अब संघीय अस्पतालहरुले दुई ‘सिफ्ट’मा ओपिडी सञ्चालन गर्नै पर्ने

काठमाडौँ, ८ असोज । दुई सिफ्ट ओपिडी सञ्चालन संघीय अस्पतालका लागि नयाँ कुरा होइन । धेरै जसो संघीय अस्पतालहरुले यसलाई कार्यान्वयनमा समेत ल्याएका छन् ।

तर, दुई सिफ्ट ओपिडी कार्यान्वयनमा नल्याएका अस्पतालहरुले अब भने कार्यान्वयनमा ल्याउनै पर्ने भएको छ ।

सोमबार मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयको सचिवहरु सम्मिलित बैठकले गरेको २४ बुँदे निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका संघीय अस्पतालमा दुई सिफ्ट ओपिडी सञ्चालन गर्ने विषय समेत उल्लेख छ ।

त्यसो त सरकारले यसअघि नै सार्वजनिक विदाको दिनमा समेत ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो । धेरै जसो संघीय अस्पतालहरुले त्यसको समेत कार्यान्वयन भइरहेको जनाएका छन् ।

सोमबारको बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको छ । यसैगरी वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धतालाई प्रत्येक मन्त्रालयले आ(आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने, सम्बन्धित मन्त्रालय वा निकायहरुबाट हालको सरकार गठन भएदेखि १०० दिनभित्र सम्पन्न गर्ने गरी प्रतिवद्धता जनाइएका कार्यक्रमहरूको कार्यान्वयनलाई शीघ्रता दिने निर्णय भएको छ।

यसैगरी अन्तरमन्त्रालय समन्वयमा प्रभावकारीता ल्याई समयमै कार्यसम्पादन गर्न एक मन्त्रालयरनिकायले अर्को मन्त्रालय र निकायमा माग गरेको राय परामर्श, सहमति र अन्य विवरण अनिवार्य रुपमा १५ दिनभित्र उपलब्ध गराउनेसहितका निर्णय भएका छन्।

यी निर्णयहरुको कार्यान्वयन भए नभएको बारेमा नियमित अनुगमन गर्ने गरी नयाँ संयन्त्र बनाइने मुख्य सचिवको सचिवालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *