बढी हो भने सरकार आफैले ल्याए भयो त ।

त्यसैले म फेरी पनि भन्छु यो मन्त्री ज्यू पक्कै पनि भावनामा बगेर गरेको कुरा हो, यथार्थतामा यस्तो कुरा हुँदैन ।

‘औषधिको मूल्य समायोजन भनेको घट्ने मात्रै कुरा हो भनेर जसरी भाष्य निर्माण गरियो’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *