आँबुखैरेनी बस दुर्घटनाका १२ जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ, ७ भदौ ।  आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनीहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ ।

शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश पोखरेलले १२ जना घाइतेको उपचारका लागि तयारी अवस्थामा रहेको बताए । ‘नेपाली सेनाले हेलिकप्टरमा ल्याएको छ, हेलिकप्टर उत्रिई सक्यो, हाम्रो एम्बुलेन्स रिसिभ गर्न गइरहेको छ । हामी यहाँ तयारी अवस्थामा छौँ,’ डा. काफ्लेले भने ।

यसअघि नेपाली सेनाको मेडिकल टिमसहितको उद्धार टोली लिएर सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो । त्यहाँ घाइतेको गरी आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार अर्का एक घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । अन्यको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो ।

बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौंतर्फ ल्याइरहेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *