‘बाथ मुुटुरोग सम्बन्धि नेशनल लेभलको गाइडलाइन बनाउने जमर्को गर्दैछौँ’

डा. पोमावती थापा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख हुन् । नेपाली हेल्थ डटकमले यसपटक डा थापासंग उनको शाखाले गर्ने कामहरुका विषयमा केन्द्रीत रहेर सम्छिप्त कुराकानी गरेको छ, प्रस्तुत छ कुराकानीको सार संक्षेप :

– डा. पोमावती थापा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भित्र नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा किन आवश्यक पर्‍यो ? यो शाखाले के के काम गर्दछ ?

विश्वको तथ्यांक जस्तै नेपालको तथ्यांकले पनि नसर्ने रोग दैनिक रुपमा बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा कुल मृत्युको लगभग ७१ प्रतिशत नसर्ने रोगको कारणले हुने गर्दछ । त्यसमा अझ दुर्घटनाको केश समेत जोडियो भने त लगभग ८० प्रतिशत पुग्ने विभिन्न तथ्यांकले देखाएको छ । यसको अर्थ नेपालमा नसर्ने रोगको अवस्था भयावह छ । त्यसैले नेपाल सरकारले स्वास्थ्य सेवा अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखा अन्तर्गत यो नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । यो शाखाले मुलत दुईवटा विषयमा काम गर्दै आएको छ । ती हुन् नसर्ने रोग र मानसिक स्वास्थ्य ।

नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयमा सरकारलाई वा भनौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यो रोगसंग लड्नका लागि आवश्यक नीति निर्माणका लागि मद्धत गर्दछ ।  अहिले तीन तहको सरकार भईसकेपछि कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म लैजानका लागि समन्वयकारीको भूमिका खेल्दछ । हामीलाई चाहिने विभिन्न निर्देशिका तथा म्यानुअलहरु, रणनीतिहरु वा ‘स्टाण्डर्ड ट्रिटमेन्ट प्रोटोकल’हरु बनाउने विषयमा पनि काम गर्छ ।

सरकारको नीति केही निश्चित नसर्ने रोगमा केन्द्रीत छ कि सबै खाले नसर्ने रोगमा ?

नसर्ने रोगहरुमध्ये हामीले काम गरेको मुलत चार वटामा हो । त्यसमा कार्डियोभास्कुलर (मुटु), मधुमेह, क्यान्सर, क्रोनिक रेस्पीरोटरी (सीओपीडी) मा । अनि मानसिक स्वास्थ्यमा त सबै जसो नै भई नै हाल्यो ।

अध्ययनले के देखायो भने धेरै नसर्ने रोगहरुमध्ये नेपालमा यी चारवटा रोगको भार अति धेरै छ । त्यसैले सरकारको प्राथमिकता पनि चारवटा रोगलाई न्युनिकरण गर्नेमा रहेको छ ।

नसर्ने रोग न्युनिकरणका लागि के कसरी काम भइरहेको छ ?

मैले माथि नै भनिसके नसर्ने रोगहरु मध्ये मुख्य त चारवटा रोगहरुमा केन्द्रीत छ । हामीलाई थाहा छ संविधान आउँदा आधारभूत स्वास्थ्य जनताको मौलिक अधिकार भनेर व्याख्या गरेको छ । अनि आधारभूत स्वास्थ्य सेवा भित्र नसर्ने रोगलाई राखिएको छ । यसको मतलव के भने संविधानले नै नसर्ने रोगलाई विशेष महत्व दिएको छ । नसर्ने रोग सम्वन्धी सेवा पाउनका लागि आम नागरिकको मौलिक हक नै रहेको छ । मानसिक पनि त्यहि नै हो । त्यसैले अहिले नसर्ने रोग रोकथामका लागि बहुक्षेत्रीय कार्ययोजना तयार भइसकेको अवस्था छ । त्यसमा नसर्ने रोगको पहुक्षेत्रीय पक्षबाट कसरी नसर्ने रोगको सम्वोधन गर्ने भन्ने कुरा पनि आयो । त्यसको सिलसिलामा विभिन्न क्रियाकलापहरु भइरहेको छ ।

के के कामहरु भइरहेका छन ?

नसर्ने रोगविरुद्धको विभिन्न काममध्ये एउटा प्रमुख काममा नसर्ने रोगको जोखिम नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले ल्याएको प्याकेज अफ इसेन्सियल नन् कम्युनिकेवल डीजीज (पेन प्याकेज) कार्यक्रम हो । जो अहिले देशको ७७ वटै जिल्लामा सञ्चालन भएको छ । यो पेन प्याकेजमा पनि मुख्य रुपमा अघि उल्लेखित चारवटा नसर्ने रोगको बारेमा कुरा गरेको छ । पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने भन्ने हो । कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरी नसक्ने अवस्था हुँदा प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ । त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुको सिफारिसमा स्वास्थ्य चौकीबाट उपलव्ध हुन्छ । अर्थात प्राथमिक तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले नसर्ने रोग पत्ता लगाउन सहयोग गर्नु हो ।

यसबाहेक नेपालमा नसर्ने रोगविरुद्ध लड्नका लागि हालसालै मात्रै पेन प्लस कार्यक्रम पनि सुरु भएको छ । पेन प्याकेजले प्रारम्भिक पहिचान, रोकथामको काम गर्दछ भने पेन प्लसले चाहि जटिल अवस्था र दीर्घ रोगका केशहरु व्यवस्थापन गर्न सहयोग गर्दछ । त्यो पनि बालबालिका र किशोर किशोरीको उमेर समूहमा । किनभने पेन प्याकेज सबैका लागि भयो तर पेनप्लस तोकिएका अर्थात लक्षित उमेर समूहका व्यक्तिका लागि मात्रै हो । अर्थात बालबालिका र किशोर किशोरीका लागि मात्रै । यो कार्यक्रम अहिले दमक नगर अस्पताल र बर्दिया जिल्ला अस्पतालमा मात्रै सञ्चालनमा छ ।

अर्को कुरा पेन प्लस कार्यक्रम सेकेण्डरी लेभलको अस्पतालमा सञ्चालित छ । त्यहाँ आउने केशहरुलाई व्यवस्थापन गर्न सकिएन भने टर्सरी सेन्टरमा रिफर समेत गर्न सकिन्छ ।

पेन प्लस कार्यक्रम बिस्तार गर्ने योजना छ कि ?

अब हामी चारवटा अन्य जिल्लामा पनि जाँदैछौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको सहयोगमा यो कार्यक्रम आएको हो । बारा, दैलेख, गुल्मी र बझाङमा चालु आर्थिक वर्ष भित्रै पेन प्लस कार्यक्रम सुरु हुनेछ । यसले मुलत किशोर किशोरी र बालबालिकामा हुने रोगहरु जस्तै बाथ मुटुरोग, बालबालिकाको क्यान्सर, हेमोग्लोविन सम्वन्धी रोगहरु सिकलसेल एनिमिया र थालेसिमिया रोगहरुमा विशेष काम गर्ने गरेको छ ।

अहिले रगतजन्य रोगहरु गण्डकी कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढी देखिएको छ । हुन त धेरै अनुसन्धान भएको छैन तर केही अनुसन्धानले थारु समुदायको बढी बसोबास भएको क्षेत्रमा सिकल सेल एनिमिया र थालेसिमिया रोग बढी देखिएको पाइएको छ । गतवर्षको बजेटमा समेत यो विषय उठेकोले यसवर्ष पनि हामीले सो कार्यक्रम राखेका छौँ । यसका लागि हामीले नेशनल प्रोटोकल बनायौँ । ओरिन्टेशन भइरहेको छ । यो चारवटा प्रदेशमा यसपटक विशेष रुपमा बजेट विनियोजन गरेका छौँ ।

बढी देखिएको समस्यामा क्यान्सर पनि पर्दछ, यसमा कसरी काम भइरहेको छ ?
यो वाहेक अब क्यान्सरको कुरा गर्ने हो भने, नेपालमा भर्खरै मात्रै राष्ट्यि क्यान्सर रणनीति निर्माण भएको अवस्था छ । माननीय मन्त्रीबाट यो पनि स्वीकृत भईसकेको अवस्था छ । तर यसमा एकदमै धेरै लगानी गर्नु पर्ने देखिएको छ । नसर्ने रोगको कुल मृत्युको १८ प्रतिशत क्यान्सरबाट हुने गरेको छ । नेपालमा पनि अहिले यसको धेरै नै संक्रमण बढेकोले यसलाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ ।

एउटा ओझेल परेको विषय बाथ मुटुरोग हो जस्तो लाग्छ, यसमा कसरी काम भइरहेको छ ?

बाथ मुटु रोग बालबालिका र किशोर किशोरीहरुको नम्बर वान कार्डियोभास्कुलर मोर्विडिटीमा पर्दछ । नेपालको अनुमानित तथ्यांकले लगभग १० लाख मानिसहरु बाथमुटुरोगबाट कुनै न कुनै रुपमा पीडित हुनु भएको उल्लेख छ । यस्तै करीव ३ हजार जनाको बाथमुटुरोगको कारणले मृत्यु हुने गरेको बताइन्छ ।

आधारभूत स्वास्थ्य भित्र फारेन्जाइटिस भन्ने रोगको बारेमा उल्लेख छ । त्यसलाई म्यानेज गर्न भनिएको छ । यसको औषधिहरु निशुल्क नै छ । यसले बाथमुटुरोगका लागि हुने सम्भावित जोखिमलाई केही हदसम्म कम गर्न सफल भएको मानिएको छ । सिधा नभए पनि प्राथमिक तहको रोकथाममा काम गर्न सफल भएको देखिन्छ ।

प्रत्येक मान्छे जसलाई घाटी दुख्ने समस्या हुन्छ त्यसको तीन प्रतिशत बालबालिकालाई एक्युट रुमाटिक फिवर हुने रहेछ । त्यसलाई रोक्ने काम पनि आधारभूत स्वास्थ्यबाट हुने भयो । औषधि पनि निशुल्क वितरित छ । त्यसबाहेक नेपाल सरकारले नेपाल हृदयरोग निवारण प्रतिष्ठान लगायका अन्य संस्थासंगको सहकार्यमा सन् २०१६ देखि शहीद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बाथ मुटु रोग र भल्भको निशुल्क सर्जरी गर्ने काम पनि गर्दै आएको छ । पेनिसिलिनको पनि निशुल्क उपलव्धता गराएको छ ।

यसलाई प्राथमिकता दिएर नीतिगत रुपमा पनि केही काम भइरहेको छ कि ?
हजुर, यसै आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रममा नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्वन्धी कार्यक्रम अन्तर्गत रही बाथ मुटुरोग सम्वन्धी ‘नेशनल लेभलको गाइडलाइन’ बनाउने जमर्को गर्दैछौँ । तेस्रो त्रैमासिकमा यो सम्पन्न गर्न समयसिमा तोकिएको छ । यसका लागि बजेट विनियोजन भएको छ । यसले के गर्छ भने नेपाल भरी बाथमुटुरोगको उपचारमा, त्यसको प्रेशण प्रणालीमा वा भनौँ कस्तो रोगीलाई कस्तो औषधि चाहिन्छ भन्ने बारेका सबै कुराहरुमा युनिर्फमिटी ल्याउने छ । म यसमा आशावादी छु । त्यसबाहेक स्वरथ्रोटको लागि आवश्यक औषधि त स्थानीय पालिका र त्यहाँ हुने स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट उपलव्ध गराउने काम भइ नै रहन्छ ।

बालबालिकाहरुलाई सताउने बाथ मुटुरोगको विषयमा अनुसन्धानका कार्यक्रम पनि त अघि बढाउनु पर्ला नि ?
जरुर, तर नेपालमा यसबारेमा राम्ररी अनुसन्धान भएको छैन । अन्तराष्ट्रिय तहमा पनि यसको अनुसन्धान धेरै भएको रहेनछ ।
नेपालमा अहिले पनि हामीले कम्प्रीहेन्सिभ रुपमा बाथ मुटुरोगको कार्यक्रम सञ्चालन गर्न सकेका छैनौँ ।
हाइपोटेन्सनमा बढी फोकस भएको हो कि जस्तो लाग्छ । यसलाई पनि हामीले फोकसमा पार्न जरुरी छ । प्रोटोकल र गाइडलाइन बनाउने काममा बिरामीहरुका लागि अनवरत रुपमा बेन्जाथिन पेनिसिलिन र बालबालिकामा घाटी दुख्ने समस्या (स्वर थ्रोट) भएकाहरुका लागि अझ सहज ढंगले औषधिको उपलव्धता हुनुपर्ने देखिन्छ ।
अर्को कुरा बाथमुटुरोग लागेका व्यक्ति कति छन् भनेर जवसम्म तथ्यांक आउँदैन लगानी गर्न पनि समस्या हुँदो रहेछ त्यसैले यसको पनि सर्भिलेन्स गरौं न भनिएको छ । हुन त समस्या पनि होला । प्राइमरी हेल्थ केयरमा काम गर्ने जो स्वास्थ्यकर्मीहरुले काम गर्नुहुन्छ उहाँहरुलाई बाथमुटुरोगको बारेमा हामीले पनि बुझाउन सकिरहेका छैनौँ । टर्सरी अस्पतालमा गएपछि बल्ल उसको रोग पत्ता लाग्छ । त्यसैले अब एउटा सर्भिलेन्स सिस्टम खडा गर्नु पर्छ जस अन्तर्गत आधारभूत स्वास्थ्य संस्थाबाट नै त्यो बिरामीको पहिचान गरेर उपयुक्त ठाउँमा रिफर गर्न सकियो भने धेरै बालबालिकाको ज्यान जोगाउन सकिन्थ्यो ।

बाथ मुटुरोगको सन्दर्भमा अहिले नै गर्नु पर्ने र सकिने कुराहरु के के छ जस्तो लाग्छ ?
अहिले नै गर्नु पर्ने र गर्न सकिने एउटा मुख्य काम यसबारेको जनचेतना जगाउनु हो । यसबारेमा धेरैलाई अझ पनि थाहा छैन । समुदायसम्म पुग्ने गरी यो रोग यसकारणले लाग्छ, यस्तो लक्षण देखिएमा बाथ मुटुरोग हो भनेर जनचेतना विस्तार गर्न सकियो भने पनि ठूलो काम हुन्थ्यो । समुदाय त के कतिपय हाम्रै स्वास्थ्यकर्मीलाई समेत यसबारेमा थाहा छैन । कतिपय ले यो रोगको पहिचान आधारभूत स्वास्थ्य केन्द्रबाटै होस भन्ने पनि सुनेको छु । तालीम दिईयो भने लक्षणको आधारमा यसो हुन सक्छ भनेर भन्न सक्लान तर एकीन नै गर्न चाहि अलि मिल्दैन जस्तो लाग्छ । किनभने रोग पहिचानका लागि ईको कार्डियोग्राफी चाहियो र यो चलाउन चिकित्सक नै चाहिन्छ । मेसिन महंगो र सञ्चालन गर्न दक्ष जनशक्तिको कुराले पनि त्यहाँ सम्म लैजान अहिलेको अवस्थामा अलि सकिदैन कि जस्तो लाग्छ ।

जे होस बाथ मुटुरोगको बारेमा यो आर्थिक वर्षमा केही कार्यक्रम राख्न सफल भयौँ अब अर्को आर्थिक वर्षमा माग अनुसार अरु थप कार्यक्रमहरु लैजान सकिन्छ कि जस्तो लाग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *