बाथ मुटुरोगबारे जागरण अभियान सञ्चालन गर्दै प्रतिष्ठान:

‘ईण्ड आरएचडी फण्ड’मा एकै दिन उठ्यो ३० लाख बढी सहयोग, पाण्डे दम्पत्तीको तर्फबाट २५ लाख रुपैयाँ

ईण्ड आरएचडी फण्डमा २५ लाख सहयोग गर्ने क्रममा तस्बीर खिचाउँदै पाण्डे दम्पत्ती र प्रतिष्ठानका पदाधिकारी

काठमाडौँ, १९ असोज ।  समयमै पत्ता लागेर उपचार गर्न सके बाथ मुटुरोग सत प्रतिशत निको हुनसक्छ । तर दुखको कुरा नेपालमा अहिले पनि बार्षिक एक हजार बढीले यहि रोगबाट ज्यान गुमाउने गरेका छन् ।

‘यसो हुनुको प्रमुख कारण जनचेतनाको कमी हो । स्क्रिनिङ गरिदैन, लक्षणबारे पनि जानकारी छैन् । रोगले च्यापिसकेपछि परीक्षण तथा उपचारका लागि पुग्दा धेरै ढिला भइसकेको हुन्छ,’ बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन्, ‘बाथ मुटुरोगको अपरेसनबाट उपचार गर्न राज्यले वर्षमा ३० करोड रूपैयाँ खर्च गर्छ तर बाथ मुटु रोग हुनै नदिन अथवा अपरेसन गर्नु पर्ने अवस्थामा ल्याउनै नदिनका लागि एक डेढ करोड लगानी गर्दैन ।’

मुटुरोग उपचार तथा नियन्त्रणका लागि विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले बालबालिकाको समस्याको रुपमा देखा परेको बाथ मुटुरोग नियन्त्रणमा पनि विशेष अभियान सञ्चालन गरेको छ ।

प्रतिष्ठानले अभियान मात्रै होइन, सन् २०३० सम्ममा नेपालबाट बाथ मुटुरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

बाथ मुटुरोगले बालबालिकाको भल्भ विकारेपछि शल्यक्रिया गर्न सरकारले सुविधा दिएको छ तर रोग लाग्नै नदिनका लागि चाल्नु पर्ने गतिविधिमा त्यति ध्यान दिएको छैन । प्रतिष्ठानको कार्यक्रम निर्देशक तथा बाथमुटुरोग विरुद्धका अभियन्ता डा रेग्मी भन्छन्, ‘त्यसका लागि हामीले केही कदम चाल्ने निर्णय गरेका छौँ । त्यसको सबैभन्दा प्रमुख र पहिलो काम बाथ मुटुरोगबारे जनचेतना अभिबृद्धि गर्ने ।’

त्यसो त प्रतिष्ठानबाट विभिन्न जिल्लाहरुमा मुटु स्वास्थ्य शिविर लिएर पुग्दा चिकित्सकहरुले परीक्षण र उपचार मात्रै होइन, रोकथामका उपायबारे पनि प्रशिक्षण दिने गरेका छन् । तर बाथमुटुरोगबारेको जागरण त्यतिले मात्रै पुग्दैन । डा. रेग्मी भन्छन्, ‘यसका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । अनि त्यसका थप स्रोत त चाहियो, अब के गर्ने ? त्यसपछि जन्मियो ईण्ड आरएचडी फण्ड अर्थात बाथमुटुरोग उन्मुलन कोष ।’

प्रतिष्ठानले अघिल्लो वर्ष यो कोष स्थापना गर्दा सुभेच्छुकको सहयोगबाट एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य राखेको थियो । यो लक्ष्य सजिलै पुरा भयो । तर कोषको रकम बैंकमा राखेर आउने व्याजबाट कार्यक्रम गर्ने योजनामा रहेको प्रतिष्ठान जब बैंकहरुले व्याजदर ह्वात्तै घटाएपछि गम्भीर संकटमा पर्न थाल्यो । यसपटकको विश्व मुटु दिवसको अवसरमा प्रतिष्ठानले कोषमा थप दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गर्‍यो । डा रेग्मीले शुक्रबार सो घोषणा गरेको केही क्षणमै तीस लाख बढी रकम उठेको बताए ।

कोषमा आरआर पाण्डेको जोडीले गर्‍यो २५ लाख सहयोग
७० वर्ष अघि नै बाथ मुटुरोगबाट ग्रसित चन्द्रलेखा पाण्डे शुक्रबार कार्यक्रममा सहभागी हुन श्रीमान् रबिन्द्रराज पाण्डेसंग बखुण्डोल आइपुगेकी थिईन । उनले केही दिन अघि नै थाहा पाएकी थिईन् बाथ मुटुरोग सचेतना अभियानका लागि नयाँ ‘टार्गेट’का साथ सहयोग आव्हान हुनेछ ।

त्यसैले २५ लाख रुपैयाँको चेक तयार गरेरै आएका थिए पाण्डे दम्पत्ती ।

जब डाक्टर रेग्मीले सो घोषणा गरे, दम्पत्तीले प्रतिष्ठानका महासचिव कोमलप्रसाद घिमिरेलाई चेक हस्तान्तरण गरेँ । चन्द्रलेखाले ७० वर्ष अघि आफूलाई बाथ मुटुरोग लाग्दा नेपालमा रोग नै पत्ता नलागी भारतको कलकत्ता पुग्नुपर्नेको भोगाई उनले सुनाईन् ।

‘अबको पुस्ताले रोगबारेमा समयमै जानकारी होस् । उपचार बारेमा जानकारी होस र कसैले दुख नपाओस भनेरै यो रकम सहयोग गरेकी हुँ,’ चन्द्र लेखाले भनिन् । श्रीमान् आरआर पाण्डेले आफ्नो श्रीमतीले सानैमा पाएको दुख र उनको उपचारमा त्यसबेला सम्लग्न स्वर्गीय आमा हेमलता प्रधानको नाममा रकम जम्मा गरेको बताए ।

दान गर्न सधै अघि सर्ने पद्मोदय भेट्रान्स क्लव चौथो पटक सहयोग

पद्मोदय हाइस्कुलबाट एसएलसी गरेका साथी भाई मिलेर खोलेको एउटा क्लव छ पदमोदय भेट्रान्स क्लव । जसको सदस्य स्वयं डा रेग्मी पनि हुन् । सो क्लवले मुटुरोग निवारण तथा बाथ मुटुरोगविरुद्धको अभियानमा सहयोग गर्न जहिल्यै अघि सर्छ ।

शुक्रबारको कार्यक्रममा पनि सो क्लवले १ लाख ५ हजार रुपैयाँ नगदै सहयोग गर्‍यो । इण्ड आरएचडी फण्डको एक करोड जम्मा गर्ने घोषणा हुँदा अघिल्लो पटक पनि यो क्लवले तीन पटक गरी १२ लाख ५० हजार रकम बुझाईसकेको छ ।

शुक्रबार १ लाख ५ हजार रकम बुझाउँदै गर्दा क्लवका सदस्यहरुले आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका थिए ।

दृष्टिविहीन बासुदेव अधिकारीको २१ हजार सहयोग
दृष्टिविहीन बासुदेव अधिकारी दृष्टिविहीनहरुको संस्था ब्राइटस्टार सोसाइटीसंग आवद्ध छन् । उनी पनि बाथ मुटुरोग विरुद्धको अभियानमा मन देखि नै जोडिन चाहन्छन् । शुक्रबारको कार्यक्रममा उनले पनि २१ हजार रुपैयाँ सहयोग गरे ।

‘हामीले दृष्टिविहीनहरुलाई कमजोर ठान्छौँ, परनिर्भर व्यक्ति भन्छौँ तर उहाँ कस्तो बलियो मान्छे, यसअघि पनि उहाँले कोषमा ४० हजार सहयोग गरिसक्नु भएको छ । अहिले पुन २१ हजार सहयोग,’ डा रेग्मीले त्यसो भन्दा अधिकारीले आफू बाचुन्जेलसम्म प्रतिष्ठानलाई बार्षिक २१ हजार रकम सहयोग गर्दै जाने समेत घोषणा गरे ।

अनि घोषणाको लर्को चल्यो……

पाण्डे दम्पत्ती, पद्मोदय भेट्रान्स र बासुदेव अधिकारीले रकम हस्तान्तरण गरेपछि पहल फाउण्डेशनका पुष्पमान श्रेष्ठले हात उठाएर भने ‘मेरो तर्फबाट ५ हजार रुपैयाँ सहयोग ।’

उनी नबस्दै अर्को कुनाबाट हात उठ्यो र आवाज आयो मेरो दश हजार रुपैयाँ । त्यसरी घोषणा गर्ने व्यक्ति थिईन विजयालक्ष्मी शाक्य ।

शाक्य बस्न नपाउँदै मिथिला राजवंशीले झन् धेरै रुपैयाँ सहयोग गर्ने घोषणा गर्र्दै भनिन् मेरो तर्फबाट ५० हजार रुपैयाँ ।

उनी बस्न नपाउँदै फेरी अर्को कुनाबाट निर्मला श्रेष्ठको घोषणा आयो मैले १ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउँछु ।

त्यसपछि एक्कै छिन माहोल शान्त देखियो ।

तर फेरी अर्को साइडबाट हात उठ्यो र आवाज आयो मैले यो कोषमा व्यक्तिगत तर्फबाट २ लाख सहयोग गर्ने प्रतिवद्धता जनाउँछु । त्यसरी घोषणा गर्ने व्यक्ति थिएँ कमल न्याच्छों ।

‘एक पछि अर्कोले घोषणा गर्दा शुक्रबार नै ३० लाख २ हजार रुपैयाँको हिसाव आएको छ । यो राम्रो सुरुवात हो । हाम्रो सहयोग मनहरुले एक वर्ष नपुग्दै हाम्रो नयाँ टार्गेट पुरा गरिदिनुहुनेछ,’ सहयोग र घोषणाले हौसिएका डा. रेग्मीले उत्साहित हुँदै अन्त्यमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *