मुटुरोग रोकथामका लागि ध्यान दिनु पर्ने १० काम

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

विभिन्न अनुसन्धानहरुका अनुसार ९० प्रतिशत भन्दा बढी मुटुरोगको रोकथाम गर्न सकिन्छ । त्यो कसरी ? त्यसका लागि हामी अस्वस्थकर जीवनशैलीमा परिवर्तन गर्न सक्छौ, नियमित स्वास्थ्य जाँचमा ध्यान दिन्छौँ अनि आवश्यकता अनुसार औषधिको सेवन गर्न सक्छौँ ।

मुटुरोगबाट जोगिनका लागि उमेर अनुसार पनि प्राथमिकताका कार्य गर्न सकिन्छ । जस्तो कि तरुण युवा अवस्थाका व्यक्तिले नियमित शारीरिक व्यायम, खानपान लगायतमा ध्यान दिने र अस्वस्थकर जीवनशैलीमा परिवर्तन गरेर यसको जोखिम कम गर्न सक्छन् । यस्तै बयस्क र बृद्ध मानिसले नियमित जाँच पछि औषधिमा बढी प्राथमिकता दिनु पर्दछ । ती कुराहरुलाई अझ स्पष्ट रुपमा यहाँ उल्लेख गर्न चाहन्छु ।

१. एउटा स्वास्थ्य व्यक्तिले पनि कुनै रोग नै नभईकन र लक्षण नभईकन पनि नियमित अर्थात बर्षमा एक पटक दुईपटक स्वास्थ्य जाँच गर्नुपर्छ । जसमा उच्च रक्तचाप, कोलेस्टेरोल र मधुमेहको जाँच गर्न जरुरी हुन्छ ।

२. स्वास्थ्य जाँच गर्दा यदि कुनै स्वास्थ्य समस्या देखियो, जस्तो कि उच्च रक्तचाप, मधुमेह कोलेस्टेरोल छ भने जीवन शैलीले सक्दो नियन्त्रण गर्न सक्नु पर्दछ । सकिएन भने त्यसमा औषधि खान ढिलो गर्नु हुँदैन । यदि मुटुको समस्या छ मुटु रोगी हुनुहुन्छ भने नियमित स्वास्थ्य जाँचको संगसंगै औषधि नटुटाईकन, नविराईकन, डाक्टरको सल्लाह अनुसार निरन्तर खाई राख्नुपर्ने हुन्छ ।

३. धूमपान हृदयघातको सबैभन्दा प्रमुख कारक मध्येको एक हो । र धूमपान सेवन गर्ने व्यक्तिलाई कुनै न कुनै समय हृदयघात हुने सम्भावना प्रवल भएको कारणले समयमै चुरोट पूर्ण रुपले त्याग्न जरुरी हुन्छ । यो नभुलौँ एक दुईवटा चुरोटले पनि हृदयघात निम्त्याउन सक्छ ।

४. फास्टफुड जंकफुडले पनि रक्तचाप, मधुमेह र कोलेस्ट्रोल बढाउँदै मुटुरोगको जोखिम निम्त्याउने भएकोले सकेसम्म प्राकृतिक खाने कुरा खाउँ । प्रशोधन नगरिएको खानेकुरा खानु राम्रो हुन्छ । घरमा पकाईएका खानेकुरालाई सर्बोत्तम मानिन्छ ।

५.  नियमित व्यायम हुनु एकदम जरुरी छ । यसको बानी हुनुपर्छ । किशोर युवा अवस्था देखि नै यसको बानी लगाएको राम्रो । विश्व स्वास्थ्य संगठनका अनुसार हप्तामा ५ दिन कम्तिमा ३० मिनेट भन्दा बढी हिड्नु पर्छ । तर हाम्रो अनुभवमा एउटा स्वस्थ व्यक्तिले हप्तामा पाँच दिन एक घण्टा जति हिड्दा रिस्क फ्याक्टरहरुको राम्रो नियन्त्रण भएको हामी पाउँछौँ ।

६.  फलफुल र सागसब्जीको प्रयोग दिनमा तीन देखि पाँचपटक सम्म हुनुपर्छ । जतिबढी हामी ताजा फलफुल र सागसब्जीको प्रयोग गर्दछौँ मुटुरोगको जोखिम त्यति नै कम हुने अध्ययन् अनुसन्धानले देखाएको छ ।

७.  रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । यसको सेवनले मुुटु र अरु दीर्घको रोगको सम्भावना बढी हुने भएकोले रातो मासु कम गर्ने र मांसहारी व्यक्तिले पनि सकेसम्म सेतो मासुमा जोड दिने । माछा, नभुटी नतारेर वा कम तेलको प्रयोग गरी खानु स्वस्थकर मानिन्छ ।

८.  मुटुरोग बढाउन तनाव अर्को एउटा महत्वपूर्ण कारक हो । तनाव व्यवस्थापन गर्न सक्नुपर्छ । तनावले विभिन्न स्वास्थ्य समस्या, कोलेस्टेरोल, रक्तचाप तथा मधुमेह बढाउँछ । संगै मुटुरोगको जोखिम पनि बढाउने भएको कारणले तनावलाई व्यवस्थित गर्न सके जोखिम घटाउन सकिन्छ ।

९.  अत्यधिक मदिराको सेवन गर्नु पनि हुँदैन जसले मुटुमा क्लट बनेर हृदयघात हुने सम्भावना बढाउँछ । युवा अवस्थामा पनि अत्यधिक मदिराको सेवनले जोखिम निम्त्याएको कैयौँ केशहरु हामीले देखिराखेका हुन्छौँ ।

१०. व्यक्तिले आफ्नो भावना परिवर्तन गरेर रिसराग उत्तेजना र नकारात्मक सोचबाट आफूलाई जोगाउन सक्नुपर्छ । नकारात्मक भावनाले पनि पछि गएर मुटुमा नराम्रो असर गर्न सक्छ । र विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्ने अध्ययन अनुसन्धानले देखाएको छ ।

यी माथिका कुराहरु यदि हाम्रो जीवनमा लागू गर्न सकेमा अधिकांश मुटुरोगको जोखिमलाई घटाउन सकिन्छ । मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *