जाकार्तामा रहेका स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेटवार्ता:

चिकित्सा शिक्षा अध्ययनका लागि माल्दिभियन विद्यार्थीको रोजाई नेपाल, माल्दिभ्सका स्वास्थ्य मन्त्रीले गरे कोटा छुट्याईदिन आग्रह

जाकार्ता, १० असोज । इन्डोनेसियाको राजधानी जाकार्तामा रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका समकक्षी अब्दुल्लाह खलीलबीच बुधबार भेटबार्ता भएको छ ।

एशिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठक तथा पाँचौं मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा त्यहाँ पुगेका मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री खलीलबीच भेटवार्ता भएको हो ।

सो क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

सो क्रममा माल्दिभ्सका मन्त्री खलीलले आफ्ना अण्डरग्राजुएट्स डाक्टरहरुलाई सहज रुपमा नेपालमा पोष्टग्राजुएट्स गर्ने बातावरण मिलाउन स्वास्थ्य मन्त्रीसंग आग्रह गरेका थिए ।

‘नेपाल चिकित्सा शिक्षा अध्ययनका लागि माल्दिभियन विद्यार्थीहरुको पहिलो रोजाईको देश बनेको छ, थुप्रै हाम्रा विद्यार्थीहरुले त्यहाँ अध्ययन् गरेका छन्, अब पीजी तहका लागि सहज रुपमा बातावरण मिलोस् । त्यसका लागि माल्दिभ्स सरकार आवश्यक सहकार्यका लागि तयार छ,’ स्वास्थ्य मन्त्री पौडेलसंग खलील भने । उनले माल्दिभियनहरुको स्वास्थ्य उपचारमा नेपाली चिकित्सकले पुरयाएको योगदानको समेत प्रशंसा गरे ।

सो क्रममा मन्त्री पौडेलले नेपालका चिकित्सकहरुले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताएका थिए । उनले विदेशी विद्यार्थीको भित्र्याउने विषयमा सरकार सकारात्मक रहेको भन्दै थप केही तयारी र प्रक्रिया पछि यो विषय अघि बढाउने प्रतिबद्धता जनाएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘चिकित्सा शिक्षा अध्ययनका लागि माल्दिभियनको पहिलो रोजाई नेपाल नै रहेछ, अहिलेपनि त्यहाँका केही विद्यार्थीहरु यहाँ पढी नै रहेका छन्, तर त्यहाँका मन्त्रीले आफ्ना विद्यार्थीहरुलाई थप सहज ढंगले सरकारी तवरबाट नै थप कोटा छुट्याएर भए पनि आफ्ना अझ धेरै विद्यार्थीलाई नेपाल पढाउन सके हुन्थ्यो भन्ने चाहना रहेछ । उनीहरुले आफ्नो छात्रबृत्ति कोटा अन्तर्गत नेपालमा विद्यार्थी पढाउने र त्यसबापतको सोधभर्ना गर्ने योजना समेत रहेछ,’ डा बुढाथोकीले भने, ‘मन्त्री ज्यूले यसलाई आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो ।’

यसैबीच मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि एशिया प्यासिफिक क्षेत्रका समकक्षीहरुसंग उच्चस्तरीय वार्ता थालेका हुन् । सोही क्रममा माल्दिभ्सका समकक्षीसंग भेटवार्ता भएको हो ।

एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा मन्त्री पौडेलले बिहिबार सम्बोधन गर्ने तालिका छ ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमका लागि मंगलबार राती त्यसतर्फ प्रस्थान गरेका थिए । मन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सा शिक्षा अध्ययनका लागि माल्दिभियन विद्यार्थीको रोजाई नेपाल, माल्दिभ्सका स्वास्थ्य मन्त्रीले गरे कोटा छुट्याईदिन आग्रह

  1. Dear health minister…It’s globally demanded Human resources.
    Now your action is needed to implement yr though process n increase seats in medical education for domestic n foreign students. It’s time to act.
    Pls note….we can do miracle in health education but decision makers are sleeping…..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *