स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई पहिले आफ्नै अनुसन्धान गरेर समस्या पहिचान गरी अघि बढ्न सुझाव दिएका छन् ।

बिहीबार नेपाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनको रिपोर्ट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले भने, ‘पहिले आफ्नै रिसर्च गर्नुहोस, के गर्ने हो भन्ने कुरा छिटो डिटेल प्लान ल्याउनुहोस्, किन भने यहाँको के कस्ता समस्या छन्, कसरी जाँदा समाधान हुन्छ भन्ने कुरा तपाईँहरुलाई नै बढी थाहा छ ? त्यहाँबाट आउने प्रतिवेदनको कार्यान्व्यन हामी गर्छौ ।’

सो क्रममा मन्त्री पौडेलले मन्त्रालयको बजेट र योजना बनाउने कुरामा अनुसन्धान परिषद्को उपस्थिति आवश्यक भएको बताउदै नेपालको स्वास्थ्यको मार्गनिर्देश गर्ने अनुसन्धान गर्न सुझाए।

उनले धेरै औपचारिकतामा नलागी प्रक्रियामा अघि बढाउन र त्यसमा नीतिगत कार्यहरु गर्न समेत परिषद्का पदाधिकारीहरुलाई जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले परिषद्को मुख्य काम अनुसन्धानका लागि स्विकृति प्रदान गर्ने, ठिक छ कि छैन अनुगमन तथा निरीक्षण गर्नु हो भन्दै परिषद् आफैले अनुसन्धान गर्ने कार्यलाई रोक्न समेत सुझाव दिए ।

सो अवसरमा परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले स्वास्थ्य अनुसन्धान कार्यलाई प्राथमिकता दिएको आफ्नो संस्थाले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति तथा कार्ययोजना निर्माण गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । यस्तै उनले अनुसन्धानको कार्यलाई मापदण्ड अनुसार थप गुणस्तरीय बनाउन परिषद्को परिषद्ले आफ्नै भवन बनाउन थालेको र त्यसमा मन्त्रालयले विशेष सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्को स्थापना, यसले गरेका काम, जनशक्ति र पूर्वाधार साथै आवश्यक स्रोतको बारेमा समेत प्रस्तुतिकरण मार्फत मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *