सुदूरपश्चिममा एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’

काठमाडौँ, ५ कात्तिक । सुदूरपश्चिम प्रदेशमा यस वर्ष एक हजार १ सय ३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार गत जनवरीदेखि अगस्तसम्म एक हजार १ सय ३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो ।

पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो ।

निर्देशनालयका अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ ।

जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’ लाग्ने गरेको जनाइएको छ । मुसालाई टोकेर किर्नाले ‘स्क्रब टाइफस’ को ब्याक्टेरिया लिने र मान्छेलाई टोकेर सो ब्याक्टेरिया सार्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘स्क्रब टाइफस’ बाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको जनाइएको छ ।

यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने लक्षण देखिने गर्छ । ‘स्क्रब टाइफस’ लागेमा बिरामीको समयमै उपचार नभए कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अङ्गमा सङ्क्रमण फैलिने र बिरामीको मृत्युसमेत हुने गरेको जनाइएको छ तर समयमै उपचार भएमा एक हप्तामै बिरामी निको हुने स्वास्थ्यकर्मीले जनाएका छन् ।

‘स्क्रब टाइफस’ बाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको बताइएको छ । यसै गरी घरवरिपरि सफा राख्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा, हातमा पन्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको निर्देशनालयले जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *