स्वास्थ्य बीमा बोर्डको पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

काठमाडौँ, १८ असोज ।  स्वास्थ्य बीमा बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । पछिल्लो समय ‘हिड्दा हिड्दै बाटो भुलेको’ जस्तो अवस्थामा पुगेको बोर्डले केही वर्षको तयारी पछि ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१/८२ – २०८६/८७’ ल्याएको हो ।

नयाँ रणनीतिले बीमा बोर्ड अबको ५ वर्ष कसरी अघि बढ्छ भन्नेबारेमा जानकारी दिने बताइएको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले गत १५ साउनको बैठकले ५ वर्षे स्वास्थ्य बीमा रणनीति मार्गचित्र पास गरेको बताए ।

‘हामी र स्वास्थ्य मन्त्रालयको आरआईआई टिम मिलेर पछिल्लो डेढ दुई वर्ष देखि गराईरहेको डकुमेन्ट हो । यसपटक यसलाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याइएको छ । यहि रोडम्याप (मार्गचित्र) अनुसार बीमा बोर्डले आफ्ना गतिविधि अघि बढाउनेछ,’ उनले भने ।

विसं २०७२ सालमा पहिलो पटक कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य वीमा कार्यक्रम अहिले देशव्यापी बनेको छ । तर यसको सेवाको प्रभावकारिताको बारेमा भने धेरै प्रश्न उठ्ने गरेको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म जममा ८१ लाख १४ हजार ५९४ जना (२८ प्रतिशत) नागरिक र २५ लाख १४ हजार २२० (३८ प्रतिशत) परिवार आवद्ध भएका छन् । तर नबीकरण भने ६२ प्रतिशत मात्रै भएको छ । वीमा गरेका मध्ये ४८ प्रतिशतले मात्रै स्वास्थ्य बीमामार्फत सेवा लिएको बताइएको छ ।

मार्गचित्रमा सेवा प्रदायक संस्थाले नियमानुसार सेवा प्रभाह गर्न नसक्दा औचित्यपूर्ण रोगको निदान, उपचार र प्रेषणमा समस्या देखिन थालेको बताइएको छ । यस्तै हरेक दिन करीव ३० हजार दावीहरु प्रविष्ट हुने र तर ८ देखि १० हजार मात्रै परीक्षण गर्न सक्ने क्षमता भएकोले पनि सेवाप्रदायकलार्य समयमा शोधभर्ना गर्न कठिनाई भइरहेको बताइएको छ ।

स्वास्थ्य बीमाका लागि अहिले प्रतिपरिवार (पाँच जना) का लागि ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्नुपर्छ । यसले १ लाख रुपैयाँसम्मको उपचार हुने छ । तर पछिल्लो समय सरकारीमा १० प्रतिशत र निजीमा २० प्रतिशत सहभुक्तानीको रुपमा तिर्नुपर्ने व्यवस्था थपिएको छ ।

हाल सुविधा थैलीमा १५२ प्रकारका प्रयोगशाला परीक्षण, ७२ प्रकारका इमेजिङ सेवा, १०२ प्रकारका मेडिकल उपचार विधि, ३६ प्रकारका मुटुरोग सम्वन्धि उपचार विधि, ९१५ प्रकारका सर्जिकल उपचार, ४३ प्रकारका शल्यक्रियामा प्रयोग हुने सामग्रीहरु समावेश छ ।

यस्तै सुविधा थैलीमा ११०८ प्रकारका एलोप्याथिक औषधि तथा औषधिजन्य सामग्रीहरु र २५ प्रकारका आयुर्वेद तथा बैकल्पिक चिकित्सासंग सम्वन्धित औषधिहरु समावेश गरिएको मार्गचित्रको विवरणमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *