प्रचण्डले स्वास्थ्य मन्त्रालय सम्हाल्दा डडेल्धुरा अस्पतालको अध्यक्ष बनेका सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र ‘नक्कली’

काठमाडौँ, ३१ भदौ ।  प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु अघिको खाली समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै सम्हालेका थिए ।

त्यसैबेला प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रीस्तरीयय निर्णय गर्दै डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए ।

सिंहले २६ बैशाखका दिन २३ बैशाख देखि लागू हुने गरी १७ बैशाखमा स्वास्थ्य मन्त्रीस्तरीयण निर्णयबाट अध्यक्ष पदमा नियुक्त भएको पत्र पाएका थिए ।

तर, पत्र पाएको एक साता नपुग्दै तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनको नियुक्त बदर गर्दै अर्का व्यक्ति करुणाकर ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे ।

गठबन्धन सरकारको प्रधानमन्त्रीले गरेको नियुक्तलाई एक सातामै बदर गरेर स्वास्थ्य मन्त्रीले आफू निकटलाई अध्यक्ष बनाए भन्ने त्यसबेला खबर समेत सार्वजनिक भएको थियो । हुन पनि त्यसबेलाका प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका सिंह माओवादी केन्द्र र पछि नियुक्त भएका ओझा नेपाली कांग्रेस निकट थिए ।

चर्चा चुलिदै गएपछि त्यसबेला बस्नेतको सचिवालयले सिंहलाई हटाउनुको एउटा कारण ‘उनको शैक्षिक योग्यतामाथि प्रश्न उठेकोले हो’ भनेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनै सिंहमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ती खाई अख्तियारको दुरुपयोग गरेको भन्दै विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका तत्कालीन अध्यक्ष सिंहको शैक्षिक प्रमाणपत्रबारे परेको उजुरीको आधारमा छानविन गर्दा प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको बताए ।

उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सिंहले त्यसबेला नियुक्ती, ओहोदाका, लाभ र सुविधा प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिमाना सजाय हुने माग दावी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको बताए ।

त्यसो त सिंह सात दिन मात्रै अध्यक्ष भएका होइनन् । त्यस अघि पनि एक कार्यकाल डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष भईसकेका थिए ।

डडेल्धुरा पटक पटक प्रधानमन्त्री भईसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *