सेवा प्रवाहको आधारमा स्वास्थ्य कार्यालय पाल्पाले गर्यो अन्तरपालिका मूल्याङ्कन, तानसेन नगरपालिका पहिलो
पाल्पा, ११ भदौ । गत आर्थिक वर्षमा पाल्पाका १० पालिकाहरुले उपलव्ध गराएको स्वास्थ्य सेवाको मूल्याङ्कनको आधारमा तानसेन नगरपालिका प्रथम भएको छ ।
गत सोमबार देखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा पालिकाहरुले उपलव्ध गराएको सेवा प्रवाहको सूचकको आधारमा मूल्यांकन गरिएको थियो ।
सो क्रममा आर्थिक वर्ष २०८०/८१ मा तानसेनले ७१.८४ अंक प्राप्त गरि पहिलो भएको छ । यस्तै ६९.५२ अंक ल्याएर निस्दी गाउँपालिका दोस्रो स्थानमा र ६९.११ अंकका साथ पूर्वखोला गाउँपालिका तेस्रो भएको छ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत पालिकाहरुले दिने सेवा प्रवाहका सूचकका आधारमा मूल्यांकन हुँदा पहिलो दोस्रो र तेस्रो स्थानीय तह घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताए ।
उनले सबै स्थानीय तहले राम्रो सेवा प्रदान गरेको भन्दै मापदण्ड अनुसार छनोट गर्दा तीन वटा स्थानीय तह उत्कृष्ठ घोषित गरिएको बताए ।
पाल्पा बार्षिक समीक्षा सम्पन्न गर्ने यसपटक लुम्बिनी प्रदेशकै पहिलो जिल्ला भएको छ ।
‘सबै स्थानीय तहले सुरुवातमै समीक्षा सम्पन्न गरेपछि जिल्लाले पनि आफ्नो काम समयमै सम्पन्न गर्न सफल भयो । स्थानीय तहलाई १५ भदौ र जिल्लालाई ३० भदौसम्मको डेडलाइन थियो, तर हामीले १० भदौमा नै सम्पन्न गर्यौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]