यी हुन् चैत महिनामा १२ संघीय अस्पतालले गरेका सेवा थप तथा बिस्तार

काठमाडौँ, ३ चैत । देशका १२ संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा बिस्तार गरेका छन् ।

चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

सेवा बिस्तार अन्तर्गत कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा सुरु गरेको छ ।

यस्तै  परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट बिस्तार गरेको छ ।

वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।

उता राष्ट्रिय ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी सुरु गरेको छ ।

तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु गरेको छ । भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफती सेवा आरम्भ गरेको छ ।

कोशी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आइभीएफ सुरु गरेको छ ।

डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना संकलन सुरु गरेको छ । वीरगञ्जको नारायणी अस्पतालले एनआइसीयुमा विद्युतीय चिकित्या प्रतिवेदन इउमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ सुरु गरेको छ ।

भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आइसीयुमा दुई शैय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शैय्या बिस्तार गरेको छ ।

चैत्रभित्रै एमसिएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु गर्न सकेका छैनन् ।

ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा बिस्तारका लागि संघीय अस्पतालमा सेवा थप तथा बिस्तार गर्न भनेका थिए । अस्पतालहरुले उनको निर्देशन अनुसार तालीका सार्वजनिक गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *