नि:शुल्क औषधि लिन आउने क्यान्सर बिरामीलाई यातायात खर्च पनि उपलव्ध गराउँदै ‘द म्याक्स फाउण्डेशन’

काठमाडौँ, ४ कात्तिक । विभिन्न खाले क्यान्सरका बिरामीलाई निशुल्क औषधि उपलव्ध गराएको ‘द म्याक्स फाउण्डेशन’ले उनीहरुलाई औषधि लिन आउँदा लाग्ने यातायात खर्च पनि दिन थालेको छ ।

फाउण्डेशनले गत जुन महिना देखि स्तन क्यान्सरका बिरामीहरुलाई औषधि लिन आउँदा लागेको यातायात खर्च उपलव्ध गराउन थालेको हो ।

फाउण्डेशनले यो सुविधा बिस्तारै निशुल्क औषधि सुविधा लिएका अन्य क्यान्सरका बिरामीलाई पनि उपलव्ध गराउने जनाएको छ ।

म्याक्सको जन्मजयन्ती मनाउने क्रममा शनिबार पाटन अस्पतालमा आयोजित बिरामीसंगको अन्तर्क्रिया कार्यक्रममा उनकी आमा एवं फाउण्डेशनकी संस्थापक सीईओ प्याट गार्सिया गोन्जालोजलेले बिरामीहरुलाई थप सुविधा प्रदान गर्न आफू र आफ्नो संस्था लागि परेको बताईन् । उनले भविस्यमा क्यान्सरका बिरामीका लागि थप औषधिसंगै सुविधाहरु थपिने बताईन् ।

फाउण्डेशनकी संस्थापक सीईओ प्याट गार्सिया गोन्जालोज

फाउण्डेशनको नेपाल कोअर्डिनेटर श्वेता अग्रवालले निशुल्क औषधि लिने बिरामीका लागि अस्पतालसम्म आउँदा लाग्ने यातायात खर्च दिन थालिएको बताईन् ।

‘अहिले हामीले स्तन क्यान्सरबाट सुरु गरेका छौँ । भविस्यमा यहाँबाट निशुल्क औषधि सुविधा लिएका अन्य क्यान्सरका बिरामीहरुलाई यो सुविधा प्राप्त हुनेछ,’ अग्रवालले भनिन् । उनले जुन महिनामा २ जनाबाट सुरु भएको यो सुविधा लिने यो महिना २० जना पुगेको बताईन् ।

‘औषधि लिन आउँदा लागेको यातायात खर्च, बस, जीप, ट्याक्सी वा प्लेन जे भए पनि टिकटको आधारमा त्यसको खर्च उपलव्ध गराउने हाम्रो नीति हो । सोही अनुसार सुरुवात भएको छ । टिकट पेश गरेपछि बिरामीको खातामा रकम सोधभर्ना गरिने छ,’ उनले सुविधाबारेमा जानकारी दिईन् ।

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीका अनुसार नेपालमा रक्त क्यान्सरमा सीएमएल सीएसएल, स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर, जीष्ट लगायतका विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने गुणस्तरीय तथा अति महंगा १३ प्रकारका औषधिहरु म्याक्स फाउण्डेशनले निशुल्क रुपमा वितरण गर्दै आएको छ ।

यसरी औषधि लिने बिरामीको संख्या नेपालमा झण्डै २ हजार पुगेको छ । सन् २००२ देखि नेपालमा सुरु भएको यो सुविधा अहिले पाटनसंगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन र भर्खरै मात्र सुशील कोइराला प्रखर क्यान्सर सेन्टर बाँकेबाट पनि उपलव्ध हुन थालेको छ ।

क्यान्सर उपचारकी ‘जीवित देवी’ नेपालमा, जसको सहयोगले दशौँ हजार बिरामी बाचिरहेका छन्

१७ वर्षको उमेर हुँदा सन् १९९१ मा छोरा म्याक्सिमिलियानो रिभालोभा (म्याक्स) को एक प्रकारको रक्त क्यान्सर (सीएमएल)बाट मृत्यु भएपछि ल्याटिन अमेरिकी परिवारले सन् १९९७ मा द म्याक्स फाउण्डेशनको स्थापना गरेका थिए । सो संस्थाले २००१ देखि न्युन तथा मध्यम आय भएका देशका क्यान्सर बिरामीलाई निशुल्क औषधि वितरण गर्न थालेको हो ।

अहिले फाउण्डेशनको सेवा संसारका ८३ देशमा पुगेको छ भने ३७ हजार बढी बिरामीले औषधि सुविधा लिईरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *