सञ्चालनमा आएको १२ वर्षमा १३०० जनाको मिर्गौला प्रत्यारोपण
भक्तपुर, १३ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालनमा आएको १२ बर्षमा एक हजार ३०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । सो केन्द्रमा हालसम्म २८ जनाको कलेजो प्रत्यारोपण भएको बताइएको छ ।
केन्द्रले १ हजार ३०० जनाको मिर्गौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको खुशीयालीमा बुधबार विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि समीक्षा समेत गरिएको थियो ।
कार्यक्रममा मुख्य सचिव लीला देवी गडतौला उपस्थित भएकी थिईन् । उनले केन्द्रले दिएको सेवाले देशभरका बिरामीहरु लाभान्वित भएको भन्दै उपचार सेवामा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई धन्यवाद दिईन् ।
उनले सीमित भौतिक पूर्वाधारका बीच केन्द्रले विश्वस्तरीय सेवा उपलब्ध गराएकोमा देशकै गौरवका विषय भएको कुरा बताईन ।
उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरुको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेका बताए । आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभए पनि केन्द्रले वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गरिसकेको जानकारी गराए ।
डा श्रेष्ठले उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको कुरा बताए । उनले तत्काल नेपाल सरकार सँग भक्तपुको सुर्यविनायक नगरपालिका स्थित नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गरे ।
गत आर्थिक वर्ष २०८०/८१ मा १९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको कुरा समेत केन्द्रले जनाएको छ ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्याारेपण केन्द्र भक्तपुरमा हुनु गर्वको कुरा भएको बताउँदै यस केन्द्रलाई जमिन उपलब्ध गराउन सक्दो सहयोग गर्ने कुरा बताईन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन बीर अस्पताका नर्सिङ्ग निर्देशक संगीता श्रेष्ठले केन्द्रका गतिविधिलाई नजिकबाट नियाली रहको र केन्द्रबाट भएको सेवा विश्वस्तरीय रहेको बताउँदै केन्द्रबाट उपलब्ध हुने सेवा समस्त स्वास्थ्य क्षेत्रको लागि उदाहरणीय भएको उल्लेख गरिन ।
सम्पर्क इमेल : [email protected]