स्वास्थ्य बीमा बोर्डले कार्यान्वयनमा ल्यायो सुविधा थैलीका परिमार्जित दररेट
काठमाडौँ, २ भदौ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दररेट शनिबार (हिजो) देखि कार्यान्वयनमा ल्याएको छ । निर्धारित समय भन्दा एक महिना ढिला गरी कार्यान्वयनमा ल्याइएको परिमार्जित दर रेट समयानुकुल बनाईएको बोर्डका अधिकारीहरुले बताएका छन् ।
परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगहरुको सर्जरीमा ७० हजार रुपैयाँ सम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिहरुको शुल्क तोकिएको छ ।
परिमार्जित सुविधा थैलीमा कतिपय सेवाहरु तोकिएको अवधीमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको छ । ‘केही सेवाहरु बीमितले जुन बेला मन लाग्यो त्यहि बेला गर्न पाइन्थ्यो । अब क्यापिङ नम्बर भएपछि तोकिएको समयमा मात्रै त्यो सेवा लिन पाइन्छ,’ बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले भने ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले परिमार्जित दररेट समय सापेक्ष भएको बताए । ‘केही दररेट घटेका पनि छन् केही दररेट सत प्रतिशत सम्म बढेको पनि छन् । औषधिको हकमा हामीले बजारको एमआरपी मूल्य अनुसार नै दररेट तोकेका छौँ । उपचार सेवामा केही बढेको छ,’ डा. बसौलाले भने ।
औषधि क्षेत्रका जानकारहरुले भने परिमार्जित दररेटमा उल्लेख भएका कतिपय औषधिको मूल्य चरम बृद्धि गरिएको बताएका छन् । ‘बीमामा आवद्ध हुँदा सुलभ रेट तोकिनु पर्ने हो तर एमआरपी भन्दा अत्यधिक महंगो रेट राखिएको छ । यसले राज्य र जनता ठगिने हुन्,’ एक औषधि व्यवसायीले भने ।
सम्पर्क इमेल : [email protected]