स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको एघारौँ शिखर सम्मेलन बिहीबारबाट सुरु हुँदै
काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन बिहीबार (भोली) देखि काठमाडौँमा सुरु हुँदैछ । सम्मेलनको मुख्य आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद् हो । सम्मेलनकै बीचमा परिषद्ले आफ्नो ३४ औँ स्थापना दिवस पनि मनाउँदै छ । आगामी ३० चैतसम्म चल्ने यो सम्मेलन यसपटक सोल्टी होटलमा हुँदैछ ।
सम्मेलनको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नेछिन् ।
यस वर्षको सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ ।
सम्मेलन तयारीबारे जानकारी दिन आज परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी सदस्य सचिव डा प्रमोद जोशीले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले सम्मेलनमा नेपालसहित भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू तथा १००० भन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति हुने बताए ।
डा. जोशीका अनुसार अनुसार स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्नु, र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेका छन् ।
यसपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत उनले बताए । साथै, स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ ।
सदस्य सचिव डा. जोशीले सम्मेलनबाट प्राप्त निष्कर्षहरूले दिगो र उत्थानशील स्वास्थ्य प्रणाली विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, सम्मेलनलाई सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सञ्चारकर्मी, सहभागीहरू र परिषद्काका सबै कर्मचारीहरूलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ ।
सम्मेलनलाई पारदर्शी बनाउन स्टेरिङ कमिटि, सेन्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड सेलेक्सन सब कमिटि गठन गरिएको भन्दै उनले सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोष्टर प्रस्तुतिकरण प्राप्त भएको बताए । उनले त्यसमध्ये ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनौट भएको जानकारी दिए ।
अघिल्ला वर्ष जस्तै परिषद्ले यसपटक पनि विभिन्न अवार्ड वितरण गर्ने भएको छ । कार्यक्रमको समापनका अवसरमा दिईने अवार्डको संख्या यसपटक १४ पुगेको छ । त्यसमध्ये स्वास्थ्य अनुसन्धान पत्रिकारिता अवार्ड नयाँ हो ।
सम्पर्क इमेल : [email protected]