स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै स्थानीय स्वास्थ्यकर्मी संघ नेपालले अघि सार्यो तीन बुँदे ध्यानाकर्षण
काठमाडौँ, १३ बैशाख । पेशागत हक हित र अधिकारका लागि विभिन्न संघ संस्था आन्दोलनमा उत्रिएका बेला स्थानीय तह स्वास्थ्यकर्मी संघ नेपालले पनि तीन बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका केन्द्रीय कार्यसमिति संयोजक रणधीर यादवले आज एक विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तीमा संघले स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरुको भूमिकालाई स्पष्ट, मर्यादित र दीगो बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन को पक्षमा आफू रहेको स्पष्ट पारेको छ ।
यस्ता छन् संघले ध्यानाकर्षणमा अघि सारेका मागहरु
संघले एकीकृत स्वास्थ्य सेवा ऐन हुनुपर्छ भन्दै गर्दा अरु तीन बुँदे माग अघि सारेको छ ।
पहिलो नम्बर बुँदामा संघले चिकित्सक वर्ग लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षा, सेवा शर्त र स्पष्ट बृत्ति विकासको सुनिश्चितता हुने गरी कानूनी प्रत्याभूति सहितको सुधार गर्ने भनेको छ ।
यस्तै दोस्रो बुँदामा स्थानीय तहमा विभेदपूर्ण समायोजन भएका स्वास्थ्यकर्मीहरुको संरचनागत हैसियतलाई स्पष्ट पार्दै संघीय निजामती सेवा ऐन भित्र स्वास्थ्य सेवा उपसमूहको रुपमा समावेश गर्नुपर्ने भनेको छ ।
यसैगरी तेस्रो वुँदामा संघले स्वास्थ्य सेवा क्षेत्रका लागि विगतको सुविधा नघट्ने गरी थप स्पष्ट सेवा शर्त र बृत्तिविकास सहित संघीय निजामती सेवा ऐनको आधारमा एकीकृत र व्यवहारिक स्वास्थ्य सेवा नियमावलीको तर्जुमा र शीघ्र कार्यान्वयन गर्नुपर्ने भनेको छ ।
सम्पर्क इमेल : [email protected]