सधै उत्कृष्ठ बर्दिया अस्पताल

compressed

दाङ, १७ असोज । केही वर्ष अघिसम्म बर्दिया अस्पतालको पहिचान सरकारको प्रतिनिधित्व गर्ने तर जिल्लाको एउटा सामान्य अस्पतालको रुपमा थियो । अहिले भने उसले आफ्नो परिचय बदलेको छ ।  पछिल्लो पाँच वर्षमा उसले एक पटक दोस्रो बाहेक सधै प्रथम बनेको छ ।

प्रदेश मातहतमा रहेका लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रथम भयो । स्वास्थ्य निर्देशनालयको आयोजनामा बुधबार सम्पन्न प्रदेशस्तरीय बार्षिक समीक्षामा ७२.४२ प्रतिशत अंक हासिल गरी प्रथम भएको हो । यसअघि आर्थिक वर्ष ०७६/७७, ०७७/७८ र ७९/८० मा पनि यसैगरी प्रथम स्थान हासिल गरेको थियो । आर्थिक वर्ष ०७८/७९ मा मात्रै दोस्रो स्थान भएको हो ।

‘स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य-मुख्य सूचकांकहरुको आधारमा गरिएको मूल्यांकनमा प्रदेश मातहत अन्तर्गत रहेका अस्पतालहरु मध्ये यसपटक पनि हामी प्रथम भएका हौँ,’ खुशी भावमा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा सुवास पाण्डेयले भने ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारहरुमा बर्दिया अस्पताल सधै नै अगाडी छ ।

‘हाम्रो विशेषता पछिल्ला वर्षहरुमा बेरुजु सून्य छ, आर्थिक पारदर्शिता कायम गरिएको छ, र सबैभन्दा महत्वपूर्ण कुरा टीमवर्क छ । ५० शय्याको अस्पतालमा प्रयाप्त दरबन्दी त छैन तर जति छौँ उत्साहका साथ काम गर्ने गरेका छौँ । हामीले अहिले ५० शय्याको स्वीकृति भए पनि ७५ शय्याको सेवा दिईरहेका छौँ,’ सफलताको राज खोल्दै मेसु डा. पाण्डेयले भने ।

उनले अस्पताल सफल बनाउनका लागि नेतृत्वलाई केही समय दिनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारी अस्पतालहरु राम्ररी पिकअप लिन नसक्नुका कारण छिटो छिटो प्रमुखहरु परिवर्तन गर्दा पनि हो जस्तो लाग्छ । यहाँ म अलि लामो समय देखि रहेको छु र मैले मजाले योजना बनाएर एउटा लक्ष्यका साथ अस्पताललाई नेतृत्व गर्दै आएको छु ।’

डा पाण्डेयले अस्पतालका प्रमुख भइसकेपछि म्यानेजरको भूमिकामा पनि उत्तिकै दख्खल हुनु पर्ने भन्दै ऐन नीतिका कुराहरुमा पनि उत्तिकै जानकार रहँदा काम गर्न सजिलो र सफल भईने बताए ।

बर्दिया अस्पतालले गत आर्थिक वर्षमा १ लाख १९ हजार बिरामीलाई सेवा दिएको छ । त्यसमा ११ हजार बढी आकस्मिक, नयाँ ओपिडी ४६ हजार र करीव ४ हजार भर्ना भएर उपचार सेवा लिएका छन् । यसैगरी सुत्केरी १ हजार ५००, पोष्टमार्टम २००, ओसीएमसीबाट २१० जनाले सेवा लिएको डा. पाण्डेयले बताए । उनले विदाका दिन बाहेक अस्पतालमा दैनिक औषत ४५० बढी बिरामी आउने गरेको समेत सुनाए ।

बर्दिया अस्पतालमा अरु सेवासंगै डायलासिस र सिकल सेल इनिमियाको समेत सेवा रहेको छ ।

आफ्नो अस्पतालमा आउने बिरामीमध्ये करीव ५० प्रतिशत स्वास्थ्य बीमाका बिरामीहरु हुने गरेका छन् । तर स्वास्थ्य बीमा बोर्डले लामो समय देखि सोधभर्ना नदिदा अस्पताल सञ्चालनमा निकै नै मर्का परेको गुनासो उनी गर्दछन् । बीमा मात्रै होइन ८० वटा कडा रोगका लागि दिईने सोधभर्ना रकम समेत लामो समय देखि रोकिदा अस्पताल सञ्चालन गर्न निकै कठिन भएको बताउँछन् । ‘हामीले उकृष्ठ सेवा दिएरै देखाएका छौँ तर हामीलाई त्यसरी सेवा दिनका लागि सहज बातावरण बनिदियो भने अझ उत्कृष्ठता प्रदर्शन गर्न सक्थ्यौँ । केन्द्रले यो कुरा बुझिदेओस,’ उनले गुनासो पोखे ।

बुधबारको समीक्षामा बर्दिया अस्पताल प्रथम हुँदा लुम्विनी प्रादेशिक अस्पताल ६८।०९ प्रतिशत अंक ल्याएर दोस्रो र अर्घाखाँची अस्पताल ६३।५४ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *