‘वाकिङ डेंगी’ ब्यापक ! जटिलता देखिन लाग्यो भनेर कसरी थाहा पाउने ?

‘ओहो कस्तो जिउ दुखेको ! अस्ति ज्वरो पनि आएको थियो, खाना पनि त्यति रुचि छैन के भएको होला ?’ हिजो आज साथीभाई समकक्षी वा छिमेकीहरुले भेटघाट हुँदा भन्ने गरेको व्यापक सुनिन थालेको छ ।

तर, उनीहरुले आफ्नो कामकाज वा दैनिकीलाई सकि नसकी निरन्तरता दिईरहेका हुन्छन् । संक्रमण पुष्टि भईसक्दा घरमा आराम गर्नुको सट्टा  उनीहरु आफ्ना नियमित काम र दैनिकीलाई निरन्तरता दिईरहेका हुन्छन् ।

यो अवस्थालाई मैले ‘वाकिङ डेंगी’ भन्ने गरेको छु । अहिले अस्पतालमा दैनिक दर्जनौ बिरामी आउने वा भर्ना हुने गरेको भएता पनि ‘वाकिङ डेंगी’का बिरामीको संख्या भने त्यो भन्दा कैयौँ गुणा बढी हुने अनुमान गर्न सकिन्छ ।

डेंगी संक्रमणमा परेको भएता पनि प्रयोगशाला परीक्षण नगर्ने भएकोले ‘वाकिङ डेंगी’को यकिन तथ्यांक भने आउने सम्भावना कम रहन्छ । तर उनीहरुले आफूमा कस्ता लक्षणहरु देखिए डेंगीको जटिल अवस्था आउन सक्छ भन्ने हेक्का अवश्य राख्नु पर्दछ ।

सन् २०२२ मा अधिकांश ‘वाकिङ डेंगी’का बिरामीले जटिलता देखिनुपूर्व आउने लक्षणहरुको बारेमा थाहा नहुँदा वा बेवास्ता गर्दा धेरै व्यक्तिले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नु गरेको वा कतिपयले मृत्युबरण नै गर्नु परेको अवस्था थियो।

कुन अवस्थामा कडा वा जटिल डेंगी हो भनेर पूर्वानुमान गर्ने ?

डेंगी संक्रमित हुने बित्तिकै अस्पताल भर्ना नै हुनुपर्छ भन्ने हुँदैन । सम्भवत हाल धेरै संक्रमण पुष्टि भएका वा डेंगी जस्तो लक्षण सहितका बिरामीहरु घरमा नै आराम गरिरहेको हुनुपर्दछ। तर यस्तो अवस्थामा चिकित्सकको सम्पर्कमा भने रहिरहुनुपर्ने हुन्छ।

बिशेषत उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोग भएकाहरु चिकित्सकको विशेष निगरानीमा रहनु पर्दछ।

सन् २०२२ मा अधिकांश मृत्यु हुने संक्रमितमा पनि उच्च रक्तचाप र मधुमेहका बिरामीहरु देखिन्छन।

यी बाहेक संक्रमितमा केहि लक्षण वा स्वास्थ्य समस्याहरु देखिए त्यो जटिल डेंगीको पूर्व संकेतको रुपमा लिनु पर्दछ। यसलाई ‘डेंगी वार्निङ साइन’ पनि भनिन्छ।

हामीले डेंगी पुष्टि भएका बिरामीहरुका फलो अप गर्दा ‘डेंगी वार्निङ साइन’को बारेमा बुझाएर पठाउने गर्दछौँ । ‘डेंगी वार्निङ साइन’का केही लक्षणहरु घरमा बसेको बेला थाहा पाउन सक्दछौ भने केहि अस्पताल जाँच पडताल पछि थाहा पाउँदछौँ ।

लक्षणहरु र गर्नु पर्ने सावधानी :

तारन्तार बान्ता (बिशेषत रगत बान्ता) हुनु, कमजोर भएर ढल्ला जस्तो हुनु, असाध्य पेट दुख्नु, नाक वा गिजाबाट रगत बग्नु जस्ता स्वास्थ समस्या घरमा बस्दा नै थाहा हुन्छ भने अस्पताल गएपछि परीक्षण गर्दा रगतमा प्लेटलेट्स तिब्र गतिमा घटेको देख्नु, हेमाटोक्रिट्स बढ्नु, छाती वा पेटमा पानी वा तरल पदार्थ देखिनु र कलेजोको आकार बढ्नु वा सुन्निनु ‘डेंगी वार्निङ साइन’का संकेतहरु हुन्।

यस्तो अवस्थामा चिकित्सकको परामर्श अनिवार्य हुनेछ। त्यस्तै बिगतमा पनि डेंगी संक्रमित भइसकेको हो र त्यो दुई बर्ष भइसकेको हो भने डेंगीको लक्षण कडा हुनसक्ने सम्भावना रहन्छ।

ज्वरो आउनु, शरीर असाध्य दुख्नु, आँखाको गेडी दुख्नु र खस्ला जस्तो हुनु, खानामा अरुरी बढ्नु, शरीरमा स साना राता बिबिरा देखिनु, कसै कसैलाई पखाला लाग्नु डेंगीका प्रारम्भिक लक्षणहरु हुन्।

यस्तो अवस्थामा जथाभाबी एन्टीबायोटिक तथा सिटामोल बाहेक दुखाई कम गर्ने अरु औषधिहरुको प्रयोग गर्नु हुदैन।

जीवनजल वा झोलिलो खानेकुरा प्रशस्त खानु पर्दछ।

८-१० दिनपछि भने अधिकांश बिरामीका स्वास्थमा सुधार देखिने गर्दछ।तर ‘डेंगी वार्निङ साइन’का संकेतहरु देखिए भने बेवास्ता नगरौँ र गर्नु हुँदैन ।

#डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल एण्ड रिसर्च युनिट संयोजक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *