प्रत्यारोपण केन्द्रलाई दुई विषयमा क्लिनिकल फेलोसिप कार्यक्रम सञ्चालन गर्न अनुमति

भक्तपुर १० कात्तिक । मिर्गौला प्रत्यारोपणका लागि चर्चित सरकारी अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलको स्विकृति पछि केन्द्रले यसैवर्ष देखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एक जना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एक जनालाई गरी कुल दुई जनाका लागि एक वर्षे फेलोसिप कार्यक्रम सञ्चालन हुने बताए । उनले फेलोसिप कार्यक्रमका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ठूलो सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

‘हामी धेरै अघि देखि यो कार्यक्रम सञ्चालन गर्न खोजिरहेका थियौँ तर सफल भइरहेको थिएन । यसपटक भने माननीय स्वास्थ्य मन्त्री ज्यूको विशेष साथ सहयोगबाट यो सफल भयो,’ डा श्रेष्ठले भने ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले केन्द्रबाट पेश भएका कागजात र काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रमका लागि स्वीकृति प्रदान गरिएको बताए ।

त्यसो त बिरामीको अत्यधिक चाप हुने यस केन्द्रलाई प्रत्यारोपण सम्वन्धी विशेषज्ञ जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्न शैक्षिक प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्ने र शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्ने समेत माग उठने गरेको छ ।

निर्देशक डा.  श्रेष्ठ पनि फेलोसिम मात्रै नभई माथिल्ला खाले शैक्षिक कार्यक्रम एमडी/एमएस,  डीएम/एमसीएच लगायतका कार्यक्रम सञ्चालन गर्न चाहेको बताउँछन् ।

प्रत्यारोपण केन्द्र यतिवेला सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने सरकारी केन्द्रको रुपमा समेत परिचित छ । तर आफ्नै जग्गा नहुँदा सेवा प्रभाहमा समस्या पैदा हुने गरेको निर्देशक डा श्रेष्ठ बताउँछन् ।

बिहीबार १०० दिने उपलव्धी सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्री पौडेलले भने केन्द्रका लागि भक्तपुरकै सूर्य विनायकमा जग्गा प्राप्त हुने क्रम अघि बढेको भन्दै छिटै नै आफ्नै जग्गामा भवन बनाई सेवा बिस्तार गर्ने दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *