सार्वजनिक विदाको दिन ओपिडी सञ्चालन गर्न मातहतका अस्पताललाई स्वास्थ्यको निर्देशन
काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक विदाको दिन बहिरंग सेवा (ओपिडी) लगायतका सेवाहरु अरु दिनमा जस्तो सञ्चालन नहुनेगरेको गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखि ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्री कार्यालयको पत्र पछि स्वास्थ्यले मातहतका अस्पतालहरुलाई सार्वजनिक विदाको दिनमा पनि ओपिडी लगायतका सेवाहरु निर्वाध सञ्चालन गर्न भनेको छ ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।
‘‘ सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा ९बहिरंग सेवा समेत० प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।
त्यसो त प्रधानमन्त्री कार्यालयले स्वास्थ्यलाई पठाएको पत्रमा उसले २०८१ सालमा दिईने सार्वजनिक विदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्वन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसंग लेखिएको उल्लेख छ ।
हुन पनि राजपत्रमा उल्लेखित सार्वजनिक विदा सम्वन्धी व्यवस्थालाई गृह मन्त्रालयले गत २९ माघमा सूचना प्रकाशित गरिसकेको थियो । सो सूचनाको प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्वन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक विदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्वन्धी सेवा (बहिरंग समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएको उल्लेख छ ।
राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर अस्पतालहरुले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सट्टा विदा दिनु पर्ने उलेख छ ।
सम्पर्क इमेल : [email protected]