पोखरा महानगरमा रोकिएन डेंगी संक्रमण, १ महिनामा ६ गुणाले वृद्धि

गण्डकी, ५ असोज । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ।

भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेङ्गी रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए।

‘पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ’ उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेङ्गी रोकथाम चुनौतीपूर्ण छ ।’

गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेङ्गीका कारण मृत्यु भएको उनले जानकारी दिए। पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *