राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि बाटो खुल्यो

काठमाडौँ, २ भदौ । यस वर्ष दुई सरकारी प्रतिष्ठानमा चिकित्सा शिक्षा तर्फको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन हुने भएको छ । अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको हो ।

स्रोत सुनिश्चित भएको पत्र हालै अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाई शुरु गर्न सकिएको थिएन ।

मन्त्रालयले अर्थसँग समन्वय गरे पछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले ५ वर्ष अघि नै पूर्वाधार तयार गरेर बसेका थिए । तर मन्त्रालयगत बजेट नै नआउँदा कक्षा सञ्चालन कार्य अघि बढ्न सकेको थिएन ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन् । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ । यसले विपन्न, जेहेन्दार तथा आरक्षण प्राप्त विद्यार्थीले छात्रृत्तिमा एमबीबीएस अध्ययन गर्न बजेट सुनिश्चित गरेको छ ।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौं ।’

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।

यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *