सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन:

तथ्य र प्रमाणमा आधारित स्वास्थ्य अनुसन्धान हुन जरुरी : शिक्षा मन्त्री भट्टराई


काठमाडौँ, २८ चैत ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तथ्य र प्रमाणमा आधारित स्वास्थ्य अनुसन्धान हुन जरुरी रहेको बताएकी छन् । उनले तथ्य र प्रमाणमा आधारित अनुसन्धानले सही नीति बनाउन मद्धत गर्ने र सही नीतिले नै दीगो विकास सम्भव हुने बताएकी हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजबाट द होटल सोल्टीमा सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलनको उद्घाटन गर्ने क्रममा तथ्य र प्रमाणमा आधारित अनुसन्धान बढाउनु पर्ने बताएकी हुन् ।

परिषद्ले तीन दशक अघि देखि नेपालको स्वास्थ्य नीतिका लागि सहयोग पुर्‍याउँदै आएको भन्दै हरेक वर्ष गरिने वैज्ञानिक सम्मेलनले नयाँ खोज र अनुसन्धानका लागि बाटो देखाउने बताईन् । उनले नेपालमा स्वास्थ्य अनुसन्धान नीतिगत रुपमा धेरै सहयोग गरेको भए पनि पर्याप्त अझै नभएको बताईन् ।

सम्वोधनका क्रममा मन्त्री भट्टराईले स्वास्थ्य र शिक्षा विकेन्द्रित हुँदा आम सर्वसाधारणको पहुँचसम्म पुगेको भन्दै अब स्वास्थ्यको विषयमा अव पनि तीन तहको सरकार र अन्तरमन्त्रालयबीच समन्वय गरेर अघि बढ्नु पर्ने बताईन् । उनले स्वास्थ्य ‘क्रस कटिङ इस्यु’ हो भन्दै सम्मेलनले आम नागरिकमा स्वास्थ्यको पहुँच प्रभावकारी ढंगले कसरी पुरयाउने भन्ने विषयमा पनि बाटो देखाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले स्वास्थ्य क्षेत्र विकासका लागि स्वास्थ्य अनुसन्धानका विषयलाई प्राथमिकता राख्नुपर्ने बताए । ‘अब एआईको जमाना हो । इन्नोभेसनको जमाना हो । अब हामी बेड थप्नेमा मात्रै केन्द्रीत हुने होईन् । नयाँ प्रविधिको माध्यमबाट प्रभावकारी र सहज स्वास्थ्य को व्यवस्था कसरी गर्न सकिन्छ भन्ने तर्फ लागौँ,’ उनले भने । उनले परिषद्को यस्ता सम्मेलनले भावी नीति कस्तो बनाउने भन्ने विषयमा पनि दिशा निर्देश गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले देशका लागि स्वास्थ्यका कस्तो जनशक्ति आवश्यक हो हामी तयार गरिदिन्छौँ भन्दै त त्यसको प्रभावकारी परिचालन भने स्वास्थ्य मन्त्रालयले गरिदिनु पर्ने धारणा राखे । उनले आयोग विद्यार्थीहरुको निर्वाह भत्ता र अदालतका मुद्धामा अल्झिनु परिरहेको भन्दै देशले लिने स्वास्थ्य नीतिलाई सहयोग हुने काम गर्न आवश्यक रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका सचिव डा विकास देवकोटाले हरेक वर्ष गरिने शिखर सम्मेलनबाट आउने निष्कर्षका आधारमा सरकारले काम अघि बढाउन सकेमा राम्रो हुने भन्दै यस पटक देखि त्यस कार्यका लागि कदम चाल्न तथा क्रियाशिल रहन आग्रह गरे ।

परिषद्का अध्यक्ष प्राडा अजित रायमाझीले स्वास्थ्य अनुसन्धानलाई प्रभावकारी बनाउने दिशामा आफूहरु लागि रहेको भन्दै समय सापेक्ष यसलाई परिवर्तन गर्दै लैजाने गरिएको समेत बताए । उनले ३४ वार्षिकउत्सवको अवसर पारेर आयोजित यो सम्मेलनले स्वास्थ्य, जलवायु परिवर्तन र जनसंख्याको विषयसंगै स्वास्थ्यका विभिन्न मुद्धालाई संगसंगै छलफलमा अघि बढाएको बताए ।

यस वर्षको सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ ।

सम्मेलनमा नेपालसहित भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू तथा १००० भन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति रहेको छ ।

यता परिषद्का सदस्य सचिव डा प्रमोद जोशीेले सम्मेलनबारे जानकारी दिदै स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्नु, र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु उद्देश्य रहेको बताए ।

यसपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत उनले बताए ।

साथै, स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ ।

यसपटक सम्मेलनका लागि ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनौट भएको छ ।

अघिल्ला वर्ष जस्तै परिषद्ले यसपटक पनि विभिन्न अवार्ड वितरण गर्ने भएको छ । कार्यक्रमको समापनका अवसरमा दिईने अवार्डको संख्या यसपटक १४ पुगेको छ । त्यसमध्ये स्वास्थ्य अनुसन्धान पत्रिकारिता अवार्ड नयाँ हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *