सबै औषधिको मूल्य घटछ, स्वास्थ्य बीमा पाँच लाख बन्छ : स्वास्थ्य मन्त्री पौडेल

प्रदीप पौडेल – स्वास्थ्य मन्त्री

काठमाडौँ, ८ कात्तिक । बिहीबार १०० दिने उपलव्धी सार्वजनिक गर्ने क्रमको अन्त्यतिर स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुई वटा विषय आफ्नो प्राथमिकतामा रहेको जोड दिए । त्यसमा एउटा थियो औषधिको मूल्य समायोजन र अर्को स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने ।

मन्त्री पौडेलले १६ शीर्षकको आफ्ना उपलव्धी सार्वजनिक गरेपछिको प्रश्नोत्तर कार्यक्रमको अन्त्य तिर भने, ‘स्वास्थ्य बीमा र औषधिको मूल्य समायोजनको विषय मेरो मुख्य प्राथमिकताका विषय हुन्,’ उनले अझ जोड दिदै भने, ‘मेरो प्रतिवद्धता भयो बीमाको दायरा बढ्छ बढ्छ । ५ लाख रुपैयाँ पुग्छ पुग्छ ।’

मन्त्री पौडेलले यसअघि नै स्वास्थ्य बीमाको दायरा ५ लाख रुपैयाँ पुरयाउने बताएका थिए । तर त्यसबेला उनको घोषणाको कतिपयले आलोचना समेत गरेका थिए । आलोचना गर्नेहरुले १ लाख रुपैयाँकै कार्यक्रम राम्ररी सञ्चालन नभईरहेका बेला ५ लाख रुपैयाँको घोषणा पत्यारलाग्दो नभएको बताएका थिए ।

तर, बिहीबार मन्त्री पौडेलले ५ लाख पुर्‍याँउने घोषणा आफूले कार्यान्वयन गराएरै छाड्ने बताए । आफ्नो घोषणामा प्रधानमन्त्री केपी ओलीसमेत सकारात्मक रहेको उनले जानकारी दिए ।

‘५ लाख बनाउने विषयमा पहिले मन्त्रालयका सचिव ज्यू, अतिरिक्त सचिव ज्यूहरु समेतले एउटा मस्यौदा तयार गरिसक्नु भएको थियो । प्रधानमन्त्री ज्यूले यसमा केही कुरा छुटेका पनि हुनसक्छन्, अलि विस्तृत अध्ययन गरेर अघि बढाउनुहोस भन्नु भयो त्यसैले अहिले डा शम्भु आचार्यको संयोजकत्वमा समिति बनेर काम गरिरहेको छ । त्यसले स्वास्थ्य वीमालाई ५ लाख पु¥याउने सहितका विषयहरुलाई समेटेर राय सुझाव दिनेछ,’ मन्त्री पौडेलले भने ।

यस्तै उनले औषधिको मूल्य समायोजनको विषय पनि आफ्नो बहुतै प्राथमिकताको विषय रहेको भन्दै आफ्नै कार्यकालमा त्यो कार्यान्वयनमा आउने दावी गरे । ‘मूल्य समायोजन हुन्छ र सबै औषधिको मूल्य घट्छ । यो मेरो दावी हो । यसमा काम अघि बढीसकेको छ,’ उनले भने ।

त्यसअघि मन्त्री पौडेलले आफू आईसकेपछि स्वास्थ्य क्षेत्रमा केही न केही परिवर्तन भएको दावी गरे । ‘एकदमै भइसक्यो भन्न चाहन्न तर अस्पतालहरुको सेवामा केही न केही त परिवर्तन भएको छ । यति चाही दावि गर्छु,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *