युनिभर्सल मेडिकल कलेज टिचिङ हस्पिटलमा सुरु भयो एचपीभी पीसीआर परीक्षण सेवा

भैरहवा, ४ असोज । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ हस्पिटलमा बिहीबार देखि एचपीभी पीसीआर जाँच सेवा सुरु भएको छ ।

अस्पतालले गत महिना देखि सञ्चालनमा ल्याएको अत्याधुनिक मोलिक्युलर बायोलोजी ल्यावबाट एचपीभी पीसीआर जाँच सेवा सुरु भएको हो ।

एचपीभी पीसीआरबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस पत्ता लाग्दछ ।

यसअघि उक्त परीक्षणका लागि यस क्षेत्रका नागरिकलाई अन्यत्र जानु पर्ने बाध्यता थियो । युसीएमएसमा परीक्षण सुरु भएपछि यस क्षेत्रका नागरिकलाई सेवा लिन सहजता भएको छ । अस्पतालले एचपीभी पीसीआर परीक्षणका लागि चार हजार रुपैयाँ शुल्क तोकेको छ ।

हाम्रो जस्तो मुलुकमा महिलाहरुको मृत्युको प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि मानिन्छ । कतिपय अवस्थामा अज्ञानता, लापरबाही र कयौंले नजिक सुविधा नहुँदा समयमै चेकजाँच गर्दैनन् । जसले गर्दा पाठेघरको क्यान्सर भएर धेरै महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

‘यो पाठेघरको मुखको क्यान्सर हुनुभन्दा पहिला नै थाहा पाउने विधि हो । यसका लागि एचपीभी परीक्षण गरेर थाहा पाउन सकिन्छ । यसलाई स्क्रिनिङ टेस्ट पनि भनिन्छ । यस किसिमको जाँचले पाठेघरको क्यान्सरबारे पूर्व संकेत पाउन सकिन्छ । र, सम्भावित जोखिमबाट बच्न सकिन्छ,’ युसिएमएसकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा बेखालक्ष्मी मानन्धरले भनिन् ।

विशेषज्ञ चिकित्सकहरुका अनुसार प्याप्स स्मियर २० वर्षको उमेर पछि हरेक ३–३ वर्षको अन्तरालमा गरिन्छ । यो पाठेघरको मुखबाट सामान्य किसिमले पानी झिकी गरिने जाँच हो । यो प्याप्स स्मेयर जाँचमा केही शंका लागे वा भाइरसको संक्रमण देखिए एचपीभी पीसीआर जाँच गर्नुपर्छ ।

एचपीभी पीसीआर जाँच ३० वर्ष उमेर नाघेपछि गर्न भनिएको छ । यो जाँचमा भाइरस देखिए पाठेघरको मुखको क्यान्सर लाग्ने जोखिम उच्च रहन्छ र बेलैमा सावाधानी अपनाउन सकिन्छ । यो परीक्षण सजिलो छ । कुनै साइड इफेक्ट हुँदैन । सामान्य तरिकाले परीक्षण गर्न सकिन्छ ।

चिकित्सकहरुका अनुसार प्याप्स स्मियर र एचपीभी पीसीआर परीक्षण सँगसँगै गर्नुलाई ‘को–टेस्ट’ भनिन्छ । यसरी परीक्षण गर्दा हरेक ५–५ वर्षको अन्तरालमा गर्नुपर्छ । यी जाँचहरु ७० वर्षको उमेरसम्म गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन् ।

युसीएमएसकी प्राचार्य प्राडा लक्ष्मी पाठकले अब यी सम्पूर्ण परीक्षण दैनिकरुपमा यही अस्पतालमै हुने जानकारी दिइन् । ‘यसअघि एचपीभी जाँच यो क्षेत्रमै हुँदैनथ्यो, जसले गर्दा काठमाडौं लगायतका ठाउँमा स्याम्पल पठाई रिपोर्ट आउँदा नै १२–१५ दिन लाग्थ्यो’, उनले भनिन्, ‘अब यो समस्या हटेको छ । सम्पूर्ण जाँच युसिएमएसमै हुन्छ र ३–४ दिनमै रिपोर्ट उपलब्ध हुनेछ ।’

क्षयरोगको रोगको पीसीआर जाँच र आर्थराइटिस् (एन्केलाइजिङ्ग स्पोन्डाइलाइटिस) को एचएलए बी -२७ पीसीआर परीक्षण पनि यहाँ पहिलेदेखि नै भइरहेको अस्पतालले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *