सुर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरण गर्न पूर्वखोला गाउँपालिकाद्धारा ११ बुँदे प्रतिवद्धता जारी

पाल्पा, ७ बैशाख । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पूर्वखोला गाउँपालिकाले एघार बुँदे प्रतिवद्धता जारी गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी आफ्नै ऐन बनाउने देशकै पहिलो पालिका पूर्वखोलाले शनिबार सञ्जीवनी हेल्थ मिडियाको समन्वयमा भएको बहुपक्षीय अन्तरक्रिया पछि ११ बुँदे प्रतिवद्धता जारी गरेको हो ।

‘सुर्तीजन्य पदार्थको कारणले लाग्ने कडा रोगको प्रकोप गाउँमा पनि भयावह रुपमा बढ्न थाल्यो । दैनिक जसो नै संघीय सरकारले दिने उपचार सहुलियत रकमका लागि निवेदन आउन थाले, हामीले सिफारिस गर्ने क्रम बढ्न थाल्यो, सिफारिसका लागि गरिने बैठक र त्यसपछि गरिने हस्ताक्षरले आफैमा पिडा दिन्थ्यो । कडा रोगबाट गाउँका भर्खरका युवा अनि प्रौडहरु प्रताडित हुँदै जाने, हामीले सिफारिस मात्रै गर्दै जाने हो भने त अवस्था भयावह नै हुने भयो । त्यसैले हामीले यसको न्युनिकरणका लागि आफ्नै कानून बनायौँ र यसलाई लागू गर्ने प्रयासमा अघि बढेका छौँ,’ एघार बुँदे हस्ताक्षर पछि कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले भने ।

उनले पूर्वखोलाले यसअघि स्वास्थ्यका धेरै वटा इन्डिकेटरमा तोकिएको लक्ष्य पुरा गरेको भन्दै अब सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयनमा पनि सफल भएरै छाड्ने घोषणा गरे ।

‘हामीले २०७६ सालमा जिरो होम डेलिभरी कार्यक्रम घोषणा गर्दा धेरैले सम्भव नहुने कुरा भनेका थिए । हामीले त्यसलाई दुई वर्ष भित्रै सफल कार्यान्वयन गरेर देखायौँ । अरु पनि यस्ता धेरै कार्यक्रम छन् हामीले सत प्रतिशत नतिजा निकालेका छौँ । अब यसमा पनि हामी अवस्य सफल हुनेछौँ । यसका लागि हामी आज बहुपक्षीय छलफलको आयोजना गरेका हौँ,’ उनले भने ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले नसर्ने रोग नियन्त्रणका लागि पूर्वखोला गाउँपालिकाले थालेको प्रयास ७५३ वटै पालिकाका लागि अनुकरणीय रहेको भन्दै कार्यान्वयनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

‘नागरिक स्वस्थ राख्न जनप्रतिनिधिले कानून बनाए, यसको कार्यान्वयनका लागि प्रशासनिक निकायले पहल गर्छ र यसमा सम्पुर्ण रुपले साथ दिने काम आम नागरिकको हो । सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नैपर्छ ‘ उनले भने ।

पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले पूर्वखोलालाई सुर्तीजन्य पदार्थको कुलतमा कोही नलागुन, लागेकाहरुले पनि निस्किउन भनेर कानून ल्याइएको भन्दै यसलाई सबैले पालना गर्नुपर्नेमा जोड दिईन् ।

 

पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले नयाँ पुस्तालाई धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतबाट जोगाउनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी ऐन जारी गरेको भन्दै यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैको साथ आवश्यक रहेको बताए । ‘आज छिमेकीको सन्तान धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फसे भने भोली आफ्नै सन्तान पनि सोही कुलतमा लाग्न सक्छ । त्यसैले यसको प्रयोगलाई नियन्त्रण तथा निसेध गर्न आवश्यक छ, यसलाई व्यवस्थित गर्न कानूनको आवश्यकता हुन्थ्यो । हामीले त्यहि बनाएका हौँ । अब यसलाई सवै मिलेर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

अन्तरक्रिया कार्यक्रममा पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, छिमेकी पालिकाका प्रमुख, अध्यक्ष, तथा प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय, प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, शिक्षक महासंघ, उद्वुद्ध कलेज संगै सबै मावि तथा आधारभूत तहका विद्यालयका प्रधानध्यापक, बैकिङ तथा वित्तिय संस्थाका प्रतिनिधि, व्यापारी, नागरिक अगुवा, हिला समूह, विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीय युवाहरुको सहभागिता थियो ।

 

उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त केसी, सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी काम गर्ने अग्रणी संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले प्रस्तुतिकरण सहितको प्रशिक्षण दिएका थिए ।

सो क्रममा बोल्दै डा केसीले पूर्वखोला आफ्नै ऐन बनाउने सम्वभवत देशकै पहिलो पालिका हो भन्दै बहुपक्षीय सहभागिताबाट कार्यान्वयनमा सहजता आउने बताए । सो क्रममा उनले संघीय सरकारले बनाएको कानून, कार्यान्वयनका अवस्थाका बारेमा प्रस्तुति तथा प्रशिक्षण दिएका थिए ।

अर्का विज्ञ आनन्दबहादुर चन्दले नागरिकलाई सुर्ती रोज्ने कि स्वास्थ्य रोज्ने भन्ने विषयमा प्रस्तुतिकरण दिदै गाउँपालिकाले देखाएको सक्रियताको प्रशंसा गरे । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाएर देशकै नमूना पालिका भईसकेको भन्दै यसलाई प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय समन्वयको खाँचो रहेको बताए । उनले पूर्वखोलाको कदमले अन्य पालिकालाई समेत सिकाई हुने बताए ।

सञ्जीवनी हेल्थ मिडियाका प्रमुख एवं नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने भन्दै कानून बनिसकेको अवस्थामा कार्यान्वयन गर्न सबैको साथ आवश्यक रहेको बताए । उनले कानून कार्यान्वयन अघि यसबारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

 

कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट निलकण्ठ भट्टराई, नेपाली कांग्रेसबाट विष्णुकुमारी आचार्य, नेकपा माओवादी केन्द्रबाट सहभागी भएका भीमबहादुर सारुले सुर्ती नियन्त्रण सम्वन्धी पालिकाले बनाएको कानून कार्यान्वयनमा सहयोग गर्ने बताए । यस्तै गाउँपालिका प्रवक्ता मेहरसिंह थापा, शिक्षक महासंघका अध्यक्ष रमेशचन्द्र न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधिले प्रतिवद्धता जनाएका थिए ।

त्यसअघि गाउँपालिकामा नसर्ने रोगको अवस्था, सुर्तीजन्य पदार्थको प्रयोग दर र यसबाट परेको असरबारेमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले प्रस्तुतिकरण दिएका थिए ।

उनले क्यान्सर, मुटुरोग, मिर्गौला, मधुमेह, स्वासप्रश्वास, दम जस्ता कडा रोगहरु सुर्तीजन्य पदार्थका कारण लाग्ने गरेको भन्दै यसलाई न्युनिकरण गर्नका लागि गाउँपालिकाले ऐन जारी गरेको बताए । उनले पालिकाको टीम कानून कार्यान्वयनसंगै स्वास्थ्य सचेतनामा संगसंगै अघि बढ्ने बताए । सो क्रममा उनले अन्तरक्रिया कार्यक्रमको उदेश्यबारेमा समेत प्रकाश पारेका थिए ।

कार्यक्रममा ऐन कार्यान्व्यनका लागि कसले कहिले के भूमिका खेल्न सकिन्छ भनेर समूहगत छलफल गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *