स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा:

बागमती प्रदेशका नौं वटा सरकारी स्वास्थ्य संस्था पुरस्कृत

काठमाडौँ, ८ कात्तिक । स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणको आधारमा बागमती प्रदेशका नौं वटा सरकारी स्वास्थ्य संस्था पुरस्कृत भएका छन् ।

गत ५ देखि ७ कात्तिक सम्म हेटौंडामा चलेको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रमहरु ती संस्थाहरुलाई पुरस्कृत गरिएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाका अनुसार तोकिएका सूचकहरु तथा प्रस्तुतीकरणको मूल्यांकको आधारमा जनस्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अस्पतालहरुको छुट्टा छुट्टै मूल्यांकन गरिएको थियो ।

मूल्यांकनका क्रममा जनस्वास्थ्य कार्यालय तर्फ ७५.२४ अंकका साथ जनस्वास्थ्य कार्यालय ललितपुर प्रथम भएको छ । यस्तै ७३.५७ अंकका साथ जनस्वास्थ्य कार्यालय चितवन दोस्रो र ७२.४९ अंकका साथ जनस्वास्थ्य मकवानपुर तेस्रो भएको छ ।

यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तर्फ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर दोस्रो र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर तेस्रो भएको छ ।

यसैगरी अस्पतालहरु तर्फ भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल दोस्रो र मकवानपुर अस्पताल तेस्रो भएका छन् ।

यसअघि स्वास्थ्य संस्थाहरुको मूल्यांकन गर्न सागर घिमिरेको संयोजकत्वमा सात सदस्यीय मूल्यांकन टोली गठन गरिएको थियो । टोलीले स्वास्थ्य सेवाका तोकिएका सूचक तथा प्रस्तुतीकरणको समेत मूल्यांकन गरी पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

निर्देशक डा. झाले पुरस्कृत अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई पुरस्कार स्वरुप औषधि राख्न मिल्ने ५०० देखि ३०० लिटरका रेफ्रिजरेटर उपलव्ध गराइएको बताए । यस्तै पुरस्कृत जनस्वास्थ्य कार्यालयलाई प्रिन्टरहरु उपलव्ध गराउने निर्णय भएको बताए ।

समीक्षाको गोष्ठीको अन्तिम दिन संस्थाहरुलाई पुरस्कृत गर्न बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री किरण थापा, स्वास्थ्य सचिव बद्रीबहादुर खड्का र निर्देशनालयका निर्देशक डा झाले प्रशंसापत्र सहित सम्मान गरेका थिए ।

पुरस्कृत भएका जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले थप जिम्मेवारी बढेको भन्दै यसले काम गर्न उत्प्रेरित बनाएको समेत सुनाए । उनले टिमवर्कले सफलता पाएको भन्दै आफ्ना सहकर्मीहरुलाई धन्यवाद दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *