यसवर्ष जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको आग्रह
काठमाडौँ, २६ भदौ । यसवर्षको मनसुन सुरु भएयता जापानिज इन्सेफलाइटिस (जेई)बाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । परिवार कल्याण महाशाखाले भदौको अन्तिम सातासम्मको तथ्यांक प्रस्तुत गर्दै जेईको संक्रमणमा पर्नेको संख्या ५३ पुगेको जनाएको छ ।
गतवर्ष यसको संक्रमणबाट छ जनाको मात्रै मृत्यु भएको थियो । तर गतवर्षको तुलनामा यसवर्ष मृत्यु संख्या बढेको हो ।
महाशाखाले यसपटक जेईको संक्रमणबाट कैलालीमा तीन, सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एक-एक जना गरी कुल नौ जनाको मृत्यु भएको जनाएको छ । जेई संक्रमितको संख्या गतवर्ष भने १०७ जनामा देखिएको थियो ।
गत वर्षको तुलनामा यो वर्ष जेई संक्रमित कम भएको तथ्यांकले औंल्याए पनि मृत्यु संख्या भने यो वर्ष बढेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।
मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू हुन्। संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन्।
प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ। धेरै जनाको मृत्यु भएपछि महाशाखाले बैठक राखेर खोप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफलचलाइरहेको जनाइएको छ।
यसको संक्रमण कसरी हुन्छ ?
जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोकेर मानिसमा सर्ने संक्रामक रोग हो । क्युलेक्स जातको पोथी लामखुट्टेले यो रोग सार्छ।
यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ । यस्तै धानखेती हुने तरामीमा यस्तो केश बढी देखिने गरेको छ ।
संक्रमित लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीलाई टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सरेको छैन ।
जापानीज इन्सेफलाइटिसको संक्रमणमा पर्दा लक्षण के के हुन्छ ?
। यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस बिरामी बेहोससमेत हुन्छन। बेहोस भएकामध्ये कतिपय बिरामीको मृत्युसमेत हुन सक्छ। लक्षणअनुसार यसको उपचार गरिन्छ। उपचारपछि निको भए पनि पक्षाघात भई अपांगताको समस्या रहिरहन्छ।
यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ । तर यो रोगविरुद्धको खोप लिए यो रोगको जोखिम हुँदैन। नेपालले जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरूमा संक्रमणमा पर्दा मृत्यु भएको गौतमले बताए।
सरकारले पहिला नै यो रोगविरुद्ध अभियान चलाइसकेको भएकाले बुस्टर डोज खोप दिन नसक्ने तर छुटेका बालबालिकाका हकमा नजिकको खोप केन्द्रबाट खोप लिन सक्ने व्यवस्था भएकाले एक वर्षभित्रका बालबालिकालाई नजिकको खोप केन्द्रमा गई खोप लिन उनले सुझाए। अन्य उमेर समूहको हकमा भने निजी क्लिनिकबाट किनेर यो रोगविरुद्धको खोप लिन सक्नेछन्।
अहिले पनि गर्मी मौसम कायम रहेकाले थप एक महिना जापानिज इन्सेफलाटिस संक्रमणको जोखिम रहेको डा गौतमको भनाई छ । उनले लामखुट्टेको टोकाइबाट बच्नु यो रोगबाट जोगिने सबैभन्दा सरल उपाय भएको बताए । त्यसका लागि झुलको प्रयोग गर्ने, पूरा शरीर छोप्ने लुगा लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ। उनले भने ।
त्यसो त लामखुट्टेको टोकाईबाट जोगिदा डेंगी रोगको संक्रमणबाट समेत जोगिन सकिन्छ । नेपालमा अहिले डेंगी संक्रमणले समेत त्राहिमाम बनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यो वर्ष डेंगी संक्रमणबाट पाँच जनाको मृत्यु भएको र ७ हजार ६४० जना संक्रमणमा परेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]