कानुन कुल्चेर फेरी पनि कार्यक्रमको प्रायोजन गर्दै चुरोट कम्पनी सूर्य नेपाल, स्थानीय प्रशासनले के गर्ला ?
चुरोट कम्पनीको व्यानर मुनि बस्न सार्वजनिक छवि बनाएका व्यक्तिहरुको होडबाजी
काठमाडौँ, १४ भदौ । कानून त सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले कुनै पनि कार्यक्रम प्रायोजन गर्न पाउँदैन । उसको ब्राण्ड, लोगो प्रस्तुत गर्नै पाइदैन । तर, नेपालको प्रमुख सुर्ती उत्पादक कम्पनी सूर्य नेपालले निर्वाध रुपमा कानूनको धज्जी उडाउँदै कार्यक्रमको प्रायोजन गरेको छ ।
व्यापक बिरोध र आलोचनाकाबीच प्रमुख प्रायोजक बन्दै पोखरामा नेपाल लिटरेचर फेस्टिवल सम्पन्न गरेको सूर्य नेपालले सात महिना पछि काठमाडौँमा यस्तै प्रकारको कार्यक्रमको मुख्य प्रायोजन गरेको छ ।
भारतको यसस्वी प्रज्ञा प्रतिष्ठान, नेपालको हिमालयन डायरी प्रालि र कालिङ्गा लिटरी फेस्टिवलको सहकार्यमा हुने भनिएको कार्यक्रममा सूर्य नेपालले टाइटल स्पोन्सर गरेको देखिन्छ । आगामी ७ र ८ सेम्टेम्बरमा हुने फेस्टिवलको नाम नै सूर्य नेपाल काठमाडौँ कलिङ्गा लिटरी फेस्टिवल राखिएको छ ।
बार्षिक रुपमा हुने कलिङ्गा लिटरी फेस्टिवल नेपालमा हुन थालेको तीन वर्ष भयो । सन् २०२२ मा सूर्य नेपालको प्रायोजन देखिने गरी थिएन । तर २०२३ र २०२४ को संस्करणमा टाइटल नै आफ्नो बनाएर प्रचारमा रमाएको देखिएको छ ।
अघिल्ला कार्यक्रममा जस्तै यसपटक पनि यो कार्यक्रममा विभिन्न ओहोदाका व्यक्तिहरु सहभागी हुँदैछन् ।
सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्य नेपालले यसरी कार्यक्रमको प्रायोजन गर्न नपाउने बताउछन् । ‘कुनै पनि कार्यक्रमको प्रायोजन गर्न पाईदैन भनेर कानूनले स्पष्ट रुपमा निषेध गरेको छ । तर सूर्यले निर्वाध रुपमा गत वर्ष पनि गरयो र यो वर्ष पनि दोहोरयाउँदै छ । यो त उसको दादागिरी नै भयो । राज्यमा बसेका नियामक निकायले यसमा एक्सन लिनु पर्छ । र यो कार्यक्रममा सहभागि हुन लागेका धेरैजसो सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनका जानकारहरु पनि रहेको देखिएको छ, उहाँहरुको सहभागिता प्रति हाम्रो खेद छ,’ उनले भने ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालको राष्ट्रिय संयोजक एवं अभियन्ता शान्तलाल मुल्मी सुर्ती उद्योगको लोगो राखेर कार्यक्रम गर्नु कानून विपरित कार्य भएको बताउँछन् । ‘कानूनमा स्पष्ट उल्लेख छ, सुर्ती उद्योगले यसरी आफ्नो विज्ञापन तथा प्रायोजन गर्न पाइदैन । सूर्य नेपालको लोगो यसरी राखेर कार्यक्रम गर्न मिल्दैन । यो विल्कुलै कानून विपरित हो । यसमा तत्काल स्थानीय प्रशासन, गृह मन्त्रालयले एक्सन लिनु पर्छ । हामी नागरिक समाजले पनि यसका लागि दवाव बढाउँछौँ,’ उनले भने । मुल्मीले सुर्ती नियन्त्रण सम्वन्धी अन्तराष्ट्रिय सन्धीमा सम्झौँता गरेको नेपालले आँखै अगाडी यस्ता कार्यक्रम गर्न दिनु लाजमर्दो भएको समेत प्रतिक्रिया दिए ।
के छ कानूनी व्यवस्था ?
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० मा जनस्वास्थ्यका लागि हानिकारक पदार्थ उत्पादक कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख गरिएको छ।
आयोजकले यसपटकको कार्यक्रममा पनि सार्वजनिक महत्वका व्यक्तिहरुको सहभागिता हुने उल्लेख गरेको छ । कानूनले यस्ता सार्वजनिक छवि भएका व्यक्तिहरु पनि यसरी कार्यक्रममा सहभागी हुन मिल्दैन । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ सार्वजनिक निकायका पदाधिकारीहरुले सहभागी हुन नपाउने बारे स्पष्ट व्यवस्था राखिएको छ ।
जहाँ उल्लेख छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
तर यो कार्यक्रममा भारतका प्रसिद्ध अभियन्ता किष्ट कलेजका सस्थापक तथा पूर्व संसद डा अच्युत सामन्त, लैङ्गिक अधिकारकर्मी, संयुक्त राष्ट्र संघ समितिकी सदस्य बन्दना राणा, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, कवि मन्जुल, कलाकारहरु राजेश हमाल, दीपकराज गिरी, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, राजनितिक विश्लेषक शंकर तीवारी, लेखक बुद्धि सागर, फिल्म निर्देशक, मिन बहादुर भाम सहित नेपाल र भारतका दर्जनौ लेखक, कलाकार तथा अभियन्ता वक्ताका रुपमा सहभागी हुदैछन।
के कारणले ल्याइएको हो यस्तो कानून ?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट ३७ हजार ५०० बढीको ज्यान जाने गरेको छ । जो नेपालमा हुने कुल मृत्युको एक चौथाईँ हो । सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।
त्यस्तै एक्सन नेपालले हालसालै गरेको सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउने बिरामीको आर्थिक भार सम्बन्धी अध्ययनले १६ प्रतिशत बिरामीले उपचारका लागि आफ्नो घरखेत बेच्ने गरेको देखाएको छ ।
यी रोगहरुबाट बचाउन सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारण जनताको स्वास्थ्य र आर्थिक हितको अभिवृद्धि गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ ल्याएको हो ।
मुख्य उदेश्य अब यसको प्रर्वद्धन नगरियोस, यसको प्रयोगलाई बढावा नदिईयोस् भन्ने नै हो । सार्वजनिक मञ्चमा लोगो प्रयोग हुँदा, सार्वजनिक व्यक्तित्वहरुले सहभागिता जनाउँदा यसको झन् प्रचार हुन्छ भनेर यस्तो कानून ल्याइएको हो ।
सम्पर्क इमेल : [email protected]